रामेछापको ठोसे फलाम खानीको ईतिहास (भाग-१)

रामेछापको ठोसे फलाम खानीको ईतिहास (भाग-१)

(रामेछापको ऐतिहासिक र सांस्कृतिक महत्वलाई प्रवर्दन गर्ने उद्धेश्यले विविध अनुसन्धानमुलक लेख तथा दस्तावेजहरु प्रकाशन गर्ने प्रयास स्वरुप ईरामेछापले यस अघि पनि विविध लेखहरु प्रकाशन गरिसकेको छ । त्यसै क्रममा हामीले आज भन्दा ३३ वर्ष अघि डा.भुपहरी पौडेलद्धारा लिखित पुरातत्व विभागको जर्नल प्राचीन नेपाल, अंक १०३, विसं २०४४ मा प्रकाशित लेख “लोप्राका कागते” शिर्षकको लेखमा उल्लेख भएको ठोसेको मेगजिन उपशिर्षकको अंश साभार गरेका छौँ । सहजताको लागि हामीले यस अंशलाई ठोसे फलाम खानीको ईतिहास शिर्षक दिएर पनि दुई भागमा प्रकाशन गरेका छौँ ।

-सम्पादन टिम)

कागते समुदायका सम्बन्धमा अनुसन्धान गर्दा ठोसेको फलाम खानीका बारेमा पनि उल्लेख गर्नु आवश्यक हुन्छ । (किनकी यो आलेख कागते समुदायको अध्ययनको शिलसिलामा तयार भएको हो-सं.) किनभने मानव जातिको अध्ययन गर्दा उसको बसोबास क्षेत्रमा भएका महत्वपूर्ण कुरालाई प्राथमिकता दिनुपर्ने हुन्छ । लेखाली बाटो भएको हुँदा मेगजिनबाट लोप्रा पुग्न एकदिन लाग्छ तर यी हुई ठाउँको भौगोलिक र व्यावहारिक सम्बन्ध रहेको बुझिन्छ । ठोसेको तल अचेल उच्चारणको सजिलाका लागि मेक्चन भनिन्छ तापनि यसको शुद्ध रुप मेगजिन हो । अब मेगजिनको अर्थ के रहेछ त ? हेरिहालौ ।

“तोप बन्दुक, गोली, गठ्ठा आदि लडाईका सामानहरु बनाउने वा राख्ने ठाउँ ।” हामीले मेगजिनको धर्थ थाहा पायौ । अब यो ठाउँको भौगोलिक परिचय पनि दिउँ ।

मेकचनमा सिन्धुलीतिरबाट आउँदा खुर्कोट, मन्थली, खिम्ती, बन्चरे, वेताली, रस्नालु भएर पुग्न सकिन्छ । त्यसपछि रामेछाप जिल्लाको सदरमुकामबाट सालुपाटी, धोवि, कान्बो, भित्रीखानी, लाप्चाने खानी र तामे डाँडोमा निस्केर मेक्चन पुग्न सकिन्छ । तेस्रो बाटो (जो लामोसाँगु- जिरी सडक निर्माण कार्य पूरा भएपछि बढी मात्रामा चल्तीमा आएको र त्यो भन्दा पहिले कम सख्यामा अन्य ठाउँमा मानिस आउने जाने गरेको पाइन्छ) । काठमाडौबाट सोझै चरिकोट किराँतीछाप बुस्ती (नयाँ पुल), नाम्दुकाभ्रेयार्सा चिसापानी, सिक्री, छयाँगे र कात्तिके हुदै ठोसे मेक्चनमा पुगिन्छ । यसरी अहिलेसम्म पुरानो समयदेखि मानिसहरु आवतजावत गरेको बाटो थाहा भएसम्म यही नै हो । सुनकोशीको गढतीरै गढतीर भएर लिखु, लिखुको गढतीरै गढतीर भुजी, लेखखर्क अथवा भुजीबाट प्रीति, प्रीतिबाट लाप्चाने हुदै ठोसे मेक्चन आइपुगिन्छ । ठोसे गाउँ पञ्चायतको भौगोलिक परिचय यसरी दिन सकिन्छ ।

उत्तरुपूर्व खिम्ती खोलो, पूर्वमा शिवालय, चोर पाताल, दक्षिणतिर सिगटी डाँडो, लाप्चाने, डिगी गाउँ नै यस पञ्चायतको सीमाना तोक्न सकिन्छ । मेक्चन खिम्ती खोलाकै किनारमा पर्दछ । यहाँका जनजातिहरु नेवार (मेक्चन बजारमा छन्) कार्की क्षत्री, बस्नेत क्षत्री, दुइचार घर मगर, केही खनेल (खानी खन्ने भोटे), ठोसे बजारमा ४ घर कामी बसोबास गरेको पाइन्छ । यहाँको उत्पादन जौ, गहु, आलु, भटमास, मकै, कोदो, फापर हो । यस भेगको हावापानी स्वस्थकर छ । यहाँ प्रायः बिहान बेलुका वतास चलिरहने भएको हुदाँ हरेकजसो ऋतुमा जाडोको अनुभव भए पनि शरीरलाई बेफाइदा हुने किसिमको शीत भने नभएको देखिन्छ । मेक्चनका नजीक खिम्ती र ठाडो खोला छन् । यी दुई खोलाको पानी तौलेर हेर्दा ठाडो खोलाको पानी फलाम बगाएर ल्याएको हुँदाँ निकै गर्ह्रौ भएको कुरा प्रत्यक्ष अनुभव भएकै हो । मेक्चनमा एउटा प्राथमिक विद्यालय छ जसमा २०० विद्यार्थीहरु अध्ययन गर्दछन् । एउटा माध्यमिक विद्यालय छ जसलाई शारदा माध्यमिक विद्यालयका नामले पुकारिन्छ, यसमा १२५ जना विद्यार्थीहरु अध्ययन गर्छन् । यो ठाउँमा समय समयमा हिउँ पनि पर्छ । हिउँ चाँडै पग्लन्छ तापनि यसको प्रभाव भने धेरै समयसम्म रही नै रहन्छ ।

मेक्चनमा गणेशस्थान बजारको पुछारमा लक्ष्मी नारायण, बजारकै खलङ्गा चौताराको मूर्ति, (जसलाई शक्ति र शत्तिमान्का रुपमा चिनिन्थ्यो, हाल यो मूर्ति चोरी भएको छ), गोव्रेटार महादेवस्थान यहाँ सधै तपतप पानी चुहिरहन्छ र पानिको रङ पनि केशरीको जस्तै पहेलो छ ।

गणेशस्थानका दुई शिलालेख

क.

१. श्री गणेश जि को परमातामा विर्कोनातिलाल बहादुर

२. को छोरा नालसि नकर्मीले भत्ति पूर्वक चढ्या ये

३. को यो पम्वा सहितको छुचुन्द्रा वहान हो सबै

४. ले बुझनु होला वनाया को मिति येहि सम्बत् यो

५. १९५५ साल चइत कृष्न १८ गते रोज २ मा हो

ख.

१. श्री गणेशायनम् श्री कमला दि गणेशको पीर्ति

२. निमिटः २००९ सालमा ५ गते रोज ३ मा अगिल ग   भ

३. हाल पूर्व २ न ठोसे मेगजिन वस्ने मान्विरको नाति मान सि को छोरा गो लोप्रा

४. विन्दमान लेयो मन्दिर बनाई १०८ घता चढाई पन्च वलिकोपु

५. जागरि भाकल पुर्ण गरेको

चौतारीको शिलालेख

नारायण

लाल बहादुर

लाल नारायण सुभेरनम

वय सम्वत १९७७ साल चैत्र सुदी १० मा रोज ६ शुभम् ।

ठोसे मेक्चनमा पनि अन्य ठाउँमा जस्तै भूतप्रेतप्रति खूबै विश्वास गरिन्छ । हाल छात्रावास भवन नजिकै आजभन्दा केहि वर्ष अगाडी चारकाने जोगी रुखमा झुन्डिएर मरेको हुँदा त्यहाँ असाध्य लाग्ने र तर्साउने गर्दो रहेछ । अझै पनि बिहान झुल्के घाममा र बेलुका अस्ताउन लागेको घामको मुखमा परियो भने डुलुवाले टपक्क टिप्तो रहेछ । एउटा रोचक प्रसङग उल्लेख गरिहालौ म त्यहाँ अनुसन्धानमा जाँदाखेरिकै कुरा हो । बेलुकीपख छात्रावासको विद्यार्थीलाई अकस्मात् लागेछ । विद्यार्थी “मुटु दुख्यो मरे मरे” भनेर छट्पटिन थाले ।त्यही बेला डाक्टरको औषधि ख्वाए, झन् दुख्यो । एकजना मानिसले फुकिदिएपछि विद्यार्थीलाई लागुभागुले क्रमश छोडेर गयो ।

यो ठाउँमा हरेक वर्ष घोडेजात्रा पर्व मनाउछन् । साथै गणेशको रथ बोकेर घुमाउँछन् । यहाँ पनि गाईजात्रा पर्व मनाउँछन् । पाटने, भत्तपुरे, बनेपाली, काठमाडौका नेवारहरुको बसोबास भएको हुँदा आफ्नो- आफ्नो नगरको परम्परा अनुसार ठोसे मेक्चनमा पनि जात्राहरु मनाइन्छ । श्रीकृष्ण जन्माष्टमीको अधिल्लो सप्तमीका दिन भोट र नेपालका बीच युद्ध भएको दिन भनेर यहाँका नवयुवकहरु भोट र नेपालका सेना भएर अभिनय गर्छन् । कृष्णाष्टमीको दिन रोपाई जात्रा मनाइन्छ । बाटाघाटाको दृष्टिले मेक्चनको बाटोले ऐतिहासिक रुप लिएको छ । वि. सं. २०३६ सालसम्म जिरी- ठोसे मेक्चनदेखि शिवालय हुदै सगरमाथा आरोहण गर्न जान्थे । त्यसबेलासम्म दोहोरीलत्त विदेशी पाहुनाहरु यो बाटो हिड्थे । छात्रावास अगाडिको चौरमा पाल टागेर कैयौ विदेशी पर्यटकहरु बस्थे । दिनमा ७००/८०० को सख्यामा मानिसहरु यो बाटो हिड्थे । तेन्जिङ शेर्पा ३/४ पटक यही बाटो हिडेका थिए भने एडमन्ड हिलारीले त कैयौ पटक यहीबाट ‌ओहोरदोहोर गरेका थिए । अहिले मेक्चनबाट पर्यटकहरु हिड्न प्राय बन्द भैसकेको छ । यसको कारण के देखिएको छ भने- पहिलो त मेक्चनदेखि पूर्व सानुसानु पहिरो गएर बाटो बिगारिदिनु, दोस्रो शिवालयमा पक्की पुल बन्नु र तेस्रो चाहि पथप्रदर्शकहरु उकालो ‌ओरालो र घुमाउरो बाटो हिड्न डराउनु नै रहेको बुझिएको छ । अहिले पर्यटकहरु जिरीबाट ठाडो उकालो लागि माली, एलुङ, दोमान हुदै शिवालय पुग्छन् र नाम्चे बजारको बाटो सोझ्याउँछन् । जिरी गाउँ पञ्चायतले लिएको तथ्याङ्क अनुसार प्रतिदिन ७०० सख्याका दरले पर्यटक हिडेको देखियो । अब यहाँनेर एउटा ऐतिहासिक घटनाको उल्लेख गरौ । यसबाट ठोसे मेक्चनको वर्तमान अवस्थाबाट ऐतिहासिक युगमा कस्तो हुदो हो त भन्ने कुराको अनुमान गर्न सकिन्छ भने इतिहास शिरोमणि बाबुराम आचार्यको भनाइमा कतिसम्म सत्यता रहेछ भन्ने कुरा पनि निर्क्योल गर्न सकिन्छ ।

प्रश्नः त्यस समयमा गुँ विहार कसले बनाएको हुन सक्छ ?

उत्तरः त्यो त कुषाण राज्यका मानिसहरु आएर बनाए ।

प्रश्नः कुषाणहरु यहाँ आए भन्ने ऐतिहासिक प्रमाणहरु के दिनुहुन्छ ।

उत्तरः ऐतिहासिक प्रमाण छन् । एक त, कुषाणटक पाइएका छन् । हुन त सग्रहालयमा छन् कि छैनन्, तर यही पाइएका छन् । अग्रेज लेखक वाल्सले लेखेका छन् । यहाँ कुषाणकालमा व्यापार सम्बन्ध हुनाले सो व्यापार सम्बन्धबाट ती टक आएका हुन् भनी उनले लेखेको पाइन्छ । हुन त कुरा त्यही हो ।

प्रश्नः वास्तविक कुरो  त त्यही हो । जबसम्म नेपालमा आफ्ना स्वतन्त्र टक बनेनन्, तब त भारतीय टककै भरमा काम चलाउनु पर्ने भयो । लिच्छवी लेखमा पाइएका कार्षापण, पण पुराण आदिमा एकथरी तामाको पत्र बाहेक अरु हामी हाल पाउँदैनौ । ती अरु त भारतसगको सम्बन्धबाट आएका हुन् कि भन्ने देखिन्छ ।

उत्तरः उनीहरु त्यस्तै भन्छन् । तर त्योभन्दा पहिले कुषाण आएकै छैनन् । ७८ इस्वीभन्दा पहिले त महायानको उदय भएको छैन । महायानको प्रचार नै त्यस समयपछि भयो । त्यहाँभन्दा सभ्यता कहाँबाट आयो ।

प्रश्नः त्यसो भए शिरोमणिज्यू भारतवर्षमा जुन विदेशीहरु आए मुसलमानहरु आए अरु आए त्यहाँको धनको लागि र यस्तै अरु अनेक कारणले आए भने नेपालमा कुषाणहरु के कारणले आए ?

उत्तरः बस् धर्म प्रचार । धर्म प्रचारको जोश जस्तो ठुलो हुन्छ त्यस्तो अरु जोश हुँदैन ।

प्रश्नः त्यो भन्दा अगाडी यहाँको धर्म के थियो ?

उत्तरः कुनै धर्म थिएन । यो भन्दा पहिले तिनीहरु बिलकुल असभ्य थिए । मैले कतिसम्म अनुभव गरे भने तिनीहरुले आफ्ना व्यवहार आफ्नै आविष्कारबाट चलाए । उनीहरुका बसोबासबारे भन्छु कि उनीहरु पहिले त सिन्धुलीबाट आए अरु बाटोबाट आएनन् । सोझो जान सकेनन् कोही त्यहीबाट अगाडी आए कोही त्यहीबाट फर्के । सिन्धुलीबाट आउँदा पनि यो बाटो छल्छ । जब सुनकोशी सीधा पूर्व लाग्छ सीधा पूर्व लाग्दा दायाँपट्टि रामेछाप भन्ने जिल्ला छ त्यहाँ एउटा ठोसे खानी छ । यो खानी कति अजङ्ग छ भने कैयौ लाख मन फलाम त्यहाँ त्यसै छ अहिले दाउराको अभावले मात्र बन्द छ । त्यो ठोसे खानीको फलाम ल्याएर तिनीहरु व्यवहार गर्दथे । त्यहाँबाट फलाम ल्याएर कुटा कोदालो पनि बनाउँदथे । बस बदेललाई समाएर सुगुर बनाए । लुईचेलाई समाएर कुखुरा बनाए । कुकुर भनेको एउटा जनावर क्या हो क्या हो ससारमा जहाँ सुकै पनि पुग्दछ । त्यो आफ्नो जातसग परस्पर विरोधी छ दुइटा कुकुर त मिल्दै मिल्दैनन् । तर मनुष्यको सेवा गर्नुमा कुकुर जस्तो सिपालु कोही छैन त्यो कहाँ कहाँबाट आएको छ । यी तीन पशु सिवाय थिएनन् । यिनीहरु जङगली फलफूलबाट र खेतीसेती गरेर निर्वाह गर्थे ।

यो त भयो इतिहास शिरोमणि बाबुराम आचार्यले नेपाल र एशियाली अध्ययन सस्थानको टोलीलाई दिएको अन्तर्वार्ता । उनले कुषाणहरु नेपालमा धर्म प्रचारको लागि प्रवेश गरेको कुरा उल्लेख गरेका छन् । अब हामीले यी कुषाणहरु को रहेछन् त ? त्यो पनि जान्नु पर्यो ।

किराँत राजाहरु सभवत मथुराका कुषाण राजाका भेषभूषाको अनुकरण गर्थे र सिएको कपडा पहिरन्थे । पशुपतिका मन्दिरमा र अन्यत्र पनि कुषाण राजाका भेषमा रहेका मनुष्याकृति सूर्य मूर्ति पाइन्छन् ती सबै किराँत राजाहरुले बनाएका दखिन्छन् । अब यहाँनेर कुरा के आयो भने यी कुषाणहरु नेपालमा धर्म प्रचार गर्नका लागि सिन्धुलीको बाटो आएका थिए । तिनीहरु ठोसे खानीको फलाम ल्याएर व्यवहार गर्दथे भन्ने जुन भनाइ बाबुराम आचार्यको छ यो झूटो हो भन्ने कुरा मैले ठोसेको फलाम खानी देखेको आधारमा म यसरी प्रमाणित गर्दछु ।

अहिले ईस्वी संवत् १९८८ र  विक्रम संवत् २०४४ साल चलिरहेको छ । यस असाधारण युगमा आइपुगेर मानिसले कैयौ प्रगतिका खुड्किला पार गरिसक्यो  । नेपालमा विकसित मुलुकहरुको दाँजोमा वैज्ञानिक प्रगति नभएको पाइए पनि केही न केही विकास आयोजनाहरु सञ्चालन भैरहेकै छन् । हामी नेपालीहरु पनि अन्य देशहरुको प्रगति देखेर अगाडि बढ्न कम्मर कसिरहेकै छौ ।

(ठोसे फलाम खानीको ईतिहास भाग-२ छिट्टै प्रकाशन गर्नेछौँ । ईरामेछापडटकम हेर्दै गर्नुहोला)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार