रामेछाप — पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकाको केन्द्र रामेछाप बजारको सडक अब कालोपत्रेतर्फ अघि बढ्ने भएको छ। अवरोधका रूपमा रहेका घरधनीको विवाद समाधान भएसँगै सडक निर्माणले गति लिने अपेक्षा गरिएको छ।
सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजना अन्तर्गत पर्ने उक्त खण्डमा मापदण्डभित्र परेका अधिकांश घरटहरा भत्काइसकिए पनि दुई घरधनीले मुआब्जा नलिने र घर नहटाउने अडान राख्दै आएका थिए।
वडा नं. ८ को कार्यालयमा वडाध्यक्ष सन्तोषकुमार तामाङको अध्यक्षतामा सरोकारवालासहित बसेको छलफलपछि घरधनी नरबहादुर तामाङ र उद्धवकुमार श्रेष्ठ सहमतिमा पुगेका हुन्। उनीहरूले मुआब्जा लिएर आवश्यक संरचना हटाउन सहमति जनाएपछि अब स्थानीयस्तरको अवरोध हटेको छ।
यससँगै रामेछाप बजार क्षेत्रमा सडक कालोपत्रेको काम सुरु हुने र करिब दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। विकास निर्माणका काममा सहमति, सहकार्य र समन्वय आवश्यक हुने भन्दै वडाध्यक्ष तामाङले स्थानीयवासीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप बजार हुँदै साँघुटारसम्म करिब ५० किलोमिटर लम्बाइको यो सडक भारतीय एक्जिम बैंकको सहयोगमा निर्माण भइरहेको छ। निर्माणको जिम्मा भारतीय कम्पनी टेलिकम्युनिकेसन कन्सल्ट्यान्ट्स इन्डिया लिमिटेड (टीसीआईएल)ले पाएको छ भने उसले नेपाली निर्माण व्यवसायीमार्फत काम गरिरहेको छ।
सन् २०२० नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ मे १० भित्र १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य थियो। तर निर्धारित समयमा काम नसकिएपछि पटक–पटक म्याद थपिँदै आएको छ। अब भने अवरोध हटेकाले निर्माण कार्यले तीव्रता पाउने अपेक्षा गरिएको छ।


