राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने विद्यालयका खेलाडीहरुको अभ्यासलाई लक्षितगरी रामेछाप नगरपालिकाकाले खेलकुदका समाग्रीहरु वितरण गरेको छ । नगरभरीका १३ वटै माविहरुलाई शनिबार(आज) रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले खेल सामाग्रीहरु हस्तान्तरण गर्नुभयो । भलिबल,फुटबल,नेट,एथलेटिक्सका सामाग्री,सर्टफुट लगायत खेल समाग्रीहरु वितरण गरिएकोे हो ।
“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाप नगरपालिकामा यहि मंसिर ११,१२ र १३ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदैछ । यहि प्रतियोगितामा विद्यार्थी खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरुन भन्ने उद्धेश्यले आवश्यक खेल सामाग्रीहरु वितरण गरिएको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।
खेल सामाग्री वितरणसँगै विद्यालयका खेलकुद शिक्षकहरुले नगर प्रमुख समक्ष विद्यालयमा खेल मैदान नभएको,प्रशिक्षण नपाएको लगायतका समस्याहरु सुनाएका थिए । नगर प्रमुख न्यौपानेले यस्ता समस्याहरु समाधान हुने क्रममा रहेको बताउनुभयो । उहाँले पर्याप्त जग्गा भएका विद्यालयमा नगरले खेल मैदान निर्माण गरिदिने बताउनुभयो । यहि वर्ष खेल शिक्षकलाई प्रशिक्षण तालिम समेत राखिएको बताउनुभयो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरभरीका १३ वटै माविलहरुले सहभागिता जनाउने रामेछाप नगर खेलकुद विकास समितिका अध्यक्ष केदार कार्कीले बताउनुभयो । प्रतियोगिता संचालनको लागी तयारी अन्तिम चरणमा पुगेको उहाँको भनाई छ । प्रतियोगिता रामेछाप बजार नजिकै रहेको टुँडिखेल खेल मैदानमा हुनेछ ।


