आजभन्दा १०/१२ वर्ष अघिसम्म रामेछाप जिल्लामा रहेका आधारभूत विद्यालयहरुमा विद्यार्थीको चाप थियो । एउटा विद्यालयमा थोरैमा पनि २ देखी ३ सयको हाराहारीमा विद्यार्थीहरु अध्यन गर्थे । एउटै कक्षामा ३ वटासम्म सेक्सन बनाएर विद्यार्थी पढाएको सम्झनुहुन्छ रामेछाप नगरपालिका ७ मा रहेको आवि मुडेखोलाका प्रधानाध्यापक प्रेम कुमार श्रेष्ठ । रामेछापका मात्रै नभएर आवि मुडेखोलामा सिन्धुलीको वितिजोरदेखीका विद्यार्थीहरु अध्यनको लागी आउने गर्थे । विद्यालयमा कक्षाकोठा व्यवस्थापनको निकै समस्या पथ्र्यो त्यो बेला ।
धेरै विद्यार्थीहरुलाई ज्ञानको ज्योति बाँडेको आवि मुडेखोला अहिले विद्यार्थी अन्धकारमा छ । पर्याप्त कक्षा कोठा,डेस्क बेन्च भएर पनि विद्यार्थी नहुँदा विद्यालय नै सुनशान छ । आवि मुडेखोलामा अहिले ११ जना विद्यार्थी मात्रै अध्यनरत छन । कक्षा ५ सम्म पठनपाठन हुने यो विद्यालयमा कक्षा ४ र ५ विद्यार्थी अभावमा बन्द छ । कक्षा ३ सम्म निकै कम संख्यामा विद्यार्थी छ । अहिले यो विद्यालय जोगाउनै समस्या परेको प्रधानाध्यापक श्रेष्ठ बताउँछन । उनी भन्छन्,‘अहिले विद्यालयको अवस्था देखेर आफैलाई दया लागेर आउँछ । यता नजिकै अरु कुनै विद्यालय नहुँदा,गाउँमा जति बालबालिका छन उनिहरुका लागी भएपनि विद्यालय चलिरहेको छ ।’
सुकाजोरकै गैँयाश्वरी आधारभूत विद्यालयमा कुनै समय विद्यार्थीको थेगिनसक्नुको भिड हुन्थ्यो । विद्यार्थीले भरिभराउ हुने यो विद्यालय पनि अहिले बन्द हुने अवस्थामा पुगेको छ । सुविधा सम्पन आधुनिक भौतिक संरचना भएपनि विद्यार्थीको कमीले विद्यालयमा कुनै रौनकता छैन । यो विद्यालय नजिकै अन्य विद्यालयहरु भएका कारणले पनि विद्यार्थी संख्यामा कमी आएको हुन सक्ने विद्यालयका प्रधानाध्यापक ईन्दु कुमारी बस्नेतले बताईन । ‘यहाँबाट आधा घण्टाको दुरीमा दुुई वटा विद्यालय छन । सबै विद्यार्थी त्यतै जान्छन् ।’ उनले भनिन् ।
रामेछाप जिल्लाका सबै आधारभूत विद्यालयहरूमा पछिल्ला वर्षहरूमा विद्यार्थी संख्या निरन्तर घट्दै गएको छ। जनसङ्ख्या वृद्धि नभएको, अभिभावकको शहरतिर आकर्षण बढेको तथा निजी विद्यालयतर्फको झुकावका कारण ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरू झनै संकटमा परेको रामेछाप नगरपालिका ७ का विष्णु बहादुर महताराले बताए । गाउँबस्ती बसेका अधिकांश अभिभावक रोजगार, उपचार या अन्य कारणले परिवारसहित सदरमुकाम वा बाहिरी जिल्लातर्फ सर्ने गरेको उनी बताउँछन्। यसका कारण पहाडी दुर्गम बस्तीका विद्यालयमा कक्षा १ देखी ५ सम्मका कक्षामा विद्यार्थी निकै कम मात्र देखिन्छन्। कतिपय विद्यालयमा त कक्षा सञ्चालनका लागि आवश्यक न्यूनतम विद्यार्थी संख्या समेत नपुगेको रामेछाप रजयछापका विनोद कुमार श्रष्ठले बताए ।
शिक्षकको हाजिरी, शैक्षिक गुणस्तर सुधार तथा डिजिटल सामग्री अभावजस्ता समस्या यथावत रहँदा अभिभावकले आफ्ना बालबच्चालाई निजी तथा सहरका विद्यालय भेज्ने गरेको देखिन्छ। विद्यार्थी घट्दै जाँदा विद्यालय शक्तिकेन्द्र एकीकृत गर्नुपर्ने, कक्षाहरू संयोजन गर्नुपर्ने जस्ता चुनौती पनि बढ्न थालेका छन्। स्थानिय तहहरुले गाउँका विद्यालयमा विद्यार्थी संख्या बढाउने गरी कुनै खास योजना तथा कार्यक्रम ल्याउन नसकेको रामेछाप सिम्लेका नविन मगरले बताए । उनी भन्छन्,‘जबसम्म गाउँमै रोजगारीको अवसर सृजना हुँदैन,गुणस्तरीय शिक्षाको ग्यारेन्टि हुँदैन तबसम्म विद्यालयहरुको अवस्था यस्तै रहन्छ ।’ उनी थप्छन, ‘शिक्षामा लगानी धेरै भएपनि त्यो बालुवामा पानी हाले सरह भएको छ ।’
रामेछाप नगरपालिकाले विद्यालय शिक्षा योजना बनाएर काम गरिरहेको बताएको छ । तर नगरका धेरै विद्यालयमा विद्यार्थी नै छैन्न । नगरपालिकाले मेगा विद्यालय संचालन गरेर विद्यार्थी संख्या बृद्धिसँगै गुणस्रीय शिक्षा प्रदान गर्ने योजना त बनायो तर त्यो योजना अहिले अलपत्र बनेको छ । रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने भन्छन् ‘शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन धेरै प्रयास गरिएको छ । अहिले गरेको काम १० वर्षपछि देखिन्छ ।’ उनि थप्छन,‘शिक्षामा गरेको लगानी अहिले तत्कालै खोजेर काहाँ पाईन्छ ? नगरपालिकामा सेतो गुँरास र हिमाली नविन समाज जस्ता संस्थाले आधारभूत विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धिको लागी काम गरिरहेको छ ।
शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलका अनुसार स्थानीय तह र समुदायको सक्रियतामा विद्यालयमा विद्यार्थी संख्या बढाउन गरी केही कदमहरु चाल्नुपर्छ । अन्यथा धेरै आधारभूत विद्यालय बन्द हुने जोखिम बढेको उनले बताए । शहर केन्द्रित भएका नागरीकहरुलाई गाउँफर्क अभियान संचालन गरेर उनिहरुलाई गाउँमै टिक्ने अवस्थाको सृजना जबसम्म हुँदैन तबसम्म गाउँका विद्यालयहरुले विद्यार्थी कुरिरहनुपर्ने अवस्थाको अन्त्य नहुने स्थानियहरु बताउँछ ।


