रामेछापमा झन्डै ६ हजार नयाँ मतदाता थपिए

रामेछापमा झन्डै ६ हजार नयाँ मतदाता थपिए

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर सञ्चालन गरेको मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय शुक्रबारबाट सकिएको छ । सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपेको थियो । यसबिचमा रामेछापमा झन्डै ६ हजार नयाँ मतदाता थपिएका छन ।

गत असोजदेखि मंसिर ५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय र राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत कुल ५ हजार ९३५ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन्। जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार निर्वाचन कार्यालयमार्फत १ हजार २३५ र राष्ट्रिय परिचयपत्रबाट ४ हजार ७०० जनाले नाम दर्ता गराएका हुन ।

कार्यालयमा उपस्थित भएर नामदर्ता गराउनेमध्ये पुरुष ७५० र महिला ४८५ जना रहेको निर्वाचन अधिकारी लामिछानेले बताउनुभयो । नयाँ दर्तासहित रामेछापमा मतदाता सङ्ख्या १ लाख ८७ हजार ५४९ जना पुगेका छन । मतदाता सूचीमा नाम समावेश भएकामध्ये आउँदो फागुन २० गतेसम्म १८ वर्ष पुग्ने व्यक्तिहरूले मात्रै फागुन २१ गतेका लागि तोकिएको चुनावमा मतदान गर्न पाउने छन् । निर्वाचन कार्यालयले नामावली संकलन भने १६ वर्ष पुगेका सबैको गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार