सामुदायिक मेलमिलापकर्ताहरुलाई मनोसामाजिक परामर्श सम्बन्धी तालिम

सामुदायिक मेलमिलापकर्ताहरुलाई मनोसामाजिक परामर्श सम्बन्धी तालिम

रामेछाप — रामेछाप नगरपालिकाका सामुदायिक मेलमिलापकर्ताहरुलाई मनोसामाजिक परामर्श सम्बन्धी तालिम प्रदान गरिएको छ। आजदेखी सुरु भएको तालिम २५ गतेसम्म संचालन हुनेछ । नगरपालिका तथा स्थानीय विकास प्रशिक्षक प्रतिष्ठानको आयोजना तालिम संचालन भएको हो ।

समुदायमा विवाद निरुपणमा मुख्य भूमिका निर्वाह गर्दै आएका मेलमिलापकर्ताहरुका लागि पछिल्लो समय बढ्दै गएको सामाजिक द्वन्द्व, पारिवारिक समस्या तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित चुनौतीलाई मध्यनजर गर्दै उक्त तालिम सञ्चालन गरिएको हो।

तालिममा मेलमिलापकर्ताहरुलाई मनोसामाजिक समस्या पहिचान गर्ने तरिका,प्रभावित व्यक्तिसँग प्रभावकारी संवाद गर्ने सीप, प्राथमिक मनोसामाजिक सहयोग प्रदान गर्ने विधि तथा आवश्यक परेमा सम्बन्धित निकायमा सिफारिस गर्ने प्रक्रियाबारे प्रशिक्षण दिइएको छ ।

तालिमका प्रशिक्षकहरूले स्थानीय समुदायमा देखिने तनाव, हिंसा,विभेद तथा अन्य सामाजिक समस्याले व्यक्तिको मानसिक स्वास्थ्यमा पार्ने असरबारे जानकारी गराउँदै मेलमिलापकर्ताको भूमिकालाई थप प्रभावकारी बनाउनेमा जोड दिई रहेका छन ।

तालिममा सहभागीहरूले व्यावहारिक अभ्यासमार्फत सिकेका सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की र प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले यस्ता तालिमले समुदायस्तरमै समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।

उनीहरूले मेलमिलापकर्ताहरूलाई स्थानीय स्तरमै विश्वासिलो सहायकको रूपमा विकास गर्नु आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा नगरपालिकाका ९ वटै वडाहरुका सूचिकृत सामुदायिक मेलमिलापकर्ताहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार