आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रामेछाप जिल्लामा मतदाता संख्या उल्लेख्य रूपमा बढेको छ। अघिल्लो निर्वाचनको तुलनामा ७ हजार ८४६ जना नयाँ मतदाता थपिनु केवल संख्यात्मक वृद्धि मात्र होइन, लोकतान्त्रिक प्रक्रियामा नयाँ पुस्ताको बढ्दो चासो र सहभागिताको संकेत पनि हो।
२ नगरपालिका र ६ गाउँपालिका समेटिएको रामेछाप जिल्लामा ६४ वडा रहेका छन्। यहाँ यसपटक कुल मतदाता संख्या १ लाख ८७ हजार ९५२ पुगेको छ, जुन २०७९ सालको निर्वाचनमा रहेको १ लाख ८० हजार १०६ भन्दा ४.३५ प्रतिशतले बढी हो। यस वृद्धिले निर्वाचन व्यवस्थापनमा पनि नयाँ तयारी आवश्यक बनाएको छ।
जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार मतदाता संख्या बढेसँगै दुई वटा मतदान केन्द्र थप गरिएको छ। “मतदान स्थल अघिल्लोकै ९६ वटा कायम छन्, तर केन्द्र दुई थपिएर २२८ पुगेका छन्,” उहाँले भन्नुभया े। उहाँका अनुसार यसले मतदातालाई सहज रूपमा मतदान गर्न मद्दत पुग्नेछ।
थप गरिएका मतदान केन्द्रमध्ये एक उमाकुण्ड गाउँपालिका–५ स्थित सरस्वती माध्यमिक विद्यालय, सुनुवारधारामा र अर्को मन्थली नगरपालिका–११ स्थित मनकामना माध्यमिक विद्यालय, नाटिलामा रहेको छ। सरस्वती माविमा ९० जना र मनकामना माविमा १८२ जना नयाँ मतदाता थपिएका छन्।
कुल मतदातामध्ये पुरुष ९६ हजार ८९२ र महिला ९१ हजार ६० जना छन्। महिला मतदाताको संख्या पनि उल्लेख्य रहेकाले समावेशी लोकतन्त्रतर्फको यात्रामा रामेछाप अघि बढिरहेको संकेत देखिन्छ।
नयाँ मतदाता थपिनुको मुख्य कारण भने नवयुवाहरूको सक्रियता हो। गत भदौ २३ र २४ गतेको आन्दोलनपछि बनेको अन्तरिम सरकारको निर्णयअनुसार असोज ९ देखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली संकलन गरिएको थियो। यस अवधिमा झण्डै ६ हजार जनाले पहिलो पटक मतदाता नाम दर्ता गराएका थिए।
जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने र नामावलीमा नाम दर्ता भएका नागरिकलाई यस निर्वाचनका लागि मतदाता कायम गरिएको छ। यसले धेरै युवालाई पहिलो पटक मताधिकार प्रयोग गर्ने अवसर दिएको छ।
लोकतन्त्रमा मतदाताको भूमिका निर्णायक हुन्छ। रामेछापमा बढ्दो मतदाता संख्या र नयाँ पुस्ताको सहभागिताले आगामी निर्वाचन केवल औपचारिक प्रक्रिया मात्र नभई जनचासो र अपेक्षाले भरिएको राजनीतिक उत्सव बन्ने संकेत देखाएको छ।


