रामेछापमा नेपाल टेलिकमका रिचार्ज कार्ड कोर्दा पिन नम्बर मेटिने, नदेखिने तथा अस्पष्ट हुने समस्या बढ्दै गएको उपभोक्ताहरूले बताएका छन्। टेलिकमका पुराना तथा नयाँ दुवै प्रकारका कार्डमा यस्तो समस्या देखिएको छ, जसका कारण धेरै ग्राहकले रिचार्ज गर्न नसकी हैरानी भोगिरहेका छन्।
उपभोक्ताको भनाइमा कार्डमा प्रयोग भएको छोप्ने पदार्थ (स्क्र्याच लेयर) असमान तथा कमजोर भएको कारण कोर्दा पिन नम्बर समेत साथसाथै मेटिने समस्या देखिन्छ। कतिपयले हल्का मात्र कोरे पनि नम्बरहरू हराएर कार्ड निष्प्रयोज्य बन्ने गरेको गुनासो गरेका छन्।
सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमले रिचार्ज कार्ड छपाई गर्न ठेक्का लगाउने गरेको छ । छपाईको काम पाएको कम्पनीले कार्डको कागज र कोटिङ्गको गुणस्तर सुधार गर्नुपर्ने रामेछापका सचेत नागरीकहरुले बताएका छन । सचेत नागरीकहरुले रामेछापका प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित निकायमा ध्यानाकषण पत्र पठाएका छन ।



