रामेछापको उमाकुण्ड गाउँपालिकाले निशुल्क शिक्षक सेवा तथा लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । आफ्ना नागरिकलाई सरकारी जागिरे बनाउन निशुल्क तयारी कक्षा सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले जानकारी दिनुभयो ।
पालिकाले शिक्षक सेवा तथा लोकसेवा आयोगको परीक्षामा सहभागी हुन इच्छुक नागरिकलाई लक्षित गरी निशुल्क तयारी कक्षा सञ्चालन गर्नेछ । पालिकाको नागरिकहरुलाई सरकारी जागिरमा प्रवेश गराउने उद्देश्य सहित कक्षा सञ्चालनको तयारी थालिएको प्रमुख प्रशासकीय अधिकृत भुजेलले बताउनुभयो ।
पालिकामा स्थायी बसोबास गर्ने कक्षा १२ उत्तीर्ण गरेका युवाहरुलाई संघीय लोकसेवा आयोगले लिने नायब सुब्बा (अप्राविधिक) एंव बागमती प्रदेश लोक सेवा आयोगले लिने पाँचौ तह (अप्राविधिक) र शिक्षक सेवा आयोगले लिने प्राथमिक तहको तयारी कक्षा सञ्चालन हुने छ । कक्षामा सहभागी हुन इच्छुक युवाहरुले पुस १० गतेभित्र आवेदन फारम भर्न गाउँपालिकाले एक सूचना मार्फत आग्रह गरेको छ ।



