रामेछाप नगरपालिकामा ईसिडी हार्मेनी परियोजनाको वार्षिक समिक्षा

रामेछाप नगरपालिकामा ईसिडी हार्मेनी परियोजनाको वार्षिक समिक्षा

रामेछापको रामेछाप नगरपालिकासँगको सहकार्यमा चाइल्ड एड नेटवर्क फाउन्डेसनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्राविधिक सहयोगमा सञ्चालित ईसिडी हार्मोनी परियोजनाले एक वर्षभरी गरेको कामको समिक्षा गरिएको छ ।

शनिबार(आज) नगरपालिकाको सभाहलमा परियोजनाको वार्षिक समिक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । परियोजनाले एक वर्षभरी गरेका कामहरुको बारेमा परियोजना संयोजक मैयाँ बस्नेतले जानकारी गराउनुभयो । उहाँका अनुसार जिल्लाको तिन वटा पालिकामा यो परियोजनाले काम गरिरहेको छ ।

प्रारम्भिक बाल विकासको क्षेत्रमा भएका मुख्य मुख्य काम तथा उपलब्धिहरुको बारेमा जानकारी गराइएको हो । परियोजनाले विद्यालयहरुमा कक्षाकोठा व्यवस्थापन,बाहिरी खेल समाग्रीको व्यवस्थापन,विद्यालयमा घेराबार गर्नमा सहयोग,शैक्षिक सामाग्रीहरु सहयोग,शिक्षक अभिभावक तथा जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम,अभिभावक शिक्षा जस्ता कार्यक्रमहरु गरिसकेको छ । ईसिडी शिक्षिकहरुको घुम्ती बैठक,सबै वडाहरुमा प्रारम्भिक बाल विकास समिति गठन गर्ने काम समेत भैसकेको परियोजना संयोजक बस्नेतले बताउनुभयो ।

समिक्षा कार्यक्रममा परियोजनाले विगत एक वर्षमा हासिल गरेका उपलब्धिहरू, सामना गरिएका चुनौतीहरू तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो। प्रारम्भिक बालविकासको गुणस्तर सुधार, बालमैत्री शिक्षण सिकाइ वातावरण सिर्जना तथा शिक्षकहरूको क्षमता अभिवृद्धिमा परियोजनाले सकारात्मक योगदान पु¥याएको सहभागीहरूले बताएका छन् ।

ईसिडी शिक्षक गिता खत्रीले परियोजनाले आफ्नो विद्यालयमा काम थालेदेखी विद्यालयमा निमित रुपमा बालबालिका उपस्थित हुने गरेको बताउनुभयो । आफुलाई पनि नियमित रुपमा विद्यालय जान जाँगर चलेको उहाँले सुनाउनुभयो । शिक्षण सिकाईका लागि आवश्यक सम्पुर्ण शैक्षिक सामाग्रीहरु परियोजनाले सहयोग गरेकाले बालबालिकाहरु खेल्दै,रमाएर पढ्ने गरेको उहाँले बताउनुभयो ।

अभिभावक शिक्षा सहजकर्ता सलिना दर्लामी मगरले अभिभावहरुले प्रारम्भिक बाल विकासको बारेमा बुझेपछि समुदायमा राम्र्रो प्रभाव परेको बताउनुभयो । उहाँहरु निकै उत्साहका साथ हरेक बैठकमा उपस्थित हुने गरेको उहाँले सुनाउनुभयो ।

शारदा संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद घिमिरेले परियोजनाको सहयोगले अहिले विद्यालयको परिवेशन नै फरिएको बताउनुभयो । कक्षा इसिडी र एकका लागि विभिन्न सहयोग भएजस्तै अन्य कक्षाहरुको कोठा व्यवस्थापनमा पनि सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले प्रारम्भिक बालशिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउँदै ईसिडी हार्मेनी परियोजनाले समुदायस्तरमा सचेतना वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले अब छिट्टै अभिभावक मेला आयोजना गर्ने तयारी भैरहेको बताउनुभयो । सो मेलामा अभिभावकहरुको उल्लेख सहभागिता गराउने उद्धेश्यले परियोजनासँग साझेदारी गरेर काम गरिने उहाँको भनाई छ ।

आगामी दिनमा परियोजनाका गतिविधिहरू अझ प्रभावकारी र दिगो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ । परियोजना कार्यान्वयन भइरहेका क्षेत्रका सरोकारवाला निकाय,शिक्षक,अभिभावक,जनप्रतिनिधि तथा परियोजनासँग आबद्ध प्रतिनिधिहरूको कार्यक्रममा सहभागितामा रहेको थियो । समिक्षा कार्यक्रम सुझाव संकलन तथा अनुभव आदान–प्रदानसँगै समापन गरिएको थियो। कार्यक्रम रामेछाप नगरपालिकाका बाल विकास संयोजक सरोज श्रेष्ठले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार