रामेछाप नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

रामेछाप नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

रामेछापको रामेछाप नगरपालिकाले विश्व क्षयरोग दिवस मनाएको छ । स्वास्थ्य शाखाको आयोजना र जनस्वास्थ्य कार्यालय रामेछापको सहयोगमा दिवस मनाइएको हो ।

‘हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । रामेछाप अस्पतालका डा.श्रीजन गौतमले कार्यक्रममा क्षयरोग के हो ? यो कसरी लाग्छ ? यसका लक्षणहरु के के हुन ? के के कुरामा ध्यान दिने भन्ने बारेमा जानकारी गराउनुभयो ।

लगातार खोकी लाग्ने, ज्वरो आउने, रोग लागेको लामो समयपछि खोकीमा रगत देखापर्ने, तौल घट्ने र छाती दुख्ने वा असजिलो महसुस हुने जस्ता लक्षण देखा परेमा जाँच गर्न डा. गौतमले सुझाव दिनुभयो ।

क्षयरोगबाट बच्नका लागि चुरोट तथा रक्सी नखान, बढी धुवाँ वा धुलोबाट बच्न, खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख, नाक छोप्न, बालबालिकामा निश्चित समयमा बीसीजी खोप लगाउन र क्षयरोग लागेका व्यक्तिबाट अरुमा सर्ने भएकाले साबधानी अपनाउन उहाँको सुझाव छ ।

रामेछाप नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामशरण पौडेलले कार्यक्रम संचालन गर्नुभयो । कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविका,नगरपालिकाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो । नेपालले अबको ९ वर्ष अर्थात २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार