रामेछाप जिल्लामा क्रियाशील पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । यहि पौष १६ देखि सुरु भएको तालिम पौष १८ गतेसम्म चलेको हो ।
संचार रजिष्ट्रारको कार्यालय हेटौँडाको प्राविधिक सहयोग र नेपाल पत्रकार महासंघ रामेछापको आयोजनामा तालिम भएको हो । मन्थलीमा आयोजना गरिएको उक्त तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो ।
तालिमको समापन कार्यक्रममा बोल्नुहुँदै मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले प्रविधिको विकाससँगै पत्रकारिताको स्वरूप पनि परिवर्तन हुँदै गएको उल्लेख गर्नुभयो । उहाँले एआई प्रविधिको सही र जिम्मेवार प्रयोगले समाचार संकलन, सम्पादन तथा प्रसारणलाई अझ प्रभावकारी बनाउन सक्ने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित सञ्चार रजिष्टार रेवती सापकोटाले पत्रकारितामा एआईको प्रयोगले अवसरसँगै चुनौती पनि ल्याएको बताउनुभयो । उहाँले एआई प्रयोग गर्दा तथ्य जाँच, आचारसंहिता र पत्रकारिताको मौलिक मूल्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
तालिममा एआईको आधारभूत अवधारणा, समाचार लेखनमा एआईको प्रयोग, तथ्य जाँच, तस्बिर तथा भिडियो सामग्री निर्माण, डिजिटल सुरक्षा र पत्रकारितामा एआई प्रयोग गर्दा अपनाउनुपर्ने नैतिक मापदण्डबारे प्रशिक्षकहरु अजय शर्मा र शिव पुरीले सहजीकरण गर्नुभएको थियो ।
तालिमले आधुनिक प्रविधि बुझ्न र व्यवहारिक रूपमा प्रयोग गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन् । पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक कुमार घिमिरेले यस्ता तालिमले स्थानीय पत्रकारितालाई समयानुकूल, प्रभावकारी र विश्वासिलो बनाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


