काँग्रेसको जरा अभियान बैशाख १ देखि सुरु हुने

काँग्रेसको जरा अभियान बैशाख १ देखि सुरु हुने

नेपाली काँग्रेसले “उत्साह र विश्वासको नयाँ अभियान” नारासहित “जरा अभियान–२०८३” आगामी बैशाख १ गतेदेखि सुरु गर्ने भएको छ। एक महिना सञ्चालन हुने उक्त अभियानमार्फत पार्टीले राष्ट्रिय सन्दर्भमा आफ्नो सोच र सन्देश प्रवाह गर्नुका साथै स्थानीय तहसम्म संगठन सुदृढीकरण र सक्रिय सदस्यता अध्यावधिक गर्ने लक्ष्य लिएको छ।

पार्टीका पूर्व केन्द्रीय सदस्य तथा “जरा अभियान–२०८३” का रामेछापका लागि केन्द्रीय प्रतिनिधि किरण गिरीका अनुसार अभियानले संगठनको आधारलाई मजबुत बनाउँदै पार्टीमा ताजगी अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। फागुन २१ को निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको काँग्रेसले उक्त अभियानमार्फत आफ्नो जिम्मेवारीलाई अझ सशक्त बनाउने जनाएको छ।

अभियान अन्तर्गत राष्ट्रियता, लोकतन्त्र, संघीयता, नागरिक विश्वास, सामाजिक एकता र पार्टी संगठनको “जरा” सबल बनाउने मुख्य उद्देश्य तय गरिएको छ। राष्ट्रिय हितका सवालमा दलहरूबीच सहकार्य बढाउने, विदेशमा रहेका नेपालीहरूको सुरक्षा र अधिकार सुनिश्चित गर्ने, तथा लोकतान्त्रिक मूल्य–मान्यतालाई सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ।

त्यस्तै, संघीय संरचनालाई प्रभावकारी बनाउन आवश्यक कानुन निर्माणमा सहकार्य, प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादन सुधार, र नागरिक विश्वास अभिवृद्धि गर्न राज्य, दल र निजी क्षेत्रबीच सहकार्य विस्तार गर्ने योजना रहेको छ।

अभियानमा सामाजिक एकता सुदृढीकरणका लागि जातीय, वर्गीय, धार्मिक तथा सांस्कृतिक समुदायबीच सद्भाव बढाउने र विभेद तथा विकृतिको नियन्त्रणमा जोड दिइने बताइएको छ। साथै, पार्टीभित्र संवाद र सहकार्य बढाउँदै विभिन्न कारणले टाढिएका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्काउन आह्वान गरिनेछ।

अभियानमार्फत केन्द्रदेखि स्थानीय तहसम्म संगठनात्मक गतिविधि सुदृढ गर्ने र भातृ तथा शुभेच्छुक संस्थाहरूको प्रभावकारिता अभिवृद्धि गर्ने लक्ष्य समेत राखिएको छ। काँग्रेसले अभियान सफल बनाउन सबै तहका नेता–कार्यकर्तालाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार