नुवाकोटका विभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरूको लागि यस वर्षको दैनिक ज्याला दर निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालु आर्थिक वर्ष २०७७÷०७८ को लागि श्रमिकहरूको नयाँ ज्याला दर निर्धारण गरेको हो । श्रमिक सङ्गठन, निर्माण व्यवसायी, नुवाकोट उद्योग वााणिज्य संघ, विकास निर्माणका क्रियाकलाप गर्ने सरकारी कार्यालय लगायतसँगको परामर्श, नेपाल राष्ट्र बैङ्कबाट प्रकाशित ज्यालादर सूचाङ्क तथा उपभोक्ता मूल्य सूचाङ्क, हालको बजार मूल्य र श्रमिकहरूको उपलब्धतालाई समेत आधार मानेर श्रमिकहरूको ज्याला दर निर्धारण गरेको जनाइएको छ । नयाँ जिल्ला दररेटको प्रस्ताव गर्न गठित जिल्ला दररेट निर्धारण उपसमितिका संयोजक एवं जिल्ला समन्वय अधिकारीको अध्यक्षतामा बसेको बैठकले उक्त दररेट निर्धारण गरेको हो ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४८ को उपनियम बमोजिम नुवाकोटको लागि निर्माण सामग्री, ढुवानी, मेसिन तथा कामदारको ज्याला निर्धारण गर्न गठित उपसमितिले पेश गरेको प्रतिवेदन उपयुक्त रहेको भन्दै अनुमोदन समेत गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । निर्धारण गरिएको दररेट अनुसार दक्ष कामदार अन्तरगतको व्लाष्टरले प्रतिदिन १ हजार २ सय रुपैयाँ, रक डिलर, हेभि ड्राइभर, वेल्डर, विस्पोटक पदार्थ ढुवानी गर्ने ज्यामी, डकर्मी, सिकर्मी, नकर्मी, वज्रकर्मी, चित्रकारी, हेभि सुनियर अपरेटर र कम्युटर अपरेटरलाई १ हजार रुपैयाँ ज्याला दर तोकिएको छ ।
अर्ददक्ष कामदाले प्रति दिन ७ सय ६० रुपैयाँ, अदक्ष कामदार अन्तर्गत रहेका ज्यामी, भरिया, ज्यामी नाइके, जुनियर अपरेटर, उत्प्रेरक, हेभी हेल्पर, सर्भे हेल्पर, इटा बनाउने, साधारण हेल्पर, नर्सरी नाइके, क्याम्पर वर्कर, लगायतलाई ७ सय ३० रुपैयाँ तोकिएको छ । यस्तै, मौसम रेकर्डरलाई ५ सय रुपैयाँ, सडकमा काम गर्ने लेन्थ वर्करलाई ४ सय ८० रुपैयाँ, निर्माण सुपरभाइजरलाई ५ सय ६० रुपैयाँ, निर्माण सुपरभाइजर प्राविधिकलाई ७ सय रुपैयाँ निर्धारण गरिएको छ । यस्तै लाइट ड्राइभरलाई ६ सय ६० रुपैयाँ, प्याच वर्करलाई ५ सय ६० रुपैयाँ, लेन्थ कवर सुपरभाइजरलाई ६ सय ४० रुपैयाँ र झाडु लगाउनेलाई ५ सय ४० रुपैयाँ ज्याला दर निर्धारण गरिएको छ । श्रमिकको उमेर १६ वर्ष पार गरेको र दैनिक काम गर्ने अवधी ८ घण्टालाई आधार मानेर यस आर्थिक वर्षको लागि ज्याला दर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ ।


			
                                    
                                    
                                    
                                    
                                    
                                    