रामपुरको माझी गाउँमा स्वीटर बनाउने सीप विकास तालिम सुरु

रामपुरको माझी गाउँमा स्वीटर बनाउने सीप विकास तालिम सुरु

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरको कोलोञ्जोरघाट माझी गाउँमा स्वीटर बनाउने (मेसिन होजियारी) सीप विकास तालिम सुरु भएको छ । रामेछाप नगरपालिकाको आर्थिक सहयोग तथा ग्रामिण विजनेश प्रमोशन प्रालिको प्राविधिक सहयोगमा स्वीटर बनाउने (मेसिन होजियारी) सीप विकास तालिम शुक्रबार बाट सुरु भएको हो ।

तालिमको शुक्रबार उद्घाटन गर्दै रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापामगरले माझी जातीको धेरै बसोबास रहेको रामपुरको कोलोञ्जोरघाटका माझीहरुको आयआर्जनमा सहयोग पुग्ने गरी स्वीटर बनाउने (मेसिन होजियारी) र माछा पालनको लागि आवश्यक पर्ने सीप विकास तालिम संचालन भइरहेकाले दुबै तालिममा सक्रिय सहभागी भएर आफ्नो सीप बढाउन आग्रह गर्नुभयो ।

उहाँले रामेछाप नगरपालिकामा रहेका सिमान्तकृत माझी जाति, लोपउन्मुख हायु जाति र पिछाडी पारिएका विभिन्न समुदायको लागि नगरपालिकाले सीप सिकाउने देखि व्यवसाय मार्फत आयआर्जनको लागि समेत सहयोग गर्दै आएकाले त्यसले पनि व्यवसाय गर्न इच्छा हुने नागरिकहरुलाई सहयोग पुग्ने बताउनुभयो ।

रामेछाप नगरपालिका वडा नं ५ रामपुरका वडाध्यक्ष भिम बहादुर तामाङले स्वीटर बनाउने (मेसिन होजियारी) तालिम सिकेर गाउँमै स्वीटर उत्पादन गर्न सके त्यस्ता सामग्री वडा कार्यालयले बजार सम्म लैजन सहयोग गर्ने बताउनुभयो । उक्त कार्यक्रममा रामेछाप नगरपालिकाको उद्योग शाखाका प्रमुख हरीभगत श्रेष्ठ,ग्रामिण विजनेश प्रमोशन प्रालिका कार्यक्रम संयोजक युवराज सुवेदी, उद्यम विकास सहजकर्ता मनिसा सुवेदी,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

रामेछाप नगरपालिकाले यस वर्ष गरिवी निवरणका लागि लघु उद्यम कार्यक्रम मार्फत वडा नं ७ को विर्तामा ४२ जना र वडा नं ५ कोलोञ्जोरघाटमा ३८ जना नयाँ उद्यमी उत्पादन गर्ने गरि दुई वडा छनौट गरेर काम गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार