लगातारको स्थायी कमिटी बैठक आह्वान र स्थगनको क्रम चलिरहँदा नेकपाका नेतार्काकर्तालाई उत्कर्षमा पुगेको विवाद मिल्दै होला भन्ने अझैँ पनि लागिरहेको छ । यस बारेमा कतिपय नेकपाका नेताहरूको अभिव्यक्ति सुन्दा पनि त्यसै लाग्छ । तर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध गुटगत बन्द कोठाभित्रको भेलालाई निरन्तरता दिँदै सार्वजनिक रूपमै खरो गरी उत्रिनुभएको छ । हिजो काठमाडौँमा भएको एक कार्यक्रममा प्रचण्डले अर्का अध्यक्ष ओलीप्रति लक्षित गर्दै पार्टी फुटाउन दलभित्रकै नेता सक्रिय रहेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले अर्का प्रधानमन्त्री ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको दाबी गरिरहँदा वरिष्ठ नेता नेपालले आफूसँगै आन्दोलनलाई ‘समाप्त पार्ने मुर्खता’ नगर्न चेतावनी दिनुभयो । यस्को अर्थ यो हो कि पार्टी फुटाउने र आफूलाई समाप्त गर्ने त्यो हदसम्मको मुर्खता प्रधानमन्त्री ओलीबाट भएको नेकपामा नेपाल समूहको निष्कर्ष रहेछ । पार्टीको स्थायी कमिटि बैठकमा प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने प्रचण्ड र नेता नेपाल समूहले माग गरेपछि नेकपामा विवाद उत्कर्षमा पुगेको थियो ।
विवादको घेरा यति उचाइमा पुग्यो कि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउने कोसिस प्रधानमन्त्री ओलीबाट भयो भने प्रधानमन्त्रीले कुनै पनि प्रस्ताव ल्याएमा हतारमा निर्णय नलिन प्रचण्डले राष्ट्रपति विद्या भण्डारीलाई सुझाव दिनु प¥यो । ओली र प्रचण्ड–नेपाल समूह एकअर्काविरुद्ध कठोर निर्णय गर्ने र देखाइदिने तहसम्म पुग्नै लाग्दा प्रचण्डले स्थायी कमिटीको बैठक रोकेर भए पनि विवाद मिलाउने प्रयासमा लागेको देखिन्छ । तर अध्यक्ष ओलीसँगको छलफलमा कहिले एक्लाएक्लै त कहिले सामूहिक रूपमा छलफल गरेर पनि आँखिर प्रधानमन्त्रीले दुवै पद्बाट राजीनामा नदिने र प्रचण्डले दुई मध्ये एक पद छोडेमा तत्कालको विवाद मिलाउन सजिलो हुने अडान नछोड्दा विवाद जस्ताको तस्तै छ ।
यसबीचमा आसन्न पार्टीको महाधिवेशनबाट एकल अध्यक्ष बनाउने प्रचण्डसामु ओलीको प्रस्तावपछि नेकपामा नयाँ मोड आउन नखोजेको हैन तर आफ्नै र नेता नेपाल समूहका नेताहरूको विरोधपछि प्रचण्ड तत्काल ओलीसँग नजिक भएर अघि बढ्ने स्थिति छैन । प्रचण्डको पछिल्लो अभिव्यक्तिले भने नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँगको दुरी बढेको सङ्केत गर्छ ।


			
                                    
                                    
                                    
                                    
                                    
                                    