देवशंकर पौडेल
वि.सं. २०४१ सालको भाद्र ३१ गते आइतवारको राती भारी बर्षा भएर सुमनाम (सिन्धुली) तर्फबाट सुनकोसीमा मिसिने सानो खोल्सा (बवाला खहरे) को शिर भत्किएर आएको पैराले सुनकोसीलाई थुनिदिएछ । कोसी फर्किएर च्याकुटार बेसीसम्म पुग्यो । त्यसले सिन्धुली, ओखलढुङ्गा र रामेछापलाई क्षति पु¥याएको थियो । त्यसको चारबर्ष पहिले हाम्रो विवाह सुमनाम बेसीको धनसारमा भएको थियो । त्यो सवै डुवायो भन्ने खवर सैपुसम्म पुगेको थियो ।
त्यस बर्षको तिहारमा आमाको साथी बनेर वि.सं.२०४१ कार्तिक ६ गते (काग तिहार वा कुकुर तिहार हुँदो हो) मामाघर पलापु पुगेको थिएँ । त्यसको पर्सिपल्ट आठ गते नवलपुर घाट र कोलञ्जोर घाटबाट सुमनाम बेसीको अवस्था हेरेर फर्किने हेतुले कोलोञ्जोर घाट (रामेछाप) तर्फ लागें । मकुवा दोभान, तिपचउर, ग्वाङखोला, सुर्तीवारी हुँदै कोलञ्जोरको पुल पारी डिल्ली माझीलाई भेटेर सर्वप्रथम अवस्थाको जानकारी लिएँ । सिंदुरे पहिरामा पुगेर सुमनामबेशी नियालें । यता लिखु नदितर्फ सुर्तीवारीसम्म डुवाएको अवस्था रहेछ । कोलञ्जोर घाट स्थित लिखुको झोलुङ्गे पुल पसाङ्गिएको थियो ।
त्यताबाट नवलपुर घाट (ओखलढुङ्गा सिन्धुली) को सुनकोसी माथी स्थापित झोलुङ्गेपुलतर्फ हानिएँ । महिना दिन पार गरिसक्दासम्म पनि पुलका पखेटे लठ्ठामा काठका ठूलाठूला मुडाहरू झुण्डिइ रहेका थिए । पुलका जालीमा काठका ससाना दाउराहरू छानिएर यत्रतत्र झुण्डिएका देखिन्थे । पुलको नजिकै ओखलढुङ्गा पट्टी नवलपुरघाटमा काभ्रेपलाञ्चोक जिल्लाको चौकोटबाट आएर कपडा पसल थापेर बस्नुभएका मित्र रामचन्द्र राजबंशीजीलाई भेटें । त्यस रातको अवस्थाको बारेमा जानकारी लिएँ ।
त्यस रात रामचन्द्रजी मस्त निदाइरहनु भएको रहेछ । आवाज नगरी सुनकोसी समसम बढिरहेको रहेको रहेछ । रातको ११ बजेतिर पारि (सिन्धुली) तर्फबाट सिकारी सुनुवार (प्रचलित नाम ?) भन्ने मानिस खतरा मोल्दै नवलपुरतर्फ पुल तरेर आउनु भएछ । उहाँले ब्युँझाइ दिएका कारण बाँच्न सफल भएको बताउनु भयो । त्यति बेरसम्म सुनकोसीको पानी पसलसम्मै आइसकेको रहेछ । हतार हतार खातापाता र पालेको खसी फुकाएर सालिम्बो र बावियाका झाम्टा समात्दै भित्तातिर भाग्न सफल भएको बताउनु भएको थियो ।
म त्यतैबाट फर्किने विचारले नवलपुर पुगेको ठूलो भाई केदार काफ्ले के कामले आएको हो त्यहीँ घाटमा भेट भयो । “श्राद्धको सालो, तिहारको ज्वाईं” भन्छन् । बाढीको असर हेर्ने र तुरुन्त फर्किने भनेर गा’को केदारको करकाप मिश्रित अनुरोधमा त्यस बेलुका सुमनाम सुन्तले ससुराली पुगेंर बास बसें । खेत बगर बनाएको दर्दनाक घटनाको इतिबृत्तान्त सुनें । सञ्चविसञ्चको कुराभयो । भाइ टिका आइसकेको थियो । कार्तिक नौ गते गोरु तिहारका दिन विहानै हिंडेर वेलुका साँझमा पुलु पुगेको थिएँ ।
त्यहि बाडी पैराका कारण मेरा ससुराली छिन्न भिन्न भएर केहि त्यतै बस्नु भयो । धेरैजसो तराईतर्फ बसाईं सर्नुभयो । सुनिन्थ्यो वि.सं. १९१३ सालमा लिखु नदि भयानक बाढी आएर सुनकोशी थुनिदिएपछि वाक्सुखोलाको निकै माथीसम्म विशाल दह बनेको थियो रे । त्यसैले अहिले पनि रामदह भनिन्छ । सुमनाम बेसीका रुखहरू चुर्लुम्मै डुबाएको रहेछ । बुढाबुढा तित्रीका धोद्रा रुखका टोड्कामा अझैसम्म बालुवा पाइन्छ । यी दुई घटनाले नदि किनारामा बस्ती बसाउनु जोखिमपूर्ण छ भन्ने देखाउँछ ।