रामेछापमा ४१ मतदान स्थल अति संवेदनशील, कडा सुरक्षा तयारी

रामेछापमा ४१ मतदान स्थल अति संवेदनशील, कडा सुरक्षा तयारी

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रामेछाप जिल्लाका ४१ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । सुरक्षा अवस्थाको मूल्यांकन गर्दै जिल्ला सुरक्षा निकायले यस्तो वर्गीकरण गरेको हो ।

दुई नगरपालिका र ६ गाउँपालिका गरी ६४ वडा रहेको रामेछापमा कुल ९६ मतदान स्थल र २२८ मतदान केन्द्र रहेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा मतदान शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा रणनीति कडाइका साथ लागू गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख (डिएसपी) भोलाकुमार भट्टका अनुसार अघिल्लो निर्वाचनको अनुभव, भौगोलिक बनावट, सुरक्षा पेरिमिटर र पूर्वाधारको अवस्थालाई आधार मानेर मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी वर्गीकरण गरिएको हो । उहाँका अनुसार ४१ वटा अति संवेदनशील, ३५ वटा संवेदनशील र २० वटा मतदान स्थल सामान्य श्रेणीमा परेका छन् ।

उहाँले सुरक्षाको दृष्टिले सामान्य भनिएका मतदान स्थल पनि पूर्ण रूपमा जोखिममुक्त नरहेको उल्लेख गर्दै सम्भावित जोखिमको आकलनका आधारमा सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । अनुगमनका क्रममा करिब १५–१६ मतदान स्थलमा काँडे तार वा सुरक्षा पेरिमिटर नभएको पाइएको र आवश्यक व्यवस्था मिलाउन स्थानीय तहलाई परिपत्र गरिएको उहाँले बताउनुभयो ।

डिएसपी भट्टका अनुसार जिल्लाका ३१ मतदान स्थलमा हाल सीसी क्यामेराबाट निगरानी भइरहेको छ । अन्य स्थानमा पनि सम्भव भएसम्म सीसी क्यामेरा जडान गर्न स्थानीय तह, विद्यालय प्रशासन र मतदान व्यवस्थापन समितिलाई सुझाव दिइएको छ ।

निर्वाचन सुरक्षाका लागि जिल्लामा उपलब्ध प्रहरी जनशक्तिसँगै तालुक कार्यालयबाट थप सुरक्षाकर्मी मगाइएको छ । खटिने प्रहरीहरूलाई युनिटगत रूपमा परिचालन गरिसकिएको र मतदानको ३–४ दिनअघि सम्बन्धित स्थलमा पठाइने तयारी छ । उनीहरूलाई घेरा सुरक्षा, परिचालन विधि तथा आकस्मिक अवस्थाको कार्ययोजनाबारे विस्तृत ब्रिफिङ गरिएको प्रहरीले जनाएको छ ।

कुनै स्थानमा समस्या देखिएमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबीच समन्वय गरी कम्बाइन्ड सुरक्षा रणनीति लागू गरिने सुरक्षा निकायको तयारी छ । हालको तयारीका आधारमा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनेमा जिल्ला प्रहरी कार्यालय विश्वस्त रहेको डिएसपी भट्टले बताउनुभयो ।

यसैबीच, जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार जिल्लामा १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन् । त्यसमध्ये २ हजार ४२२ अस्थायी मतदाता रहेका छन् । निर्वाचनमा तीन जना स्वतन्त्रसहित १४ राजनीतिक दलका गरी १७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार