रामेछापमा ७२ वर्षीया वृद्धाको हत्या,हत्यारा फरार

रामेछापमा ७२ वर्षीया वृद्धाको हत्या,हत्यारा फरार

रामेछापमा ७२ वर्षीया एक वृद्धाको हत्या भएको छ । मन्थली नगरपालिका–१४ साजेटोलकी ७२ वर्षीया वृद्धा भिमा लक्ष्मी खड्काको धारिलो हतियार प्रहार गरी हत्या भएको रामेछाप प्रहरीले जनाएको छ ।

गयराति करिब साढे १० बजे घटना भएकोमा राति साढे १२ बजे प्रहरीमा जानकारी आएपछि प्रहरी चौकी फुलासीबाट प्रहरी सहायक.निरीक्षक मानबहादुर तामाङको नेतृत्वमा टोली घटना स्थल गएको थियो । घटना स्थल प्रहरी चौकी फुलासीदेखि करिब ५ किलोमिटर दक्षिणतर्फ तथा जिल्ला प्रहरी कार्यालय रामेछापबाट करिब ३५ किलोमिटर उत्तर–पश्चिमतर्फ पर्छ।

जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोली मंगलबार बिहान घटनास्थल पुगेर मुचुल्का सङ्कलन गरेको छ। मृतक भिमाको शव पोस्टमार्टमका लागि मन्थली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन प्रसाद तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार वृद्धा खड्का एक्लै बस्दै आएकी थिइन्।

उनको हत्या सोही गाउँ बस्ने २६ वर्षीय दिलीप खड्काले गरेको प्रहरी निरीक्षक तिम्सिनाले जानकारी दिनुभयो । धारिलो हतियार प्रहार गरी हत्या गर्ने दिलीप घटनापछि फरार रहेकाले प्रहरी खोजतलासमा जुटेको छ । फरार दिलीप अभद्र व्यवहार र चोरी मुद्दामा पक्राउ परि छुटेका व्यक्ति भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार