रामेछाप जिल्लाको मन्थली नगरपालिका–४ मा निर्माण सम्पन्न भएको वडा कार्यालय भवनको बिहीबार (आज ) एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले रिबन काटेर भवन उद्घाटन गर्नुभयो ।
स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उपस्थितिमा उक्त भवनको उद्घाटन गरिएको हो। स्थानीय सरकार संचालनमा आएपछि बल्ल यो वडाले आफ्नै भवन पाएको हो ।
नवनिर्मित वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका प्रमुख श्रेष्ठले वडा कार्यालय भवनले सेवा प्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय तहलाई थप सशक्त बनाउने उद्देश्यअनुसार पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो।
वडा नं ४ का वडाअध्यक्ष राजन घिमिरेले नयाँ भवन निर्माणपछि सेवाग्राहीले एउटै स्थानबाट छिटो र सहज रूपमा सेवा पाउने उल्लेख गर्नुभयो। साथै, भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा जनमुखी सेवा प्रवाहमा अझै सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो।
स्थानीयवासीहरूले पनि वडा कार्यालयको आफ्नै भवन बनेपछि सेवा लिन सहज भएको प्रतिक्रिया दिएका छन्। कार्यक्रमको अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो।




