रामेछापको मन्थली नगरपालिकाले सबै विद्यालयका प्रधानाध्यापकहरुलाई ‘प्रारम्भिक बालविकासमा प्रधानाध्यापकहरुको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण गरेको छ ।
जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाले नगर भित्रका ६८ वटै विद्यालयका प्रधानाध्यापकहरुलाई प्रारम्भिक बालविकामा प्रधानाध्यापकको नेतृत्व विकास सम्बन्धी दुई दिने अभिमुखीकरण गरेको हो । यो दुई दिने अभिमुखीकरण कार्यक्रमबाट आफूहरुले धेरै कुरा सिक्ने अवसर पाएको सहभागीहरुले बताएका छन् । अभिमुखीकरण कार्यक्रममा सहभागी शिक्षक हेमचन्द्र पोख्रेलले प्रारम्भिक बालविकास केन्द्रमा भर्ना भएका बालबालिकाहरुको क्षमता विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा धेरै कुराहरु सिक्न पाएको बताउनुभयो । उहाँले तालिममा सिकेका कुरालाई आगामी दिनमा विद्यालयमा लगेर कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । आगामी दिनमा पनि यस्ता तालिम तथा कार्यक्रमको आयोजना गरिनु पर्ने सुझाव राख्दै उहाँले तालिमको आयोजना गरी सिक्ने अवसरमा प्रदान गरेकोमा सेतो गुराँस र नगरपालिकालाई समेत धन्यवाद दिनुभएको थियो ।
शिक्षा सुधारका लागि सबैले इमान्दार प्रयत्न गर्नुपर्छः प्रवक्ता श्रेष्ठ
अभिमुखीकरण कार्यक्रमको औपचारिक समापन सत्रलाई सम्बोधन गर्दै मन्थली नगरपालिका नगर प्रवक्ता एवम् वडा नं. ८ का वडा अध्यक्ष गोपाल श्रेष्ठले नगरको शिक्षा सुधारका लागि सबैले इमान्दार प्रयत्न गर्नुपर्ने बताउनु भएको छ । बाहिरको व्यक्तिहरुबाट यहाँको शिक्षा सुधार नहुने भन्दै उहाँले कुण्ठा र पूर्वाग्रहरहित ढङ्गले हामी नै लाग्नु पर्ने बताउनुभयो । शिक्षा सुधारका लागि सबै कुराको व्यवस्थापन गर्न आफूहरु तयार रहेको पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “शिक्षा सुधारका लागि सबैभन्दा पहिले त आफूलाई नै सुधार गर्नपर्छ, मन्थली नगरपालिका, शिक्षा समिति, सामाजिक विकास समितिको तर्फबाट गर्नुपर्ने केही काम छ भने तपाइँहरुले खुलेर भन्नु होला । हाम्रो स्रोत र साधनले भ्याएको सबै काम हामी पुर्याउनेवाला छौँ, पुर्याइरहेका छौँ, जहाँ पुगेको छैन त्यहाँ छिटो पुग्छ ।”
बालबालिकाको लागि आएको रकमको दुरुपयोग नगर्नुः अधिकारी
यसैबीच, मन्थली नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु बहादुर अधिकारीले बालबालिकाको लागि आएको रकमको दुरुपयोग नगर्नआग्रह गर्नुभयो । बालविकास केन्द्रमा अध्ययनरत प्रति बालबालिकाको लागि वार्षिक रुपमा पाँच सय रुपैयाँका दरले आउने रकम प्र.अ. हरुले तोकिएको शीर्षकमा नगरी अन्य शीर्षकमा खर्च गरेको उल्लेख गर्दै उहाँले तोकिएको शीर्षकमा खर्च नगरे आगामी दिनमा आउने अनुदान रकम नै रोकिदिने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, “प्रारम्भिक बालविकासको प्रति विद्यार्थी पाँच सय रुपैयाँका दरले जाने रकम प्राय हेडसरले तोकिएको शीर्षकमा खर्च गर्नु भएको छैन, अर्कै शीर्षकमा खर्च गर्नु भएको छ । जति योभन्दा अगाडि गर्नुभयो अबका दिनमा चाहिँ तोकिएर गएको प्रतिव्यक्ति पाँच सयका दरले गएको रकम त्यही शीर्षकमा खर्च गर्नु भएन भने यहाँहरुलाई आउने अनुदान रकम सबै रोक्का गर्दिन्छौँ ।”
उहाँले बालबालिकाको मूल्याङ्कनका लागि नगरबाट तयार पारेर पठाइएको पोर्टफोलियोको समेत प्रयोग नभएको बताउँदै मापदण्डअनुसार विद्यार्थीको मूल्याङ्कन नगर्ने शिक्षकलाई कारबाही गर्ने चेतावनीदिनुभयो । प्रत्येक बालबालिकाको पोर्टफोलियो तयार गर्नका लागि नगरबाट प्रति विद्यार्थी एक सय रुपैयाँका दरले पठाइएको समेत उहाँले उल्लेख गर्नुभयो । बालबालिकालाई दिवा खाजाको रुपमा विद्यालयहरुले पत्रु खाना खुवाउने गरेको गुनासो आउने गरेको उल्लेख गर्दै उहाँले अबको यसलाई रोक्नुपर्ने बताउनुभयो । आगामी दिनमा स्थानीय उत्पादनबाटै बालबालिकालाई दिवा खाजा खुवाउने व्यवस्था मिलाउन प्र.अ.हरुलाई शाखा प्रमुख अधिकारीले आग्रह गर्नुभयो । उहाँले दिवा खाजा खुवाउने कुरामा लापरबाही गरे दिवा खाजा बापतको रकम नै चेतावनी दिनुभयो । बाल शिक्षकले बालविकास केन्द्रकै काममा लगाउन सुझाउँदै गर्दै उहाँले अन्य माथिल्लो कक्षमा काममा नलगाउन समेत आग्रह गर्नुभयो ।
शिक्षा व्यवस्थापन सूचना प्रणालीमा बालबालिकाको उमेर प्रविष्ट गर्ने क्रममा लापरबाही नगर्नप्र.अ.हरुलाई उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “EMIS मा बालबालिकाको उमेर प्रविष्ट गराउने क्रकमा शिक्षकहरुले लापबारही गर्दा ३० वर्षको बच्चा पनि अहिले इसिडीमा भर्ना भएको देखिन्छ । कुनकक्षामा भर्ना हुने उमेर कति हो भन्ने कुराको समेत ख्याल गर्नुपर्छ । जसले गर्दा विद्यार्थीको कूल भर्ना दर र खुद भर्ना दरमा समेत समस्या आएको र नगरले राखेको लक्ष्यलाई मिट गर्न समस्या भएको छ ।”
बालविकास केन्द्रको शैक्षिक गुणस्तर सधारका लागि पाठ्यक्रमको कार्यान्वयन गर्नुपर्छः प्रा.स. रोकाय
शिक्षा शाखाका प्रा.स. गोपाल बहादुर रोकायले बालविकास केन्द्रको शैक्षिक गुणस्तर सधारका लागि प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रमको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,”नेसनल करिकुलम फ्रेमवर्क र टिचर गाइडलाइनले दिएका गाइडलाइनअनुसार विषयवस्तुमा आधारित रहेर पाठ्यक्रमले निर्दिष्ट गरेका ६ वटा सक्षमतालाई टार्गेट गरी शैक्षिक गतिविधि सञ्चालन गरे मात्रै पनि प्रारम्भिक बालविकासको गुणस्तर सुधार हुन्छ ।”
नेपाल सरकारको प्रतिबद्धतानुसार प्रारम्भिक बालविकास उमेरका सबै बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित शैक्षिक गतिविधि सञ्चालन गर्नको लागि प्राधानाध्यापकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको मन्थली नगरपालिकाका बालविकास संयोजक नवराज विश्वकर्माले बताउनुभयो ।अभिमुखीकरण तालिममा नगरका सबै विद्यालय तथा बालविकास केन्द्रबाट ६८ जना प्र.अ. तथा शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अभिमुखीकरण कार्यक्रमको सहजीकरण सेतो गुराँस संस्थाको वरिष्ठ तालिम अधिकृत बुद्धिबल थापा मगर र जिल्ला परियोजना संयोजक मैया वस्नेतले गर्नु भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको समझदारीअनुसार मन्थली नगरपालिकासँग सहकार्य चाइल्डएड नेटवर्क फाउण्डेशनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहयोगमा सञ्चालित इसिडी हार्मोनी परियोजना मार्फत मन्थली नगरपालिकाको आयोजनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको थियो । २२ गतेदेखि फ्रिडम रिसोर्टमा सञ्चालन भएको कार्यक्रम २३ सम्पन्न भएको थियो ।


