आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रामेछापबाट प्रमुख दलहरूले आफ्ना उम्मेदवार टुंग्याएका छन्। मुख्य चार दलका उम्मेदवार सार्वजनिक भएपछि जिल्लामा चुनावी प्रतिस्पर्धा औपचारिक रूपमा चहलपहल देखिन थालेको छ।
नेपाली कांग्रेसले फेरी पनि पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई उम्मेदवार बनाएको छ। यस अघि पनि चुनाव जितेर उर्जा,जलश्रोत तथा सिँचाई राज्य मन्त्री बन्नु भएका कान्छारामलाई यस पटक पनि नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ ।
नेकपा एमालेले माधव ढुङ्गेललाई चुनावी मैदानमा उतारेको छ। एमालेका स्थानीय संरचनाले ढुङ्गेललाई बलियो उम्मेदवारका रुपमा अघि सार्दै चुनावी तयारीलाई गति दिएको छ। ढुङ्गेल एमालेका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्जसमेत हुनुहुन्छ ।
नेपाली कम्युनिस्ट पार्टीले श्यामकुमार श्रेष्ठ ‘कुशल’लाई प्रतिनिधिसभामा प्रतिस्पर्धाका लागि अघि सारेको छ। पूर्व गृह राज्य मन्त्री भैसकेका नेता ‘कुशल’लाइ नेकपाले आसन्न निर्वाचनको उम्मेदवार बनाएको हो ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा.कृष्णहरि बुढाथोकीलाई उम्मेदवार बनाएको छ। डा. बुढाथोकीले विभिन्न विषयमा मास्टर डिग्री हासिल गर्नुका साथै अर्थशास्त्रमा विद्यावारिधी गर्नुभएको छ । बैंक तथा वित्तीय संस्थामा लामो समय काम गर्नु भएका बुढाथोकी बौद्धिक व्यक्तिमा पर्नुहुन्छ ।
जिल्ला स्थित अन्य राजनितिक दलहरुले पनि उम्मेदवार छनोट गरिरहँदा मुख्य प्रतिस्पर्धा भने काँग्रेस,एमाले,नेकपा र रास्वपाबिच नै हुने आँकलन गरिएको छ । उम्मेदवारहरु सार्वजनिक भएपछि रामेछापमा बहुदलीय प्रतिस्पर्धा थप रोचक बन्ने देखिन्छ । मंगलबार उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेको छ ।


