प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभालाई भंग गरेपछि मुलतः नेपालको कम्युनिष्ट राजनीतिमा नयाँ तरंग आयो । प्रधानमन्त्रीले संविधान लत्याएर प्रतिनिधि सभा भंग गरेको भन्दै पाटीभित्रैबाट चर्को आलोचना भयो, भैरहेकै छ । यो विषयमा विभिन्न राजनीतिक दलहरुले आफ्नो–आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् । नेकपा भित्र र बाहिरका नेताहरुले पनि विभिन्न टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओली स्वयंमले पनि प्रतिनिधि सभा भंग गर्नुको कारणबारे प्रष्ट पारिसकेका छन् । मुख्यतः यहि विषयलाई सिनारियो बनाएर नेकपा विभाजित भएको छ । पार्टीभित्रैबाट एक पक्षले अर्को पक्षलाई कार्वाही गर्ने,नयाँ नेतृत्व तोक्ने,जिम्मेवारी दिने लगाएतका गतिविधि चलिरहेकै छन् ।
ईतिहाँसमै करिब दुई तिहाई बहुमतसहितको कम्युनिष्ट सरकार भनेर पगरी पाएको ओली नेतृत्वको सरकारलाई जनताले दिएको आशाको बहुमतको भारी बोक्न निक्कै गाह्रो भएको देखिन्छ । विभिन्न अवसरको सदुपयोग र चुनौतीहरुको सामना गर्दै कम्युनिष्ट ईतिहाँसमा सुनौलो अक्षरले आफ्नो गाथा लेखाउने अवसर रहँदा पनि कम्युनिष्ट सरकारले नालायक सरकारको संज्ञा पाउन थालेको छ । कम्युनिष्ट सरकार र कम्युनिष्ट राजनीतिको चर्तिकलाबारे जति नै बहस गरेपनि कम हुन जान्छ ।
प्रधानमन्त्री ओलीको यो निर्णयसंगै नेपालको राजनीति तातेको छ । दिनहुँजसो विरोध प्रर्दशन भईरहेका छन् । प्रधानमन्त्री ओलीको यो कदमको विरोधमा अनि समर्थनमा पनि । तपाईले पक्कै याद गर्नुभयो होला, यि दुवै प्रदर्शनमा युवाहरु नै अग्रपंक्तिमा थिए÷छन् । सरकारको समर्थन र विरोधमा ति युवाहरु सडकमा आए,घाँटी सुक्ने गरी नारा लगाए । कुनै पनि युवा समुहले सरकारको समर्थन या विरोध भन्दा पनि राष्ट्रको पक्षमा नारा लगाएको तपाईले कतै सुन्नुभयो त?
अव लागौँ मुख्य सवालतर्फ
नेपालको कुल जनसंख्याको ४० प्रतिशत भन्दा बढि हिस्सा (१८ देखी ४०) वर्षका युवाहरुको उमेर समुहले ओगटेको छ । विश्वको परिवर्तनको अभिलेख र विकासक्रमलाई नियाल्ने हो भने आज हामीले विकशित राष्ट्रका रुपमा मानेका मुलुकहरुले यि र यस्ता उमेर समुह (युवाहरु) लाई आफ्नो समयमा देश विकासको मेरुदण्डको रुपमा सहि ढंगबाट प्रयोग गरेका थिए ।
फ्रेडरिक जी बैन्टिग सन १९२३ मा इन्सुलिनको आविस्कार गर्दा मात्र ३२ वर्षको थिए । उनले सो आविस्कारको लागी नोवेल पुरस्कार समेत प्राप्त गरेका थिए । चिकित्सा क्षेत्रमा सवै भन्दा कम उमेर मा नोवेल पुरस्कार प्राप्त गर्ने बैज्ञानिकमा फ्रेडरिक जी बैन्टिग पर्छन् । सन् १९९५ मा विशेष सापेक्षवादको शिद्धान्त प्रतिपादन गर्दा अल्वर्ट आईन्सटाईन पनि मात्रै २६ वर्षका थिए ।
नेपालमै पनि २०४६ सालमा भएको जनआन्दोलनको अग्रपंक्तीमा त्यसको नेतृत्वकर्ता नेपाली कांग्रेसका युवा नेताहरु नै थिए । ईन्साईकल पिडियाका अनुसार वि.सं. १९९८ सालमा नेपाली प्रजातान्त्रिक संघको गठन गर्दा पुष्पलाल श्रेष्ठ १८ वर्षका थिए । उनि संगै संघमा जोडिएका प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजाराम पनि सोही उमेरसमुहका थिए ।
२००९ सालमा जन्मिएका मदन भण्डारी चौथो महाधिवेशनबाट तत्कालिन नेकपा (एमाले)को महासचिव बन्दा मात्र ३७ वर्षका थिए । २०४८ सालमा भएको संसदीय निर्वाचनमा उम्मेद्धार बन्दा भण्डारी ३९ वर्षका थिए । त्यतिबेला उनले नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौँ क्षेत्र नं. १बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
विभिन्न कालखण्डमा नेपालमा भएका विभिन्न विद्रोह , आन्दोलन तथा जनआन्दोलनको नेतृत्वको जस लिने अहिलेका नेताहरु पनि त्यतिवेला सोही उमेरसमुह भित्रका युवा थिए । २०५२÷२०५३ सालमा दिर्घकालिन जनयुद्ध सुरु गर्दा पुष्पकमल दाहाल, बाबुराम भट्राई, नेत्रविक्रम चन्द, लगाएतका पनि यहि उमेरसमुहका युवाहरुभित्र पर्दथे ।
इतिहासमा कुनै–कुनै यस्ता घटना पनि हुन्छन्, जुन आकारले साना हुन्छन्, तर अजङ्गको परिणामका निम्ति आधारका रूपमा उपस्थित हुन्छन् । नेपाली राजनीतिमा झापा विद्रोह, ०४६ सालको जनआन्दोलन, ०६२÷०६३ को आन्दोलनपनि त्यस्तै घटनाका रूपमा स्थापित छ । सानो झिल्कोको रुपमा उदाएका यि घटनाक्रमले नेपालको राजनीतिमा उथलपुथल ल्याईदिएका थिए । यि विद्रोह र आन्दोलनको अग्रपंक्तीमा युवाहरु नै थिए ।
कम्युनिष्टका गुरु काल माक्र्स र फ्रेडरिक एंगेल्सले कम्युनिष्ट घोषणापत्र लेख्दा क्रमशः ३० र २८ वर्षका थिए । त्यतिबेला माक्र्सले भनेका थिए, ‘मान्छेले आफ्नो इतिहास आफैँ बनाउँछ, कसैलाई खुसी पार्न कसैले पनि इतिहास बनाउँदैन । अहिलेका युवा पुस्ताले पनि कसैलाई खुशि पार्न सडकमा उफ्रिने भन्दा पनि इतिहास बनाउन तर्फ ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ ।
नेपालको संविधान २०७२ले प्रतिनिधिमुलक प्रजातन्त्रका अन्तराष्ट्रिय मुलभुत मान्यताहरुलाई सहज अंगिकार गरेको छ । संविधानको मुल्य मान्यता र व्यवस्थालाई हेर्ने हो भने बहुसंख्यक क्षेत्रहरुमा योगदान गरेको युवापुस्ता नै यो व्यवस्थाको नेतृत्वमा हुनुपर्ने हो । तर युवाहरुलाई विभिन्न प्रलोभन देखाएर, विभिन्न लहडमा अलमल्याएर नेतृत्वबाट विमुख गराईँदै छ । परिवर्तनको मुख्य हिस्साका रुपमा रहेको युवा समुह अहिले राजनीतिको मुल प्रवाहबाट बाहिर फलिएको छ भन्दा फरक नपर्ला । नेतृत्वमा रहेका केहि थान वृद्धहरुले आँफु युवा छँदा देशलाई लगाएको गुण (योगदान) को साँवामा तिनपुस्ते व्याज खाएर खाली नेतृत्वमात्रै ओगटी रहेका छन् । युवाहरुको लगन र आक्रोशले ल्याएका परिवर्तनका भुमरीहरुमा वृद्ध नेतृत्वहरु रुमल्लिएका कारण आज देशमा यस्ता अनेकन खालका समस्या देखा परिरहेका छन् ।
विभाजनको बाटो रोजेका पार्टीहरुमा युवापुस्तालाई तान्ने र प्रयोग गर्ने होडबाजी चल्छ । नेपाली राजनीतिमा युवाको प्रयोग भनौँ या उपयोग, यिनै र यस्तै घट्नाक्रममा मात्रै हुँदै आईरहेको छ । युवाहरु पनि जता जता प्रलोभनको बाढि लाग्छ,उतै उतै लहडका भरमा पछि लाग्ने गर्छन् । अझ भनौँ नेपालमा युवाहरु राजनीतिक गोटीका रुपमा मात्रै उपयोग भईरहेका छन् ।
केहि समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको आलोचनाबाट उम्किन अवको नेतृत्व युवापुस्तामा हस्तान्तरण गर्ने उद्धघोष गरे । उनले युवाहरुलाई आँफुतिर आकर्षित गर्न र आफ्ना समर्थक बढाउन फालेको युवा पुस्तामा नेतृत्व हस्तान्तरणको तुरुपलाई युवाहरुले पत्याईदिएनन् । उनको त्यो उद्धघोष स्वार्थयुक्त र राजनीतिभित्रको खेल मात्रै थियो भन्ने कुरा युवापुस्ताले वुझे र त्यसलाई सजिलै विफल परिदिए ।
नेकपा विभाजनको बाटोमा लम्किरहेको छ, नेतृत्वमा रहेका दुईपक्षको संघर्षमा युवापुस्ता निकै विभाजित बनेका छन् । युवाहरु आफैँसंग देशमा देखा परेको संकट समाधान गर्ने कुनै योजना नभएको प्रष्ट छ । अहिले देखा परेका संकट प्रधानमन्त्री केपी ओलीबाटै हल हुनेछ अथवा पुष्पकमल दाहाल र मााधव नेपाल लगाएतबाटै समाधान हुनेछ भन्नेमा उनिहरु आशावदी देखिन्छन् । यि र यस्ता अन्धकारबाट बाहिर निस्केर अवका युवा पुस्ताले नेतृत्वमा रहेर युवाहरुको शक्तिलाई राजनीतिक गोटीको रुपमा परिचालन गर्ने नेतृत्वकर्ताहरुलाई वर्हिगमनको बाटो देखाउनु जरुरी छ । दशकौदेखी युवाहरुलाई राजनीतिक बन्दी बनाएर स्वार्थको फाईदा लुटिरहेका नेतृत्वहरुले पनि युवाहरुलाई बन्दी जिवनबाट मुक्त गराउनुपर्छ ।
मुलुकमा देखिएका संकटहरुको समाधान गर्न सक्ने सामथ्र्य अवका युवापुस्ताले राख्नुपर्छ । राजनीतिक आस्था आफ्नो ठाउँमा होला तर मुलुकमा देखिएका साझा संकटहरुको समाधान गर्ने दुस्साहस भने युवाहरुले एकठाउँमै रहेर गर्नुपर्छ । विकाश र परिवर्तनको नेतृत्व होस या पार्टीको नेतृत्व चाहे त्यो सरकारको नेतृत्व नै किन नहोस, युवाहरुले अव अग्रगामी छलाङ मार्नैपर्छ । यदी दलका नेताहरुको गोटीका रुपमा मात्रै परिचालित नभएर मुल नेतृत्वको चेष्टा गर्ने हो भने यही युवा संगठन नै नेपालको राजनितीको मुलधार हुनेछ।