रामेछापको रामेछाप नगरपालिका–२ मा आज (मंगलबार) पुनः नयाँ निर्वाचन सामग्री तथा थप कर्मचारी पठाउने तयारी गरिएको छ। हिजो निर्वाचन सामग्री बोकेको सवारीसाधन दुर्घटनामा परेपछि क्षति पुगेका सामग्रीको सट्टा नयाँ सामग्री पठाउन लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
दुर्घटनामा ११ वटा मतपेटिकामा क्षति पुगेको थियो। उक्त घटनापछि मतदान कार्य प्रभावित नहोस् भन्ने उद्देश्यले आवश्यक सामग्री पुनः व्यवस्थापन गरी पठाउने तयारी गरिएको हो।
यसैबीच, मतदानस्थलमा पुगिसकेका सहायक मतदान अधिकृतलाई नै मतदान अधिकृतको जिम्मेवारी दिने तयारी गरिएको छ। आकस्मिक परिस्थितिका कारण यस्तो व्यवस्था मिलाइएको जनाइएको छ।
दुर्घटनामा परी मतदान अधिकृत डोरप्रसाद घिमिरे र प्रहरी सहायक निरीक्षक (असई) परशुराम यादवको दुःखद निधन भएको थियो। घाइते सात जनाको काठमाडौँस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ।
आगामी बिहीबार बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि गएराति १२ बजेदेखि मौन अवधि लागू भइसकेको छ। निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई आचारसंहिता पालना गर्न आग्रह गरिएको छ।


