सातौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कृष्णपुरी माविले जित्यो

सातौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कृष्णपुरी माविले जित्यो

रामेछापको सुनापति गाउँपालिकामा सातौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कृष्णपुरी माध्यमिक विद्यालय, सुनापती–५ रुपाकोटले ७ स्वर्ण पदक सहित समग्र नतिजा आफ्नो पक्षमा पार्दै यस वर्षको रनिङ सिल्ड उपाधि जितेको छ ।

प्रतियोगितामा डहु माध्यमिक विद्यालय, सुनापती–४ डहुले ४ स्वर्ण पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ भने पशुपति माध्यमिक विद्यालय, सुनापती–३ नागसिवाले ३ स्वर्ण पदक सहित तेस्रो स्थानमा रहन सफल भएको छ ।

त्यस्तै कृष्णवर्णेश्वर माध्यमिक विद्यालय, सुनापती–२ मानपुर र कुशेश्वर माध्यमिक विद्यालय, सुनापती–४ बेथानले समान २–२ स्वर्ण पदक जितेका छन् । सतलिङ्गेश्वर माध्यमिक विद्यालय, सुनापती–१ गुन्सी र जलदेवी माध्यमिक विद्यालय, सुनापती–५ खनियापानीले प्रत्येकी १–१ स्वर्ण पदक जितेका छन् ।

अग्लेश्वर माध्यमिक विद्यालय, सुनापती–२ दिमीपोखरी र बाल माध्यमिक विद्यालय, सुनापती–५ भिरकोट भने यस वर्षको प्रतिस्पर्धामा स्वर्ण पदकविहीन बनेका छन् ।

प्रतियोगिता सुनापती गाउँपालिकाका अध्यक्ष ठुलोकान्छ तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गीता विष्ट विशिष्ट आतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।

प्रतियोगिता सम्पन्न समारोहमा विजेता विद्यालयहरूलाई पदक, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार