रामेछाप ठोसे फलाम खानीको ईतिहास (भाग-२)

रामेछाप ठोसे फलाम खानीको ईतिहास (भाग-२)

(रामेछापको ऐतिहासिक र सांस्कृतिक महत्वलाई प्रवर्दन गर्ने उद्धेश्यले विविध अनुसन्धानमुलक लेख तथा दस्तावेजहरु प्रकाशन गर्ने प्रयास स्वरुप ईरामेछापले यस अघि पनि विविध लेखहरु प्रकाशन गरिसकेको छ । त्यसै क्रममा हामीले आज भन्दा ३३ वर्ष अघि डा.भुपहरी पौडेलद्धारा लिखित पुरातत्व विभागको जर्नल प्राचीन नेपाल, अंक १०३, विसं २०४४ मा प्रकाशित लेख “लोप्राका कागते” शिर्षकको लेखमा उल्लेख भएको ठोसेको मेगजिन उपशिर्षकको अंश साभार गरेका छौँ । सहजताको लागि हामीले यस अंशलाई ठोसे फलाम खानीको ईतिहास शिर्षक दिएर पनि दुई भागमा प्रकाशन गरेका छौँ । यो अन्तिम तथा दोस्रो भाग हो । -सम्पादन टिम)

रामेछाप जिल्ला मध्यमाञ्चल विकास क्षेत्रको पूर्वको सिमानामा पर्ने जिल्ला हो । यहाँको अकाशेमा आजभन्दा केही वर्ष अघिदेखि हवाई सेवा चालू छ । खाडीचौरबाट उकालो लाग्ने हो भने जिरीसम्म दैनिक बस सेवाको सुविधा भएको हुदाँ ठोसेलाई त्यति टाढा भन्नु हुँदैन । तर पनि यहाँको यत्रो फलाम खानी आज त्यसै उपयोगहीन भैरहेको छ । ठोसे मेक्चन अनकण्टार जस्तै छ । अझै पनि यहाँ पुग्न उकालो ओरालो जङगल हिड्नुपर्छ । हम्मेसी जो पायो उही मानिसले मेक्चनलाई सहजै पत्ता लगाउन सक्दैन । त्यो प्राचिन समयमा कुषाणहरुले ठोसेको फलाम ल्याएर सामान तयार गर्थे भन्ने कुरा बाबुराम आचार्यको कल्पनाको उपज हो । यसमा यथार्थता छैन । यस सम्बन्धमा ऐतिहासिक प्रमाणहरु अन्त कतै प्रसङगमा उल्लेख गर्नु मनासिब होला । अब यो ठोसे खानीको बारेमा केही कुरा कोट्याउँ । राणा प्रधानमन्त्री जङग बहादुर राणाको समयमा वि ‍स १९२१ सालमा एकान फेदीमा मेगजिन अड्डा बस्यो । यो बेला को बासिन्दाहरु त्यसको अहिलेसम्म कुनै अत्तोपत्तो  छैन । त्यस पछि यो अड्डा वि स १९५० सालमा एकान फेदीबाट ठोसेमा सर्यो । त्यसबेला यो अड्डाका डिठ्ठा भत्त बहादुर कार्की भएको बुझिन्छ । यस माथिको हाकिम पनि भएको सुनियो तर नाम र पद भने पत्ता लाग्न सकेन । मुखिया सिहराज श्रेष्ठ र नौसिन्दामा बीरबहादुर श्रेष्ठ भएको बुझिन्छ । सैपु भेडाखोरका हरिप्रसाद पौडेल हाल मेगजिनको शारदा माध्यमिक विद्यालयका शिक्षक कै  माहिला हजूरबा कृष्णदत्त पौडेलले ठोसेकै मेगजिन अड्डामा सुवेदार भई काम गरेका थिए  । त्यो बेला बहिदार पदमा फत्यबहादुर प्रधान थिए ।

मेगजिनमा भएका सामान बनाउने मेशीनहरु सबै काठमाडौबाट झिकाएको हो । यसबाट हरेक दिन नौ बन्दुक फायर गरी पास गराएर राखिन्थ्यो । बन्दुक सबै फलामकै तयार गरिन्थ्यो । वि स १९६५ साल पछि इञ्जायती माल बनाउन थालियो । इञ्जायती माल भनेको कोदालो कोदाली हँसिया डिबिया ताल्चा ‌ओदान मसीको भाँडो खुकुरी साँचा कोरेसो घोडाको नाल टाप आदि हुन् । बम गोला पनि फलामकै बनाइन्थ्यो । सुन्दरी जलमा मर्मत गरी पास गराउने चलन थियो । इन्द्र चिन्तुर बन्थ्यो ।

वि स १९६५ सालपछि बन्दुक बनाउन छोडियो । विदेशबाट नयाँ नयाँ किसिमका हात हतियार आउन थाले मेगजिनमा पनि इन्धनको अभाव भयो । मुख्यत यिनै दुई कारणले यहाँ बन्दुक बनाउन छोडियो । वि स १९७३ सालमा फलामखानीको ठेक्का पूर्व ३ नम्बरको साङगे लामाले लियो । यो सित काम गर्ने अन्य कामदारहरु रुम्जाटारको गणेशबहादुर खत्री बालकृष्ण श्रेष्ठ र गुणबहादुर थिए । त्यसपछि पूर्व ३ बम्बरकै छ्योङ भन्ने तामाङले ठोसे फलामको ठेक्का लियो । यो सित काम गर्ने मानिस बरवान सि तामाङ अवसि तामाङ र शुभसि तामाङ थिए ।

यी ठेकदारहरुले ठोसेको फलाम १ रुपियाँमा ६ धार्नी खरीद गरी १ रुपैयाँको ४ धार्नीका दरले बिक्री गर्थे । वि स १९७७ सालमा बहिदार फत्यबहादुरले ठोसे फलाम खानीको ठेक्का लिए । दरभाउ चाहि माथिकै रह्यो । वि स १९८० साल श्रावण १४ गते देखि सरकारी तवरबाटै ठोसे फलाम खानीको ठेक्का तोडियो । मेगजिन नजीकैको खिम्ती खोलामा अझ हजारौ हजारौ वर्ष खप्ने जस्तै देखिने फलामको पक्की साँगु छ । यो साँगु पटासे गाउँ बस्ने बागसिं खनेल समुदाय ले बनाएको थियो । यस किसिमको पक्का फलाम हिजोआज देखिन छोडेको छ । ठोसेको फलाम सदुपयोग गर्न सकियो भने अझै पनि नेपालीहरुले बलिया बलिया भाँडाकुँडा बनाउन सक्थे । अब पक्का फलाम कसरी तयार हुन्छ यस सम्बन्धमा छोटो चर्चा गरौ । सबैभन्दा पहिले खानीबाट धाउ झिक्ने । यसरी झिकिएको धाउ कुटी धूलो पारी पानीमा धुनुपर्छ । त्यसमध्ये ढुङगो र माटो बगेर जान्छ । फलाम बनिने धाउ चाहिं त्यहीं रहन्छ । अब धाउ गाल्नुपर्छ । बिहान १० बजेदेखि गाल्न थालेको धाउ बेलुका १० बजेतिर मात्र झिक्न मिल्छ । त्यसमा फलाम ढिक्का भएर तयार हुन्छ । त्यस बीचमा विदेशको फलाम नहाली विदेशको मात्र फलामले ताउ लाग्दैन जोडिंदैन । काँचो फलामलाई कालीगढले आरनामा गाली इच्छानुसारको सामान बनाउँछ । देव शमशेरले मेगजिनमा काठमाडौबाट फलामका सामान बनाउने मेशीन झिकाए । यो मेशीनले इञ्जायनी माल गोला बन्दुक घन कुञ्जा घनको सानो भाग बनाएको जानकारी प्राप्त भएको छ । मेगजिनमा १९६५ सालतिर दिन भरि भरि आरन चल्थ्यो । देव लेखिएको मेशीनको चक्का छात्रावासभन्दा दक्षिणपट्टि त्यसै मिल्किरहेको छ । यसभन्दा अतिरिक्त बन्दुक बनाउने र गोला बनाउने मेशीन पनि यत्रतत्र छरिएका छन् । वि स १९८० सालपछि फलामको ठेक्का तोडियो । त्यसपछि मेगजिनबाटै फलाम खरीद गरी सरकारी मालसामान बनाउने गरी कोते मोतीमान यो काममा सरिक भयो । यसपछि ठोसे खानीको फलामबाट मेगजिनमा घोडाका नाल मसीका भाँडा ताल्चा कोदाली बन्न थाले । हिजो आज यहाँको फलामबाट मेगजिनकै कामीहरु कुखुराका भाले विभिन्न थरी चराहरु र अन्य केही साधारण कुटा कोदाला आदि अडरका सामान बनाउँछन् । पहिला मेगजिनको नामी कालीगड धनपति नकर्मी भएको जानकारीमा आएको छ । मोतिमान नकर्मीले सरकारी पैसा ल्याएर फलामको काम गरेको थियो, तिर्न सकेन । पछि त्यसको कबुल गर्ने निजकै सौतिनी भाई इन्द्रलाल नकर्मी थियो । यसले पनि इञ्जायनी सामान बनाएको कुरा जानकारीमा आएको छ । त्यो बेला आफूले बनाएको इञ्जायनी मालताल टुँडिखेल मुनिको इञ्जायनी सटही बिक्री अड्डा मा पुर्याएर बुझाउनु पर्थ्यो । वि स २००७ सालमा एकतन्त्रीय राणा शासन समाप्त पार्न ठाउँ ठाउँमा सभा जुलुसहरु भए । त्यसमध्येको कांग्रेसको जुलुसलाई मुख्य रुपमा लिन सकिन्छ । कांग्रेसको हुल मेगजिनमा ४ दिन बसेको थियो । यसमा चतुरमान राई काँग्रेसको नेता भएर आएको थियो । अन्य मानिसहरुमा गोब्रेटारको हवल्दार नर बहादुर दोर्जेको दिल बहादुर कार्की गोब्रेटारकै पद्यबहादुर भण्डारी र दोर्जेकै पहलध्वज कार्की मुख्य थिए । मेगजिनमा छाना थियो त्यसलाई भत्काएर उनीहरुले ओछ्याए ।

२००७ साल माघ १९ गते मेगजिनका सारा कागजपत्रहरु काँग्रेसका मानिसहरुले उठाए । हाल पुलीसचौकी बसेकै ठाउँमा मिल्सिया सिपाही बस्थे । यो ठाउँमा ६ नाले बन्दुक पनि थियो । मेगजिनका ऐतिहासिक कागजपत्र पोल्न ६ नाले बन्दुक झिक्न अडर गर्ने प्रीतिको मान बहादुर सुनुवार हो । अहिले ठोसे मेगजिनका सम्बन्धमा याथार्थ इतिहास तयार पार्न चाहिने कागजपत्रहरु सबै नष्ट भैसके । त्यहाँको इतिहास बुढापाकाहरुको  स्मरण शक्तिमा सुरक्षित रहेको पाइन्छ । शान्ति दल भन्ने १४ जनाको फौज आएको कुरा यहाँका देख्ने मानिसहरु बताउँदछन् । शुरुमा ठोसेमा पञ्चायत बस्यो । त्यसबेला प्रधानपञ्चमा हरि बहादुर प्रधान चुनिएका थिए । उप-प्रधानपञ्च चाहि धन बहादुर थिए । १२ जना सदस्य थिए । ती मध्ये चोप्राङको लाल बहादुर श्रेष्ठ पनि थियो । त्यसबेला ठोसे पञ्चायतको सीमाना लिखु खोला पश्चिम, छहरे खोला र चीसापानी डाँडा, पूर्व उत्तरमा चेर्तुङ र दक्षिणमा भित्ररी खानी यति चार किल्ला तोकिएको थियो । १९९६ को पञ्चायतमा प्रधानपञ्च पनि हरि बहादुर प्रधान नै भएको जानकारी पाइएको छ । काँग्रेसको शान्तिदल आएर मेगजिनका सामान नष्ट भ्रष्ट पारेपछि २००७ सालदेखि खानी बन्द भयो । अहिले त यहाँ अन्तको फलाम ल्याई मालताल बनाइएको कुरा प्रत्यक्ष देख्न पाइयो । मेगजिनमा रहेका सरकारी सामानहरु वि. स. २०२४ सालमा लीलाम भएको कुरा सुन्नु पर्दा खल्लो लाग्नु स्वाभाविकै हो । ठोसेमा १८ वटा फलाम खानी भएको तथ्य फेला परेको छ । तिनीहरुको नाम यसप्रकार छ ।

  • डाँगर जिंगर
  • सोत्तरे
  • डढुवा
  • जौवारी
  • कोप्चे
  • चुचुरे
  • लाप्चाने
  • ढुङागाडे
  • कुम्लुङ
  • अजम
  • रोहोटे
  • मैदाने
  • सिंगटी
  • भित्तरी
  • कपासे
  • सुइटे
  • खोलाखर्क
  • झरेनी

यसभन्दा अतिरित्त खिम्तीखोलादेखि उत्तरुपट्टि गुन्सागाउँ र पढासेमा पनि फलाम खानी भएको सुराक लागेको छ । गुन्साको सबैभन्दा राम्रो धाउ हो भन्ने व्यापक चर्चामा आएको छ । यहाँ ८७ लाख टनभन्दा बढी फलाम भएको तथ्य जापानीहरुले गरेको सर्वेक्षणबाट पत्ता लागेको छ । अब आरनको बारेमा एउटा रोचक प्रसङग छ । चारपाटे काठ ल्याई ओछ्याएपछि दुइतिर चक्का बनाइन्छ । त्यसलाई चन्द्र सूर्य भनिदो रहेछ । चन्द्र सूर्य भनिने छालाले मोडी माझमा प्वाल पारी माथि दलिनमा बाँध्ने( चन्द्रसूर्य खोपिल्टो ) । तलबाट नाल जोडेर बतास जाने ठाउँलाई वायु देवता भनिदो रहेछ । डोरीलाई नाग देवताका रुपमा चिनिन्छ । आगो भएपछि फलाम तात्यो त्यो लीहिलाई भैरव भनिन्छ । वनलाई हनुमान घन उठाएर हान्नेलाई दिक्पाल आगोलाई अग्नि देवताको रुपमा चिन्हिन्छ । आगो मिलाउने फलामलाई कुकुना नारद ऋषि च्याप्ने सनासोलाई नित्येश्वर नित्यनाथ घन चुट्नेलाई दिक्पाल फलाम च्याप्नेलाई बांग सनासो र सनासो समाउने मूल कर्मीलाई विश्वकर्मा भनिदो रहेछ । फलामलाई लोहासुर दैत्य भनिने आगाको ज्वाला ह्वारह्वारती निस्कँदा बालुवा हालिन्छ । त्यो बालुवालाई विष्णु देवता भनेर  नामाकरण विश्वकर्माले नै गरेको पाइन्छ । त्यसपछि सनासोले कसरी फलाम च्याप्ने भन्ने कुरा त्यहाँ कसैले जानेन । यो काममा विश्वकर्मा समेत अलमलमा पर्यो । त्यही बेला अगाडी आएर कुकुर बस्यो । उसले आफ्ना अगाडीका दुइटा गोडा सनासो झैं राखिदियो । त्यही देखेर विश्वकर्मालाई तातो फलाम च्याप्ने ज्ञान भयो । त्यसपछि त पाईन हाल्ने पानीमा चोबल्ने र मलुवालाई खरो बनाउने कुरा पनि विश्वकर्माले जानिहाल्यो । हरि बहादुर प्रधानका घरमा रहेको एउटा ऐतिहासिक पत्रको नकल उतार

श्री

स्वस्ति श्री रकम वंदो वस्त अडा कस्ये पत्रम् आग्ये धीं भारोको नाती चेत नाराको छोरा पुर्व २ नम्बर ईलाका ठोसे बजार वस्ने ब फते बहादुर प्रधान कस्य फलां खानीको फलाम य क हट्टी रकम् वषान सी लामाका नाउमा ७५ साल श्रावण १५ गते देखी त्री साल ठेक्का लागेको मा अव उप्रान्त तयारी माल स्मेत भोट् मुग्ला लान नपाउने सनद गरी दी कवुलियत पट्टा समेत फेरी दीनु हुकुम वक्से मुतावीक ७६ साल आषाढ १ गतते का १ छापे पुर्जि बमोजिम भैबंध हुदा सावीक बमोजिमको ठेक बुझाउनामा कबुल मंजुर नगरी लेखीयाका उजुरीबाट बुझी खानीको कट्टाई काठ् काट्न दीयेन आग्री खनेललाई दोहरा रंक लाग्यो भनी य मा अडैबाट नीकासा हुने र खानीको सनद लाल मोहरको भीत पायन भनेमा सनद लाल मोहर भया नभयाको बुझी ठहरे माफीक हुने हुदा हाल तेसरी पोट्वाट नीकासा दीन नपर्ने र यो ठोसे खानीको फलामको तयारी माल स्मेत् भोट भोग्ला लान नपाउने भया सावीक ठेक्मा रु५६२।५० कटाई रु ५६२।५० र ठोसे मेगजिनको कामलाई सावीक फलाम धार्नी १८४०० मोरु १ को ६ धार्नीका दरले बुझाउने मा पनि धार्नी ४४०० घठी धार्नी १४००० मात्र बुझाउनामा सावीक ठेकदारले कवुल गरेको मै सवाल बमोजीम तारेख मुकर ७५ साल श्रावण २१ गते मै दसखत हुदा देउसी पुर्ण बहादुरले ठेक् मोरु ६०७।५० मेगजिनलाई चाहिने फलामलाई धार्नी १४००० मात्र बुझाउनमा कवुल गरेकोमा अम्ले वढी कबुल नगरेको भोट् मोग्लामा लगी नुन सटही गरी खाने गरी आउने रैतीलाई भोट् मोग्लान् वंहा छदा नुन खान नपाई पीर बाधा पर्ने समेत देखीन्छ तापनी फलामे माल बनाई ज्यादा भोट् मुगलां नलाने हुदा रैतीहरुको घर खर्चलाई चाहीने फलाम खरीद गर्नै नपाई …………र पर्ने भयाकोले वध भयको भोट् मोगलान षुला गर्नु पर्छ भन्न नभएको सुन्दरीजल भेग जी काले खोट्बाट ठोसे मेगजीनको कामलाई सावीक बमोजिम फलाम धार्नी १८४०९ दीने बंदोबस्त गर्नु पर्ने देखीनाले सावीक बमोजीम मेगजीनलाई चाहीने फलाम दी नीज पुर्ण बहादुर देउसीले कवुल गरेको ठेक्कामा सयकरा ५ बढी मोल् ९३७।८७।२ का दरले साल सालको ठेक् गरी महसुल बुझाउनामा कवुल गरी ब फते बहादुरले दीपोजीत नपठाई तारेख पछि द्रकास्त पठाउनेले रकम नाउने भया तापनी सावीक ठेक् मोरु ४०७।१२।२ घटाई मोरु ६३७।८७।२ का दरले बुझाउने र मेगजीनलाई चाहीने सावीक बमोजीम फलाम धार्नी १८४०० बुझाउने या कवुल गर्ने नीज फते बहादुर कै नाउमा त्री साला ठेक्का बंदोबस्त गर्नु भन्ने सदर गरी बकसे नीजलाई त्री साला पट्टापुर्जी गरी दीने र ७६ साल श्रावण १५ गते देखी पहा बमोजिम तयारी माल भोट लान पाउने देखीयाकोले सावीक बमोजिम यो ठेक तीर्नु पर्ने होइन भन्ने सावीक ठेकदार वषान सीज्वको उजुर हुनाले सो श्रावण १५ गते देखी हाल वालाको भयका यहाको ठेक अघीला दी सम्मलाई हाल बन्दोबस्त भयाको ठेककै दामासाहीले ठेक कवुल गर्नु भन्ने दोल्खा मालका नाउमा अडैको पर्जी गरी दीने ठहर्याई यसै अडाबाट जाहेर गरेको रीपोट मा मुन्छी अडा रीपोट् पैला फाटबाट तारेख पछि दीपोजीट पठाई प्रकास्त गर्ने वा तारेख भीत्रै भया पनी सैकर पले दिपोजीत पठाई हुलाकबाट तार चीठी प्रकास्त पठाउने सो कवुल गरेको ठेक जतीसुकै बढी भया पनी तेसले पाउदैन खोजी गरी रहनु र जाहेर गरी रहनु समेत पर्दैन भन्ने मुलुकी सवालको ७ डफामा लेखीयाको हुनाले बढी कवुल गरे तापनी तारेखपछि दीपोजीत समेत पठाई दर्खास्त पठाउने फते बहादुरले पाउछ भन्नै नहुने तारिख का दीन बढी कवुल गर्ने पुर्ण बहादुर देउजीलाई ठोसे मेगजीनलाई चाहीने फलाम बुझाउने मैर्का हर्जा होलाकी भन्नालाई पनी सो रु ६३७७।२०२७ जापनी माल थान १७०६८ के धार्नी ६९००९२=।।६। डापासाहीले कोट्खानाका आडर बमोजिम माल तयारी गरी दी वाकी रुपैञ्जाको सयेकरा पले मुनफा र ठेक दारबाट आउने फलाम धार्नी १८४०० छोक सरात ८६६।९।२।२ को ३ ले बुझाउने गरी मेगजीनका नाउमा सनद घटन जाने फलाम धार्नी  १४०० बुझाउने भयेपछि कामै हर्जा नहुने समेत भै सो मुलुकी सवाल काटी अरु तोक गरी बक्सनु पर्छ भनी अड्डाले वींती चदाउन मुनासीव नपर्ने हुनाले साविक ठेकमा रु ५१७।४० पाचसहे सत्र पचास पैसा फलाम बुझाउनेमा ४४०० चवालीस सहे धार्नी घटे तापनी म्यादको दीन सबै भन्दा बढी कवुल गर्ने नीजै देउसी पुर्ण बहादुरलाई आफ्नै सवालको रीत पुर्याई त्री साल ठेक्का बन्दोबस्त गर्ने गरी तयारी माल् भोट् मुगला लान नपायाको ७६ साल श्रावण १५ गते देखी हालवालालाई भयाका पटाको अघीलो दीसम्मलाई हाल कै ठेक्काका दामा साहीले असुल गर्ने मुनासीव ठहराई वोलेका जो ६ मा यस्ता तारेखका दी देउसी पुर्न बहादुरले कवुल गरेको जम्मा फलाम ४४०० धार्नी बढाई सावीकै बमोजिम र नगदीमा सये करा पचास बढी तारेख पछि कवुल गर्ने फते बहादुरलाई नै यहाँ कवुलीयत गराई दीने गरी सदर भने खड्गनीसानादार ७७ साल श्रावण ८ गते २ मा सदरभै आयेको हुनाले तोकसदर बमोजिम मुतावीक सो ठोसे मेगजीन फलाम खानीमा सावीक दरीम ली आयाका खानीको फलाम खनेल रैतीबाट खरीद गर्दा मोरु १। को मलुवा फलाम धार्नी ६ डर्का धार्नी १०९ का दरले खरीद गर्ने र ठोसे मेगजीनलाई चाहीने मलुवा फलाम साल १ को धार्नी १८४०० दी धार्नी ८ को रु १। ले मोल लीने हुनी ……….वीक्री गर्दा मो रु १। को फलाम धार्नी ४ । डर्का धार्नी ८९ का दरले वीक्री गर्ने फलाम १ हट्टी रकंको ईस्तक संवत् १९७७ साल श्रावण १५ गते देखी ८० साल श्रावण १४ गते तक वर्ष ३ लाई दर वर्ष १ को ठेक् रु ६३७।८७।२८.५ ब्र दस्तुर मौ रु वा समेत रु ६३८।८७।२ का दरले वर्ष ३ को ज्मावेसी जुजुटै मो रु १९१६।६२।२ उन्नाईस सहे सोह्र वयासठ्ठी पैसा दुई दाम् मध्ये पैला सालको ठेक कवुलीयेत भयाका मिति आजै गनी मसुल बुझाउने दोश्रा तेश्रा सालको ठेक बुझने मिति पुग्ने मिति पुग्ने १ मैना अगावै आखाड १५ गते यस अड्डामा गनी मसुल बुझाउने गरी तपशीलका मानिसहरुलाई ध जमानी ली त्री साला ठेक ईजाजत गरी दीञ्यू सो रकमको काम काज गर्दा सावीक गरी खानी खनाई फलाम तयार गर्न लगाई तयारी फलाम मो रु १। को मचुवा धार्नी ६ डर्का १० का दरले सुफत मोल दी खरीद गरी लीनु ठोसे मेगजीनलाई सावीक वमोजिम दीनु पर्ने यचुदा फलाम धार्नी १८४०० अठार हजार चारसहे को मो रु १। को धार्नी ८ का दरले मोल लीनु वाकी फलाम रैती छुतीयामा विक्री गर्दा मोरु १। को मचुवा फलाम धार्नी ४९ डर्का धार्नी ८९का दरले विक्री गर्नु सो बाकीबाट उपजाय ५। का फलाम काचो पाको र सो फलाम १।८ नया र यप्राइ ३ हात हतीयार तयारी माल इ………भोट मुगलान लान पाउने छनौ सो खानीको फलाम ठेकदार वेवरजील अरुले खरीद विक्री गरेको भोट् मुग्ला तर्फ लगेको फेला परे पक्री ६५ साल बैशाख १ गतेका तोक सदर बमोजिम पैला पटक माल जफत गरी र दोस्रा पटक देखी वीगार वीगो वमोजिम दन्ड समेत गरी लीनु भोट् मुग्ला लाने मानिसलाई पक्री नजीक अड्डा अड्डामा …..मा लगी सपुर्त गर्नु यस कांलाई चाहीने कांदार कारींदा खर्च र अरु जो चाहीने खर्च समेत ठेक बाहेक तीम्रा घर घरानाबाट राखी कां चलाउनु यस रकंको ठेक दस्तुर समेत माथी लेखीया बमोजिम साल सालको ठेक मध्ये पैला सालको ठेक दस्तुर आजकै मितिमा गनी महसुल बझाई दोस्रा तेस्रा सालको ठेक साल तमाम हुने १ मैना अगावै आखाड १५ गते गनी महसुल बुझाई रसीद ली मात्र रकं चल गर्नु लेषीयाको मितिमा गनी महसुल गरी बुझाउनु सकेनौ र ठोसे मेगजीनबाट खरीद गर्ने फलाम माथी लेषीया बमोजिम नदी काम अडकायौ र आग्री खनेल रैती दुनियालाई पीर पारी खरीद विक्रीमा घटी बढी पारी खरीद विक्री गर्यौ पानीबाट उपजेको फलाम दुनियामा विक्री नगरी मोगलान नीकासी गर्यौ भने समेत ऐन बमोजिम सजाये समेत गरी तीम्रा नाउमा भयाको षट्टाको मिति नपुगे तापनी तिमिबाट रकं टोडी अरुका साथ बंदोवस्त हुनेछ मेरा नाउमा भयाको यहाको मिति नपुगी मबाट रकं तोडीनु पर्ने होईन भनी खरीद विक्रीको काम गर्दा केही बेहोराले ठेकने छैनौ भनी कीतानी सवालका १ दफा बमोजिम अडैबाट वहालीको पट्टा पुर्जि गरी दीञ्यू आफु खातीर जामासंग त्रीसाल ठेक ईजराजानी रकं चलं गर्ने काम गर ।

तपसील

धं जमानी

पुर्व २ नम्बर ईलाका कोपचे फलाम खानी बस्ने अलसी लामा  २

ईती संवत १९७७ साल श्रावण २१ गते रोज ७ शुभम् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार