फागुन २१ को निर्वाचन : रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

फागुन २१ को निर्वाचन : रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार उक्त कार्यालय जिल्ला अदालत परिसरमा बुधवारदेखि सञ्चालनमा आएको हो।

निर्वाचनको सम्पूर्ण प्रक्रिया यसै कार्यालयमार्फत सञ्चालन हुनेछ। उम्मेदवार मनोनयन, आचारसंहिता कार्यान्वयन, मतदान तथा मतगणना, मतपरिणाम प्रकाशनदेखि अन्य प्रशासनिक समन्वयसमेत कार्यालयले गर्नेछ। निर्वाचन व्यवस्थापनका संवेदनशील कामहरू हुने भएकाले कार्यालयको नेतृत्व जिल्ला अदालतका न्यायाधीशले गर्ने व्यवस्था आयोगले गरेको छ।

कार्यालय स्थापना कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय प्रमुख, सुरक्षा निकायका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता थियो। निर्वाचन तयारीको जिम्मेवारी भएका निकायको उपस्थिति र सहकार्यले निर्वाचन कार्य अघि बढ्ने संकेत गरेको सहभागीहरूले बताए।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएसँगै जिल्लामा निर्वाचनको वातावरण तातिन थालेको छ। स्थानीय तहदेखि राजनीतिक दल, सम्भावित उम्मेदवार र मतदाताबीच आगामी निर्वाचनको तयारी र चासो बढेको देखिन थालेको छ। निर्वाचन आयोगले तोकेको समयतालिका अनुसार अब दल तथा उम्मेदवारहरूले मनोनयन, प्रचारप्रसार, मतदाता शिक्षा र निर्वाचन आचारसंहिता पालनासम्बन्धी विषयमा सक्रियता बढाउने अपेक्षा गरिएको छ।

जिल्लामा मतदाता संख्या, मतदान केन्द्रको व्यवस्थापन, सुरक्षा योजना र सामग्री आपूर्तिसम्बन्धी काम पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला निर्वाचन कार्यालयसँग समन्वय गर्दै अघि बढाउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार