स्टकोट र बा !

स्टकोट र बा !

रातो माटोले पोतिएको घरको भित्तो
गोवरले लिपिएको मझेरी
कुनामा पुतपुताईरहेको अगेनो
धुवाँले काला भएका घरका दलिन र निदाल
निदालमा ठोकिएको काँटी
काँटीमा झुण्डिरहेछ, त्यो बूढो स्टकोट ।
गरिबीले छपक्कै छोपेपछि
साहुको ऋणको भारले थिचेपछि
जसरी मेरा बाको निदार खुम्चिएको छ,
हो, त्यसैगरी मुजा परेको स्टकोट
सायद,
स्टकोट पनि भोको छ
बाले राखेका केही थान कागजहरुको भार थेग्न नसकी
त्यसै त्यसै खुम्चिएको छ ।
दलिन र निदाल जस्तै कालो स्टकोटमा
अहिले धुवाँको गन्ध आउँछ
बाँसँग धुवाँको लत छैन
तर,
तर, कोट बाध्यताले धुवाँको लतमा फसेको छ
आफ्नो रङ्ग छाडिसकेको त्यो स्टकोट
झण्डै दलिनमा झुण्डिएका धुवाँका लुर्का जस्तै भईसकेको छ
हिउँद मासमा बादलले पहाडलाई छोपे जसरी
स्टकोटलाई धुवाँले थोप्नै आँटेको छ
मोटो धागोले बाहिरैबाट तुनियको खल्ती
जो, भार थेग्न नसकी कोल्टे परेर उभिएको छ
जसरी, मेरा हजुरबा
लठ्ठी ठेक्दा पनि कुप्री परेर उभिनुहुन्थ्यो ।
झट्ट देख्दा त्यो स्टकोट
त्यो स्टकोटको खल्ती
सामान्य पीडामा मात्रै छैन
अभावमा पनि परिवारको दायित्व
जसरी, मेरा बाले निर्वाह गर्थे
हो, त्यसैगरी त्यो स्टकोट
त्यो खल्ती
असैह्य पीडामा भएर पनि
दायित्वबाट पछि हटेको छैन ।
स्टकोट, पीडामा किन रु
किनकी, स्टकोटको खल्तीमा
च्यातिएको कागजले बेरेको साहुको ऋणको तमसुक छ
वर्गसँग वर्गीय विभेदले सौदाबाजी गरेपछि टाढा जान
बाले ठिक्क पारेका केही साना नोटहरु छन्
परदेश जाने टिकट छ
टिकटमा मेरै बाको नाम छ !!

निरोज कुमार थापा (रामेछाप) 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार