मेरो उम्मेदवारी समग्र सुसंस्कृत राजनीतिको लागि : डा.कृष्णहरी बुढाथोकी

मेरो उम्मेदवारी समग्र सुसंस्कृत राजनीतिको लागि : डा.कृष्णहरी बुढाथोकी

फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ एक निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा १७ जनाले मनोनयन दर्ता गराएका छन । राष्ट्रिय स्वतन्त्र पाटीबाट डा. कृष्णहरी बुढाथोकीले पनि मनोनय दर्ता गराउनुभएको छ । हामिले डा. कृष्णहरी बुढाथोकीलाई सोधेका छौँ :

प्रतिनिधि सभामा तपाईको उम्मेदवारी किन ?

मेरो उम्मेदवारी समग्र यो सुसंस्कृत राजनीतिको लागि,यो नैतिकवान राजनीति निर्माणको लागि हो । जब देशको विकास हामी खोजिरहेका छौँ भनेदेखि पहिला त देशका नीति बनाउने कुराहरू, विकासका नीति बनाउने कुराहरूमा राजनीतिले महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले राज्यका नीति निर्माणमा सुसंस्कृत राजनीतिले महत्त्वपूर्ण भूमिका खेल्छ ।

सुसंस्कृत राजनीति निर्माण गर्ने मेरो पहिलो अभियान छ भने, दोस्रो समग्रतामा रामेछाप विकास बहस अभियान देखि समेत रामेछापको अभियानहरूमा म मसिनो ढङ्गले रामेछापसँग जोडिरहेको सामाजिक मानवीय कर्महरूमा म पनि जोडिरहेको सन्दर्भमा र मैले पनि विकास अर्थशास्त्रमा डक्टर अफ फिलोसोफी इन इकोनोमिक्स (PhD in Economics) पनि हासिल गरेको, अध्ययन अनुसन्धान गरेको हिसाबले आफूले गरेका अध्ययन अनुसन्धानलाई पनि आफ्नो गाउँ, जन्मस्थान रामेछापलाई माया गर्नुपर्छ भन्दै अगाडि बढिरहेको एउटा व्यक्ति, एउटा शुभेच्छुक, एउटा चाहिँ जन्म थलोको रूपमा मैले आफ्नो जन्मभूमिमा भूमिका खेल्नुपर्छ भन्ने लाग्छ ।

आफ्ना अध्ययन अनुसन्धानलाई यहाँ प्रयोग गर्नुपर्छ र समृद्ध रामेछापको लागि प्रयोग गर्नुपर्छ, समग्र राष्ट्र विकासको लागि प्रयोग गर्नुपर्छ, समग्र मानव हितको लागि प्रयोग गर्नुपर्छ भन्ने हिसाबले मैले उम्मेदवारी दिएको हुँ ।

मैले मेरो एउटा व्यवसायलाई त्यागेर व्यक्तिगत सुख सयललाई त्यागेर रामेछापको दुःख सुखमा साथ र सारथी बन्नलाई म आएको छु ।अहिलेका जनतामा राजनीतिक चेतना अत्याधिक बढेको छ । त्यो भनेको समग्रमा रामेछापको चाहिँ विकास र समृद्धिको लागि जो अहिले आफ्नो गाउँ जन्मस्थान छोडेर विदेशिनु पर्ने बाध्यता छ, त्यो अवस्थालाई मुक्त गर्न पनि हाम्रो एउटा दायित्व छ ।

ती व्यक्तिहरूलाई यहाँ रामेछापमा ल्याएर उद्यमशीलता र उत्पादन अभिवृद्धि गर्ने, बजारीकरणमा लाग्ने र समग्र उद्योग उद्यमशीलता वृद्धि गर्ने एउटा अभियानमा मेरो भूमिका रहने छ । त्यसकारणले पनि यहाँका जनताले मलाई माया गर्नुहुनेछ भन्ने लागेको छ । अर्को म जनताको आवाजहरूलाई जनसंवाद मार्फत,अन्तरक्रिया मार्फत मैले माथिल्लो संसदमा अथवा केन्द्रमा राज्यका नीति निर्माणमा विकास नीति निर्माणमा मैले त्यसलाई प्रयोग गर्नेछु ।

यहाँहरूको आवाजलाई, यहाँ रामेछाप बासीहरूको आवाजलाई एउटा अस्त्रको रूपमा, माध्यमको रूपमा म एउटा मेडिएटरको रूपमा उपस्थित भएर साँच्चिकै यहाँका समस्याहरू,यहाँका चुनौतीहरूलाई मैले समाधान गर्नलाई निरन्तर रूपमा एउटा श्रमशील र सृजनशील भएर लाग्नेछु । त्यसकारणले पनि यहाँका जनताले पक्कै पनि विश्वास गर्नुहुनेछ भोट दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार