रामेछापका ८ वटै स्थानीय तहमा पठनपाठनको तयारी

२ स्थानीय तहका विद्यालयमा पठनपाठन शुरु

रामेछापका ८ वटै स्थानीय तहमा पठनपाठनको तयारी

२ स्थानीय तहका विद्यालयमा पठनपाठन शुरु

सरकारले विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएसँगै रामेछापका स्थानीय तहले पनि विद्यालय सञ्चालन गर्ने तयारी गरेका छन । कोरोनाको जोखिम नभएका र कम भएका ठाउँमा प्रदेश र पालिकाको निर्णयअनुसार विद्यालय खोल्न सकिने भनेर सरकारले यसअघि विद्यालय सञ्चालन कार्यढाँचा सबै स्थानीय तहमा पठाइसकेको छ । रामेछाप जिल्लाका २ नगरपालिका तथा ६ गाउँपालिकामध्ये २ स्थानीय तहले पठनपाठन शुरु गरिसकेका छन भने अन्य स्थानीय तहले सम्बन्धित सरोकारवाला निकायसँग छलफल गरेर विद्यालयहरु सञ्चालन गर्ने तयारी गरेका छन ।

रामेछापमा हालसम्म २ हजार ३ सय ३४ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा १९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती संक्रमितहरुमध्ये १८७ जना संक्रमण मुक्त भइसकेका छन भने ३ जनाको आइसोलेशनमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । विद्यालय सञ्चालन गर्दा कोरोनाको जोखिमलाई ख्याल गर्न सरकार र सरोकारवालाले आग्रह गरेका छन् । विद्यालय खोल्दा पर्याप्त मात्रामा पानी, हात धुने ठाउँ, साबुन र अरु सरसफाइका सामग्रीको व्यवस्था गर्नुपर्ने हुन्छ । ती सबै मापदण्डहरु पालना गरेर विद्यालय सञ्चालन गर्न तयार रहेको मन्थली मा वि का प्रध्यानध्यापक टंक प्रसाद दाहालले बताउनुभयो । पठनपाठन सञ्चालन नहुँदा विद्यार्थीहरुको पढाइ शैक्षिक सत्र अन्यौलमा रहेकाले सम्बन्धित निकायसँग समन्वय गरेर पठनपाठन सुचारु गर्न तयार रहेको जिल्लाका विभिन्न विद्यालयका शिक्षकहरुले बताएका छन ।

रामेछापको खाँडादेवी गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा भने पठनपाठन शुरु भएको छ । खाँडादेवी गाउँपालिका शिक्षा शाखा प्रमुख रिपबहादुर खत्रीका अनुसार स्थानीय शिक्षक भएका विद्यालयमा दशै पछि र जिल्ला भन्दा बाहिर रहेका शिक्षक भएका विद्यालयहरु तिहारपछि नियमित सञ्चालनमा आएको छ । उहाँका अनुसार विद्यार्थी सङख्या कम भएका विद्यालयहरुले नियमित र विद्यार्थीसङख्या धेरै भएका विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कक्षागत आइतबार, सोमबार बारगत पालैपालो पढाई सञ्चालन भइरहेको छ । गोकुलगंगा गाउँपालिकाले पनि सोमबारदेखि विद्यालय सञ्चालन गरेका छन । विद्यालयमा ,साबुन, पानी, सेनिटाइजर लगायतको व्यवस्थापन गर्न गाउँपालिकाले बजेट विनियोजन गर्न छलफल भइरहेको गाउँपालिका शिक्षा अधिकृत नरेन्द्र सिंह भण्डारीले जानकारी दिनुभएको छ । त्यस्तै अन्य स्थानीय तह सुनापति गाउँपालिका, लिखुतामाकोशी गाउँपालिका , दोरम्बा गाउँपालिका, रामेछाप नगरपालिका, मन्थली नगरपालिका र उमाकुण्ड गाउँपालिकाले पनि सम्बन्धित निकायसँग छलफल गरेर विद्यालय सञ्चालन गर्ने तयारी गरेका छन ।

अव बालबालिकाको पठनपाठन शुरु हुने भएपछि खुशी भएका अभिभावकलाई छोराछोरी विद्यालय पठाउँदा संक्रमित भइन्छ कि भन्ने चिन्ता पनि रहेको छ । त्यसैले छोराछोरीलाई विद्यालय पठाउँदा अभिभावक पनि सचेत हुनुपर्ने,विद्यालयका शिक्षकहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने र गर्न लगाउने त्यस्तै विद्यालयमा नियमहरु पलना भएका छन कि छैन भनेर अनुगमन गर्नु स्थानीय तहको मुख्य जिम्मेवारी रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभएको छ । उहाँका अनुसार हाल जिल्लामा कोरोना संक्रमित मन्थली नगरपालिकामा ३ जना मात्र रहेकाले र सरकारकै निर्देशन भएकाले अन्य स्थानीय तहमा जोखिम भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर विद्यालय सञ्चालन गर्न सकिने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार