जिल्ला विपद व्यवस्थापन समिति रामेछापको बैठक बसेको छ । यहि चैत्र ८ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा बैठक बसेको हो । जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा बसेको बैठकले विभिन्न २१ बुँदे निर्णय गरेको छ ।
यस्ता छन निर्णयहरु :
१. हालसम्म भएका निर्णयहरूको कार्यान्वयनको अवस्थाका सम्बन्धमा समीक्षा गरियो ।
२. “वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२” का आधारमा डिभिजन वन कार्यालय, रामेछाप मार्फत तयार वन डढेलो रोकथाम र नियन्त्रण कार्ययोजना, २०८२/८३ लाई स्वीकृत गरी कार्यान्वयन गर्ने ।
३. सामुदायिक वनहरूमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गर्ने व्यक्ति÷समूहको पहिचान भएमा जुनसुकै व्यक्तिहरूले पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराउन अनुरोध गर्ने ।
४. सुख्खायाममा आगलागीका घटनाहरू हुन सक्ने हुँदा सबै सुरक्षा निकाय, डिभिजन वन कार्यालय, सामुदायिक वन महासंघ, नेपाल रेडक्रस, संघसंस्था लगायत सरोकारवाला व्यक्ति तथा निकायहरूले एकआपसमा समन्वय गरी आवश्यक तयारी र प्रतिकार्य गर्ने ।
५. हावाहुरी र प्रि–मनसुनको समय सुरु भएको हुँदा विपद्सँग सम्बन्धित विषयगत कार्यालयहरूले आ–आफ्नो कार्यक्षेत्रमा रहेका स्रोत साधनहरू तयारी अवस्थामा राख्ने ।
६. मिति २०८२ चैत्र पहिलो सातामा आएको हावाहुरीबाट विद्यालय तथा सार्वजनिक संरचनाहरूमा भएको क्षतिलाई आवश्यक पुनर्निर्माणका लागि सम्बन्धित निकायमा लेखी पठाउने ।
७. स्थानीय तहबाट जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिसका लागि आएका विपद् सम्बन्धी विषयमा सम्बन्धित निकायमा लेखी पठाउने ।
८. तामाकोशी नदी किनार वरिपरि मन्थली नगरपालिका वडा न ११, १२, १३, १४,८,२,१,६ र ७ मा पर्ने मिल्तीदेखी नुवुघाटसम्मको क्षेत्रमा तामाकोशी नदीबाट कटान हुने भएकाले उक्त स्थानका बस्ती÷खेतीयोग्य जमिन संरक्षणका लागि आवश्यक बजेट व्यवस्थापनका लागि सम्बन्धित निकायमा लेखी पठाउने ।
९. मन्थली नगरपालिका वडा नं. ५ स्थित घाप्चे पहिरोका कारण जोखिममा रहेको बस्ती र उक्त पहिरोबाट मन्थली नगरपालिका वडा नं. १, २, ३, ४, ५ र ६ को रनजोर खोला किनारमा रहेका बस्ती तथा खेतीयोग्य जमिनमा समेत जोखिम सिर्जना भएकोले पहिरो नियन्त्रण गरी बस्ती तथा खेतीयोग्य जमिन संरक्षणका लागि आवश्यक व्यवस्थाका लागि सम्बन्धित निकायमा लेखी पठाउने ।
१०. मन्थली नगरपालिका वडा नं. ७ भटौली र खाँडादेवी गाउँपालिका वडा नं. ४ र ५ को भटौली खोला आसपास क्षेत्रमा खेतीयोग्य जमिन संरक्षण गर्न आवश्यक बजेट व्यवस्थापनका लागि सम्बन्धित निकायमा लेखी पठाउने ।
११. मन्थली नगरपालिका क्षेत्रभित्रको बफरखोला र महादेव खोला आसपास क्षेत्र मन्थली नगरपालिका वडा नं. ८, ९ र १० मा पर्ने खेतीयोग्य जमिन संरक्षण गर्न आवश्यक बजेट व्यवस्थापनका लागि सम्बन्धित निकायमा लेखी पठाउने ।
१२. मन्थली नगरपालिका वडा नं. ९ स्थित थानापति महादेव मन्दिर परिसरको पहिरो नियन्त्रण गर्न आवश्यक बजेट व्यवस्थापनका लागि सम्बन्धित निकायमा लेखी पठाउने ।
१३. रामेछाप नगरपालिका वडा नं. ४ धारापानी बसेरीकोे सेतो पहिरो र सोही नगरपालिकाको वडा नं. ८ स्थित श्री मावि भँगेरी र तामाङ टोलमुनिको पहिरो नियन्त्रणका लागि आवश्यक बजेट व्यवस्थापनका लागि सम्बन्धित निकायमा लेखी पठाउने ।
१४. रामेछाप नगरपालिका वडा नं. ७ रजयछाप बस्ती मुनीबाट पहिरो गई बस्ती जोखिममा परेको भनी रामेछाप नगरपालिका, नगरकार्यपालिकाको कार्यालयको च.नं. १६३७, मिति २०८२/१२/०५ को पत्रबाट लेखी आएको हुँदा सो पहिरो नियन्त्रणका लागि आवश्यक बजेट व्यवस्थापनका लागि सम्बन्धित निकायमा लेखी पठाउने ।
१५. रामेछाप नगरपालिका वडा नं. ७ स्थित सुकाजोर हिलपानी खेलमैदान गत वर्षको वर्षातपछि गएको पहिरोबाट क्षति पुगेको र पहिरो नियन्त्रण गर्न रामेछाप नगरपालिका, नगरकार्यपालिकाको कार्यालयको च.नं. १६३८, मिति २०८२/१२/०५ को पत्रबाट लेखी आएकोले पहिरो नियन्त्रणका लागि आवश्यक बजेट व्यवस्थापनका लागि सम्बन्धित निकायमा लेखी पठाउने ।
१६. सवारी दुर्घटना भई सडकमा पुगेको क्षतिको तत्काल पुनर्निर्माण गर्न डिभिजन कार्यालयले व्यवस्था मिलाउने ।
१७. रामेछाप नगरपालिका र दोरम्बा शैलुङ गाउँपालिकाबाट अस्थायी र स्थायी आवास निर्माणका लागि लाभग्राही कायम गरी लेखी आएको सन्दर्भमा उक्त विवरण रुजु गरी नियमानुसार आवास निर्माणको रकम उपलब्ध गराउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा लेखी पठाउने ।
१८. मिति २०८२/०३/२४ गते रसुवा जिल्लास्थित भोटेकोशीमा आएको बाढीका कारण रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका वडा नं. ४ निवासी प्रहरी सहायक निरीक्षक लाल बहादुर श्रेष्ठको सोही दिन मृत्यु भएकोले सम्बन्धित विपद् सन्दर्भमा तथा सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०७८ अनुसार क.व.५ लाख (१) बमोजिम मृतकका नजिकका हकदारलाई रु. २ लाख सम्बन्धित गाउँपालिकाको मार्फत उपलब्ध गराउन निकासा पठाउने ।
१९. सुनापति गाउँपालिका ३ को केउरानी र साउने बस्ती जोखिमका सम्बन्धमा जिल्ला विपद् व्यवस्थापन समितिको मिति २०८२/०८/०८ को निर्णय अनुसार भौगर्भिक अध्ययन गरी बस्ती स्थानान्तरण गर्न र जोखिम बस्तीका घर क्षति भएका लाभग्राहीहरूलाई अस्थायी आवास निर्माणका लागि रकम उपलब्ध गराउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार, काठमाडौंमा लेखी पठाइएकोमा हालसम्म पनि प्राधिकरणबाट जोखिम बस्ती स्थानान्तरणका लागि कार्य अघि नबढेको र अस्थायी आवास निर्माणका लागि रकम पनि निकासा नभएको हुँदा उक्त बस्ती बाढीको समयमा थप जोखिम हुने भएकाले यथाशीघ्र बस्ती स्थानान्तरण र अस्थायी आवासको रकम निकासा गर्न पुनः प्राधिकरणमा लेखी पठाउने ।
२०. भविष्यमा हुनसक्ने आगलागीका घटनाप्रति सचेत हुँदै सुरक्षित रहन र जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समितिहरू समन्वय गरी जिल्लास्थित पत्रकार महासंघद्वारा स्थानीय सञ्चार माध्यममार्फत सूचनाहरू प्रचार–प्रसार गर्ने ।
२१. विपद्जन्य घटनाबाट हुने क्षतिहरू न्यूनीकरण गर्दै विपद्का घटनाको पूर्व तयारी, उद्धार एवं राहत र पुनर्निर्माण कार्यका लागि सबै निकायबाट आवश्यक तयारी लगायत आ–आफ्नो क्षेत्रबाट क्रियाशील भई समन्वयात्मक रूपमा प्रभावकारी कार्य गर्ने ।




