रामेछापको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ भौगोलिक हिसाबले नगरको विकट वडा हो । नगरपालिकाको केन्द्रबाट टाढा रहेको गोठगाउँका नागरीकलाई पालिकाको सेवा लिन आउन निकै टाढा पर्छ । यहि समस्यालाई मध्येनजर गर्दै नगरपालिकाले बुधबार गोठगाउँमै पुगेर घुम्ती शिविर सहितको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
नगरपालिकाबाट प्रवाह हुने अधिकांश सेवाहरु गाउँमै पुगेर प्रदान गरिएको हो । गाउँमै सबै सेवा एकैपटक पाउँदा गोठगाउँबासी निकै हर्षित देखिन्थे । घुम्ती शिविरमा जेष्ठ नागरीक परिचयपत्र वितरण ४५ जना, १ सय ७२ परिवारलाई कृषि मिनिकिट वितरण,स्वास्थ्य तर्फ सामान्य चिकित्सा सेवा १ सय १ जनाले लिएको प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईंले बताउनुभयो । उहाँका अनुसार भि आई ए टेष्ट २० जना,यु एस जि टेष्ट ३५ जना र ४५ जनाले महिला स्वास्थ्य सम्बन्धि परिक्षण गराएका छन ।
घुम्ती शिविरमा १९ वटा योजना सम्झौता गरिएको छ । पशु सेवा तर्फ १ सय १७ जना किसानले विभिन्न पशुपंक्षीका लागि आवश्यक औषधि लिएका हुन । ६ सय २४ वटा बाख्रा,८३ वटा भैँसी,१ सय ४ वटा गाईगोरु र ५ सय ९१ वटा कुखुराका लागि विभिन्न औषधिहरु वितरण गरिएको रामेछाप नगरपालिकाले जनाएको छ । साथै नगरपालिकाको चालू आ.व २०८२÷८३ को पहिलो चौमसिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम पनि सम्पन्न भएको छ ।


