विनोद कुमार श्रेष्ठ ।
फेसबुक चलाउदै थिएँ । फेसबुकमै पहिलो पटक तिम्रो स्वास्नीलाई भेटेँ । मैले लेखेको किताब पढेपछि उनले फ्रेण्ड रिक्वेस्ट गरेकी रहिछिन् । मैले एसेप्ट गरेँ । तिम्रो स्वास्नी मेरो फेसबुके साथी भइन् ।
तिम्रो स्वास्नीसँग मेरो म्यासेज आदानप्रदान भयोे । म्यासेजकै क्रममा उनले फ्याट्टै भनिन् – “किताब पढ्दैगर्दा तपाईँलाई मन पराएछु ।”
म छक्क परेँ ।
“किन मन पराएको ?” तिम्रो स्वास्नीलाई सोधेँ ।
“मन पराउनु पाप हो र ?” उनले जबाफ् दिइन् ।
यो जवाफले म छटपटिएँ । यो जवाफप्रति मैले निकै सोचेँ । एकदमै चुप भएर सोच्दै थिएँ म । उनी अफलाइन भइसकेछिन् । मैले रिप्लाइ गरिनँ । यतिकै छुट्यिौँ हामी ।
बेलुकीपख फेरि तिम्रो स्वास्नीको म्यासेज देखाप¥यो । लेखिएको थियो – “मैले मन पराएँ भन्दैमा चक्कर लागेर बेहोस् भयौ कि के हो हिरो ?” झड्का माथि झड्का भेट्दै थिएँ म ।
तिम्रो स्वास्नीले मलाई प्रेम गरेकी हुन् या जिस्केकी ? मैले कुनै भेउ पाउन सकिनँ । यसरी नै बित्न थाले दिनहरू हाँसो, ठट्टा र मजाकहरूमै ।
जब साँझ पर्दै जान्थ्यो, तिम्रो स्वास्नी निकै आक्रमक भाषा प्रयोगमा ल्याउथिन् । यतिखेर मेरो मन यौनको लागि उद्वेलिन्थ्यो । “कसरी लेख्न सकेका हुन् यस्ता कुरा ? छि !” यति लेख्थँे ।
म बिस्तारै उनमा बानी परेँ । रमाइलो लाग्न थाल्यो यस्ता कुराहरू । म तिम्रो स्वास्नीसँग कुरा नभएका दिन निकै छटपटिन्थेँ ।
हामी बीच फेसबुकको म्यासेज त थियो नै । पछि हामी फोनमा पनि ब्यस्त हुन थाल्यौ । घण्टौसम्म चल्थ्यो हामी बीचका कुरा ।
म काठमाडौँ गएँ । मेरो बास कुनै एक पार्टी प्यालेसमा थियो । तिम्रो स्वास्नीले भेट्ने मनसाय गरिन् । मैले म बस्ने ठाउँको ठेगाना दिएँ । तिम्रो स्वास्नीले नै मलाई खोज्दै आइन् । मनमा एक प्रकारको भय थियो, अनि उत्साह पनि । मेरो शरीर देखेर उनले कतै…भन्ने पो हुन् कि ? भय यो मानेमा थियो तर म ढुक्क पनि थिएँ । मेरो शरीरबारे किताबमा सबै कुरा उल्लेख थियो र तिम्रो स्वास्नीलाई पनि बताएको थिएँ ।
जब तिम्रो स्वास्नी मलाई भेट्न मेरो अघि आइन् । जब तिम्रो स्वास्नीलाई मैले पहिलो पटक देखेँ । जवानीको रङ्गमा मस्त देखिएको आकर्षक उनको शरीर, लज्जालुपन, नसालु आँखा, हेर्दै माया गरूँगरूँ लाग्ने उनको अनुहार देखेर म घायल भएँ ।
हामीले सँगै बसेर चिसो खायौँ । उनी यतिखेरसम्म मेरो नजरमा नजर जुदाएर हेर्न सकिरहेकी थिइनन् । कुरा गर्दा पनि अर्कोतिर हेरेर गर्थिन् । शायद हामी बीचको कुराले उनी लजाइन् ।
चिसो सकियो ।
उनले जाने भन्दै विदा मागिन् । “मैले एक फोटो सँगै बसेर खिचौँ न है ?” प्रस्ताव गरेँ । “अहँ हुन्न !” उनले स्वीकार गरिनन् । अन गरेको मोबाइल क्यामेरा फोटो नखिची अफ गरेँ । सँगै बसेर फोटो खिच्न पनि मानिनन् तिम्रो स्वास्नीले ।
कति चलाख है तिम्रो स्वास्नी ।
तिम्रो स्वास्नी घर लागिन् । मेरो मन अनेक कौतुहलतमा रुमलिरहेको थियो ।
बेलुकी हुँदै थियो । म एक्लै छटपटाइरहेको थिएँ । यतिनै खेर फोन आयो । म झस्किएँ । हेरे, तिम्रै स्वास्नीको रहेछ । फोन रिसिभ गरेँ । उनले रिसिभ गर्ने साथ नै सोधिहालिन् – “के गर्दै हो ?”
“बसिरहेको छु ।” यति भन्दै मैले एकछिन एक्लै बस्दाको अनुभव सुनाएँ ।
“कोही साथी छैन र ?” तिम्रो स्वास्नीले सोधिन् ।
“को हुनु र ? यहाँ हे¥यो पनि कुर्सी र टेबल उता हे¥यो भने पनि कुर्सी र टेबल ।” जवाफ फर्काएँ ।
“म आइदिउँ त ?” मैले नसोचेको कुरा भनिन् उनले ।
“आउछ्यौ ? आउन त प्रिया ।” प्रिया भनेरै सम्बोधन गरे तिम्रो स्वास्नीलाई ।
“म आए बापत के दिनु हुन्छ ?” तिम्रो स्वास्नीले प्रश्न थियो ।
अब म छक्क परेँ । के दिने के?म सँग दिने कुरा केही थिएन । न केही दिन नै सक्थेँ ।
मैले नै तिम्रो स्वास्नीलाई सोधे – “के लिन्छौ मबाट ?”
उनले एकछिन पनि नलगाइ भनिन् – “घण्टामा सय किसेस ।”
मलाई लाज लाग्यो । उनी पो विवाहित थिइन् । म त कुमार केटो नै थिएँ । उनको चुम्बन शब्दमा मलाई कोठैमा आएर चुमेको आभास भयो । अनि एउटा मीठो र नरम अनुभूति पनि ।
मेरो रिप्लाइ नगएपछि उनले नै लेखिन् – “ह्या होस् । आउदिन । तिमीलाई मन परेनजस्तो छ ।”
सुन्यौँ,
तिम्रो स्वास्नी त मभन्दा पनि अघि पो निश्किन् । उल्टै उनले किस मागिन् मसँग । हाँसो पनि लाग्यो । पत्यार लागेन तर पनि मन धड्कन थाल्यो ।
“पत्याएनौँ ? आइ एम रियल्ली लब यू हिरो !” तिम्री स्वास्नीले यसै भनिन् ।
“बहुलायौ के हो ? कि साच्चै हो ?” शङ्का व्यक्त गरेँ ।
“किताब पढेँपछि निकै प्रेम गरेँ तर जब मैले पहिलो पटक भेटेँ, तिमीप्रति नै मेरो सारा ध्यान गयो । तिमीप्रति निकै सोचेँ । तिमीलाई आफ्नो मन भरी उतारेँ । यति माया पलायो कि मैले मेरो सारा संसार भुल्न थालेँ ।” उनले बिस्तारै मनको राज खोलिन् ।
यो म्यासेज मैले पटकपटक पढेँ, छक्क परेँ । रमाइलो पनि लाग्यो । उनले भनेको बाक्य आफ्ना अग्रज गुरुलाई सुनाएँ । “यस्ताको पछि लागेर हुन्छ । उल्लु ! यस्तैको आइमाईका कुरा ।” सम्झाउनु भयो ।
तिमी अझैँ सुन्छ्यौँ,
तिमी कतैको यात्रामा निश्कियौ । उनले मलाई जानकारी दिइन् र भनिन् – “आज राति कल गर्ने है ।”
मेरो नाइट कल एक्टिभ थियो । के चाहियो र अब । ५ घण्टा ४५ मिनेट १४ सेकेन्ड कुरा भएछ । तिमी अनुमान पनि लगाउन सक्दैनौ, हामीले घण्टौँ के कुरा ग¥यौँ भन्ने । यतिखेर म पुरै पग्लिएको थिएँ र उनी पनि ।
बिहान आँखा मिच्दै थिएँ, म्यासेजको घण्टी बजिहाल्यो । आँखा मिच्दै हेरेँ – “हाइ डियर, आर यु राइट ? मिस यू ।” लेखेको देखेर छक्क परेँ ।
यही हो मौका ठोक भन्यो मनले । अनि लेखेँ – “विसन्चो बनायौँ । तिमीले म्यासेज गरेपछि बल्ल पो सन्चो भएँ ।” हो ! यस्तै लेखेँ ।
तिम्रो स्वास्नीले मलाईफेरि भेट्न आउँछु भनिन्, ममा खुसीको सीमा रहेन ।
हो, त्यो दिन मैले कल्पना पनि नगरेको सुख पाएँ । उनले हरेक क्षणमा माया साटिन् । तन, मन, शरीर सबै मलाई सुम्पिइन् । तन, मन र शरीर नै सुम्पिएपछि के हुन्छ ? तिमीलाई थाहै छ ।
“सुन्यौँ त ?” अब के नै बाकीँ थियो र हाम्रो दूरी ।
मैले पनि प्रेमको आभास दिलाएँ । उनी निकै खुसी भइन् । उनले जाने बेला भनिन् – “प्रेम भनेको मनसँग छुट्टाएर गर्ने होइन । शरीर र मनसँगै राखेर गर्नुपर्छ ।”
मलाई तिम्रो स्वास्नीको भनाई एकदमै ठीक लाग्यो । तिम्रो स्वास्नीले भनेजस्तै मन र शरीर एउटै त हो भन्ने पक्षमा गएँ म । कसमसे यार ।
खै के हो ? के भो ? तिम्रो स्वास्नीको हरेक शब्द प्रिय लाग्न थाल्यो । तिम्रो प्रेम प्रिय स्वास्नीले मलाई पगालिन् । आफ्नै मान्यता र सिद्धान्त बोकेको म बेकामका ठहरिएँ ।
“थाहाँ छ तिमीलाई ?”
त्यसदिनदेखि आधा रातमा पनि म तिम्रै स्वास्नी सम्झन थालेँ । तिम्रो स्वास्नी मेरो मुटुको धड्कनको नशा झै ढुकढुकी बनेर छाइन् । उनी बिनाको म रित्तो रहेँ । संसार नै शून्य लाग्न थाल्यो ।
हामी एकअर्कामा लिन हुँदै थियौँ । यस्तैक्रममा एकदिन तिम्रो स्वास्नीले मलाई अचम्मको कुरा सुनाइन् – “मेरो त एक छोरा र एक छोरी छ है?” थाहा छ तिमीलाई ।
यतिखेर म छागाँबाट खसेजस्तै भएँ । उनी त तिम्रो स्वानी भइसकेकी रहछिन् । अझ दुई बच्चाको आमा पनि ।
“उफ् !” निकै छटपटिएँ । असाध्यै रिस पनि उठ्यो तिम्रो स्वास्नीदेखि ।
“किन भनेनौ यी सब कुराहरू ?” तिम्रो स्वास्नीलाई तँ नै भनेँ तर मायाले । उसलाई मैले तपाईँभन्दा ऊ कयौँ पटक मसँग झगडा गरिसकेकी थिइन् ।
मेरो कुरामा उनी रिसाइन् । उनले शालीन भाषा प्रयोग गर्दै भनिन् – “तिमीलाई थाहाँ थिएन र ?”
“तिमीले कहिले भन्यौ ?” उल्टै प्रश्न गरेँ ।
“कहिल्यै सुन्ने कष्ट पनि त गरिनौँ ?” तिम्रो स्वास्नीको उत्तर थियो ।
हुन पनि हो । तिम्रो स्वास्नीको के दोष । दोष त मेरै थियो । मैले कहिल्यै परिवार बारे सोधिनँ ।
त्यसपछि मैले तिम्रो स्वास्नीलाई माया मार्न चाहेँ ।माया मार्नको लागि कयौँ प्रयास नगरेको पनि होइन तर मैले सोचेजस्तो हुनै सकेनँ । झन् झाँगिदै गयो उसको र मेरो अबैध प्रेम ।
तिमीलाई एउटा कुरा सत्य भनूँ, तिम्रो स्वास्नीले तिमीलाईभन्दा मलाई बेसी प्रेम गरेको ठान्थेँ । उनले यस्तै आभास दिलाएकी थिइन् मलाई ।
तिम्री स्वास्नीले एकदिन भनिन् – “म पहिलो महिला होइन, लोग्ने हुँदाहुदै अर्कोसँग रात बिताउने । यस्ता कयौँ स्वास्नीहरू छन्, तर लोग्नेले चाल पाउँदैनन् ।”
हुन त म पनि पहिलो पुरुष कहाँ हो र ? अर्काकी स्वास्नीसँग प्रेम गर्ने । कयौँ थिए म जस्ता ।
जम्मा चार पटक भेट भयो तिमी स्वास्नीसँग मेरो । अन्तिम पटक मैले तिमीसँगै हुँदा भेटेँ । भेटमा भन्दा बढी हाम्रो फोनमै कुरा हुन्थ्यो । एउटा कुरा पनि भन्छु, तिमी घरमा नहुँदा त रातै बित्यो गफमा । तिमी घरमा हुँदा पनि तिम्रो आँखा छलेर कयौँ गफ गर्न भ्याउथिन् च्याटमा । उसँग म मैन झैँ पग्लिएको थिएँ । तिम्री स्वास्नी मेरी रातकी रानी थिइन् । प्रिय प्रेमिका थिइन् । म उसको प्रिय प्रेमी बनेँ ।
चौथो पटक भेट्दै थिएँ उनलाई । त्यहाँ तिमी पनि रहेछौ । तिमी देख्ने साथ मेरो बाल्यकाल झलझली नाच्यो । तिमी मेरो बाल्यकालको साथी थियौँ । एक कक्षादेखि एसएलसीसम्म एउटै बेञ्चमा बसेर पढ्ने साथी ।
भेट्नुभन्दा अघि एउटा राम्रो उपहार किनेर ब्यागमा हालेको थिएँ । म कार्यक्रममा पुग्दा तिम्री स्वास्नी मस्किरहेकी थिइन् । त्यही मुस्कान अन्तिम पटक देखेँ तिम्रो स्वास्नीको ।
म उत्साहित थिएँ । मैले मेरो प्रेमिकालाई आँखाभरि उतार्न तल्लिन रहेँ ।
तिमी र ऊ सँगै अघि बढ्यौ । ऊ पनि हाँस्दै र तिमी पनि । तर, यतिखेर उनी मेरो प्रेमिका होइन तिम्रो स्वास्नी बनेर तिम्रो हात समातेर आएकी थिइन् ।
म मरेतुल्य भएँ । मेरो आँखा कालो अधेँरोमा छायो । आफूलाई सम्हाले । आँखा बन्द गरे । खियाँ लागेको दाँत देखाएर हाँसिरहेँ म तिम्रो सामु ।
तिमीलाई थाहाँ छ, मैले किनेको उपहार पनि दिन सकिन तिम्रो स्वास्नीलाई । मलाई पहिलो पटक यति नरमाइलो लाग्यो कि ? यतिखेर मैले बुझे अर्काकी स्वास्नीलाई माया गर्नु पनि निकै ठ्रूलो भुल रहेछ भन्ने कुरा ।
उपहार ब्यागमै थियो । निकालेर दिन पनि मन लागेन । फगत तिम्रो कारणले…. । तिमीले शङ्का गर्छौ भन्ने भयले ।
तिमीलाई थाहाँ छ ? मैले मनमा सजाएको तिम्री स्वास्नीलाई मेरो दिलको हालतको कुनै मतलब थिएनँ ? उनी निकै खुसीका साथ तिम्रो हात समाएर हिँड्दै थिइँ ।
तिम्रो स्वानीले मलाई दिएकोे प्रेमको उपहार यतिखेर मैले पाएँ । त्यो थियो प्रेमिल सजाएँ । यो उपहारको अघि त मेरो उपहार फिक्का भयो ।
बासिस्थान फर्के । बाथरुम छिरेर निकै रोएँ । तिम्रो स्वानीसँग बिताएका पल र फोनमा भएका प्रेमिल कुराहरू आँसुले धोएँ । थोरै मन हलुका भयो । चयनको सास फेरेँ ।
शायद हाम्रो सम्बन्ध गन्तव्यको लागि थिएनँ । न त एकअर्कालाई प्राप्त गर्नु नै थियो । मात्र हामी प्रेम गथ्र्यौ, गहिरो प्रेम । त्यो मेरो भम्र रहेछ । अब मैले यो कुरा बुझ्दै थिएँ ।
अचम्मको प्रेम किन मै माथि मात्र हुनु पर्ने ? कहिलेसम्म यस्तो चल्छ भगवान् …। नढाँटी भनुँ –“साच्चै तिम्रो स्वास्नीसँग मेरो गहिरो प्रेम बसेको थियो । आज पनि बसेकै छ र भोलि पनि बसेकै हुनेछ ।” तर मैले यो ख्याल गरेको छु । मलाई राम्ररी थाहाँ छ । ऊ तिमै स्वास्नी हो । तिमै श्रीमती हो । तिम्रो बच्चाको आमा हो । तिम्रो बुबाआमाको बुहारी र तिम्रो भाइ बहिनीको भाउजु हो । म कसरी भुल्न सक्छु ? तरपनि मेरो मुटुमा गढेको छ, तिम्रो स्वास्नी प्रतिको मेरो प्रेम ।
तिमी र तिम्रो स्वास्नी खुसी रहनु है !