रामेछापका जुनार बगैँचा जुनार पाकेर पहेंलपुर

रामेछापका जुनार बगैँचा जुनार पाकेर पहेंलपुर

रामेछापका जुनार बगैँचाहरु यतिबेला जुनार पाकेर पहेंलपुर बनेका छन । यहाँका बस्तीहरूका जुनार बगैँचामा अहिले सुनौलो रौनक छाएको छ। हिउँदको सुरुवातसँगै गाउँ–गाउँका बगैँचामा जुनार पाकेर पहेंलपुर बनेपछि कृषकहरू जुनार टिपेर बजार पठाउनमा व्यस्त हुन थालेका छन्। वर्षैभरि मेहनत गरी हुर्काएको फल पाकेर झुलुक्क झुलेको देखिन्छ, जसले कृषकहरूको अनुहारमा खुशी थपिदिएको छ।

रामेछापको सुकाजोर,गाईटार,ओख्रेनी,भालुखोप,हिमगंगा,फूलासी लगायत क्षेत्रका किसानले यस वर्ष समयमै वर्षा भएको र रोग–कीरा कम लागेको कारण उत्पादन राम्रो भएको बताएका छन । गत वर्षको तुलनामा यसपटक १०–१५ प्रतिशतसम्म बढी फल लागेको उनिहरुको भनाई छ । रामेछाप नगरपालिका ७ का जुनार कृषक राम कुमार कार्की भन्छन,‘यो वर्ष मौसम राम्रो भएकाले जुनार दाना ठूलो र रसिलो भएको छ। बजार मूल्य पनि राम्रो हुने अपेक्षा छ। स्थानीय स्तरमै खरिद गर्न आउने व्यापारीहरूको संख्यामा वृद्धि भएको छ।’

जुनार उत्पादन रामेछापको एक महत्वपूर्ण आय–स्रोत बनेको छ। स्थानीय बगैँचाबाट उत्पादन हुने जुनार छिमेकी जिल्लाहरु सहित राजधानी काठमाण्डौँ ,तराईका जिल्लाहरु सहित देशका मुख्य शहर तथा बजारमा ढुवानी हुने गरेको छ। पछिल्लो माग बढ्दै गएपछि किसानहरू अझ उत्साहित बनेका छन्।

राष्टिय कृषि आधुनिकीकरण कार्यक्रम रामेछापका अनुसार जिल्लामा पछिल्ला वर्षहरूमा जुनार खेती विस्तार भइरहेको छ। रामेछापको रामेछाप नगरपालिका,मन्थली नगरपालिका र लिखु तामाकोशी गाउँपालिकामा अहिले व्यवसायिक रुपमा जुनार खेती भैरहेको छ ।

जिल्लामा केही किसानले परम्परागत खेती छोडेर व्यावसायिक तरिकाले बगैँचा विस्तार गरेका छन्। कार्यालयका कृषि प्राविधिक बल बहादर थापाका अनुसार रोग नियन्त्रण, मल व्यवस्थापन र आधुनिक तरिका अपनाएपछि पछिल्ला केही वर्षहरुमा जुनार उत्पादन बढेको छ । गत वर्ष जिल्लामा ६ सय ४० हेक्टर क्षेत्रफलमा खेती हुँदा ४ हजार मेट्रिक्टन जुनार उत्पादन भएको थियो । जुनार बेचेरै यहाँका किसानले २० करोड आम्दानी गरेका थिए । यस वर्ष जुनार उत्पादन अझ बढ्ने अनुमान गरिएको छ ।

जुनार पाकेर पहेंलपुर बनेसँगै गाउँ–बस्तीको वातावरण नै सुगन्धित र रमणीय बनेको हो । पर्यटक र स्थानीय युवाहरू बगैँचामा तस्बिर खिच्न आउने गरेको अगुवा जुनार कृषक शेर बहादुर तामाङ्गले बताए । रामेछापका जुनार बगैँचामा आएको सुनौलो चमकले किसानको मिहिनेत मात्र होइन, जिल्लाको अर्थतन्त्रमा पनि नयाँ ऊर्जा थपिदिएको छ ।

राष्टिय कृषि आधुनिकीकरण कार्यक्रम रामेछापले केही वर्ष यतादेखि किसानलाई अमिलो जातका फलफूल खेतीमा प्रोत्साहित गरेको छ । जसले गर्दा किसानहरू अमिलो जातका फलफूल खेतीमा लागेका छन् । कार्यालयले किसानलाई निःशुल्क प्राविधिक सहयोग, सिँचाई, बिरुवा, विषादीमा अनुदान तथा बजार व्यवस्थापनमा ५० देखी ७५ प्रतिसत सम्म सहयोग गर्दै आएको छ । कमदारको अभाव,सिँचाईको समस्याले पिरोल्ने गरेको किसानहरुले गुनासो गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार