नेकपा (एमाले) रामेछापले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीको सम्पूर्ण शक्ति निर्वाचन परिचालनमा केन्द्रित गर्ने निर्णय गरेको छ।
पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा तथा केन्द्रीय कमिटी सदस्य माधवप्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यतामा शनिवार मन्थलीमा सम्पन्न एमाले जिल्ला कमिटी रामेछापको सातौँ विस्तारित बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा केन्द्रीय कमिटी सदस्य गीता कार्की, बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, प्रदेश कमिटी सदस्यलगायतको सहभागिता रहेको थियो। बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ सूर्यध्वजावाहक उम्मेदवार माधवप्रसाद ढुङ्गेल र समानुपातिकतर्फ राजकुमार श्रेष्ठलाई विजय गराउन चुनावी कार्यक्रमलाई अझ सशक्त बनाउने निर्णय गरेको छ।
एमाले रामेछापका प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठका अनुसार निर्वाचन लक्षित घरदैलो अभियान, प्रचार–प्रसारमा नेता, कार्यकर्ता तथा जनताको सक्रिय सहभागिता सुनिश्चित गर्दै अभियानलाई अझ प्रभावकारी र तीव्र बनाइने निर्णय गरिएको छ।
बैठकले जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको संयोजकत्वमा ५५१ सदस्यीय प्रतिनिधिसभा निर्वाचन मूल परिचालन कमिटी गठन गरेको छ। साथै, निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि संयोजन तथा समन्वय संयन्त्र समेत गठन गरिएको छ।
उक्त संयन्त्रको संयोजकमा केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार माधवप्रसाद ढुङ्गेल रहेका छन्। संयन्त्रका सदस्यहरूमा केन्द्रीय कमिटी सदस्य गीता कार्की, पूर्व केन्द्रीय सल्लाहकार परिषद् सदस्य कमलप्रकाश सुनुवार, समानुपातिक उम्मेदवार राजकुमार श्रेष्ठ, प्रदेश कमिटीका वर्तमान तथा पूर्व सदस्यहरू, साथै प्रदेश सल्लाहकार परिषद्का सदस्यहरू रहेका छन्।
त्यसै गरी, एमाले रामेछापका उपाध्यक्ष होतराज ढकालको संयोजकत्वमा निर्वाचन परिचालन आर्थिक उपसमिति गठन गरिएको छ। उक्त उपसमितिमा रामेछाप–काठमाडौँ सम्पर्क कमिटी अध्यक्ष प्रमोद भण्डारी (रवीन्द्र) तथा जिल्ला आर्थिक विभागका सचिव र सदस्यहरू रहेका छन्।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठको संयोजकत्वमा ४१ सदस्यीय निर्वाचन प्रचार–प्रसार उपसमिति पनि गठन गरिएको छ। उपसमितिमा पार्टीका प्रचार विभागका पदाधिकारी, पालिका कमिटीका प्रचार प्रमुखहरू, प्रेस चौतारी नेपाल, जनसङ्गठनका प्रचार विभाग प्रमुख तथा विभिन्न सञ्चार माध्यममा आबद्ध व्यक्तिहरूलाई समेटिएको छ।
बैठकले पार्टी हित र निर्देशन विपरीत गतिविधि गरेको तथा अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै जिल्ला कमिटी सदस्य लवहरि बुढाथोकी र राजकुमार मैनालीलाई पार्टी विधानबमोजिम जिम्मेवारीबाट बर्खास्त गर्ने र पार्टी सदस्यता समेत निलम्बन गर्ने निर्णय गरेको छ।


