रामेछापको मन्थली नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरण तथा कृषकको व्यावसायिकता प्रवद्र्धन गर्ने उद्देश्यले यही पुस २६ र २७ गते नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गर्ने भएको छ। नगरपालिकाले बिहीबार मन्थलीमा पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
मेला मन्थली नगरपालिका–१ स्थित हाटे चौर (सोमबारे हाट परिसर) मा दुई दिन सञ्चालन हुनेछ। पत्रकार सम्मेलनमा मन्थली नगरपालिका–१३ का वडा अध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक नवराज थापामगरले मेलाको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो।
संयोजक थापामगरका अनुसार हालसम्म प्रदर्शनीका लागि ८५३ वटा स्टलका आवेदन प्राप्त भएका छन्। जसअन्तर्गत तरकारी, फलफूल तथा नर्सरीलगायत कृषि बालीका ३६८, पशुपन्छीतर्फका ८६८ र लघु उद्यमका ८११ वटा स्टल रहनेछन्। सहभागी कृषक तथा उद्यमीका लागि नगरपालिकाले निःशुल्क स्टलको व्यवस्था गर्नुका साथै आवास, भोजन र सामग्री ढुवानीमा सहुलियत उपलब्ध गराउने व्यवस्था मिलाएको उहाँले बताउनुभयो।
“कृषकले उत्पादन गरेका वस्तुको प्रवद्र्धन गर्ने तथा आपसी सीप आदानप्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो,” उहाँले भन्नुभयो, “विगतका अनुभवका आधारमा यसपटक मेलालाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रयास गरिएको छ।”
नगरपालिकाका अनुसार गत वर्ष आयोजित मेलामा करिब सात हजार दर्शकले अवलोकन गरेका थिए भने करिब दस लाख रुपैयाँ बराबरको उत्पादन बिक्री भएको थियो। मेलामा सहभागीमध्ये विभिन्न ८१० विधामा उत्कृष्ट हुने कृषक तथा उद्यमीलाई जनही छ हजार सात सय रुपैयाँका दरले पुरस्कृत गरिने प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले जानकारी दिनुभयो।
उहाँका अनुसार संयोजक थापामगरको नेतृत्वमा छ सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको छ। मूल्याङ्कन प्रक्रियालाई पारदर्शी बनाउन संयोजक बाहेकका अन्य सदस्यले मात्र अङ्क प्रदान गर्ने व्यवस्था गरिएको छ। नगर सभाको १७औँ अधिवेशनबाट विनियोजित छ लाख रुपैयाँ बजेट मार्फत कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ।


