नेपालका कलाकार र आत्महत्याको रहस्य: किन रोज्छन् अन्तिम बाटो?

नेपालका कलाकार र आत्महत्याको रहस्य: किन रोज्छन् अन्तिम बाटो?

मनोरञ्जन उद्योग बाहिरबाट हेर्दा कलाकारहरूको जीवन चमकदार देखिन्छ । हँसिलो अनुहार, आकर्षक जीवनशैली, ठूलो दर्शक वर्ग – यी सबैले जीवनलाई सपनाजस्तो देखाउँछन् । चलचित्र, म्युजिक भिडियो र मिडियाहरूले कलाकारको जीवनलाई झिलिमिली र ग्ल्यामरस देखाउने काम गर्छन् । तर यस चमकको पछाडि गहिरो पीडा लुकेको हुन्छ । केही कलाकारहरूले मानसिक तनाव, व्यक्तिगत संघर्ष, सामाजिक दबाब र असुरक्षाको भारी बोझ बोक्दै आफ्नो जीवनको अन्तिम निर्णय लिन बाध्य हुन्छन् । नेपालका कलाकारहरू जसमा श्रीषा कार्की, नितु पौडेल, आलोक नेम्बाङ, सारुक ताम्रकार, जेनी कुँवर जस्ता नामहरू छन् यस्तो पीडाको शिकार भएका उदाहरण हुन् ।

उनीहरूको मृत्यु केवल व्यक्तिगत असफलता वा कमजोरीको परिणाम होइन । यो समाज, संरचना र वातावरणसँग जोडिएको जटिल समस्या हो । नेपालको मनोरञ्जन उद्योग अस्थिरताले भरिएको छ । कामको स्थायीत्व छैन, पारिश्रमिक असमान छ र अवसर प्रायः सम्बन्ध र सिफारिसमा निर्भर हुन्छ । कलाकारहरू आफ्नै क्षमता अनुसार काम पाउँदैनन् । उनीहरूको करियर बाहिरी दबाब  र परिस्थिति अनुसार निर्भर रहन्छ। यसले अस्थिरता र निराशा बढाउँछ । विशेषगरी महिला कलाकारहरूले भोग्ने दबाब अझै गहिरो हुन्छ । उनीहरूले आकर्षक देखिनु पर्ने तर सामाजिक मर्यादामा पनि रहनु पर्ने चुनौतीको सामना गर्छन् । करियरमा असफलता वा आलोचनाले मानसिक स्वास्थ्यमा गहिरो चोट पुर्‍याउँछ ।

मिडियाको भूमिका यस विषयमा ठूलो छ । कलाकारहरूको व्यक्तिगत जीवनलाई सनसनीपूर्ण रूपमा प्रस्तुत गर्दा उनीहरूको जीवन अझ तनावपूर्ण हुन्छ । अफवाह, आलोचना र ब्ल्याकमेलिङले निराशा बढाउँछ । केही मिडियाले निजी जीवनका घटनालाई अतिरञ्जित तरिकाले देखाउँछन्, जसले भावनात्मक रूपमा कलाकारलाई कमजोर बनाउँछ ।

नेपालमा मानसिक स्वास्थ्य र सामाजिक सुरक्षा प्रणाली पर्याप्त छैन । काउन्सेलिङ सेवा सीमित छन् र मानसिक स्वास्थ्यबारे समाजमा अझै धेरै पूर्वाग्रह छ । यसले कलाकारहरूलाई सहयोग खोज्न कठिन बनाउँछ । केही उदाहरणहरूले यो स्थिति स्पष्ट देखाउँछन् : अभिनेत्री श्रीषा कार्की २००२ मा आत्महत्या गरेर मृत भएकी थिइन् । उनका मृत्यु पछि मिडिया र सामाजिक दबाबको विषयमा व्यापक बहस भयो ।

प्रतिभावान गायक कुल पोखरेल २००३ मा आत्महत्या गरेर संसार छाडेका थिए । ड्रग्सको कुलतमा फँसेका कुलको आत्महत्याको कारण ड्रग्स नै मानिएको थियो । गायिका योगिता मोक्तान २०११ मा आफ्नै निवासमा आत्महत्या गरेर मृत भेटिइन् । उनको मृत्यु अझ रहस्यमय रह्यो किनभने चर्चामा रहे पनि वास्तविक पीडा स्पष्ट थिएन । नायिका जेशिका खड्का (ज्योति) ले २०१२ मा आत्महत्या गरेर आफ्नो जीवन अन्त्य गरिन् । म्युजिक भिडियोमा अभियन गरेकी खड्काको एकाएक गायक प्रकाश ओझासँगको नग्न भिडियो सार्वजनिक भएको थियो ।

त्यो घटनाले उनी निकै विक्षिप्त बनिन् । घटना प्रस्चात अभिनय क्षेत्रमा फर्किएकी उनले केही चलचित्रमा काम गरिन् । निर्देशक तथा भिजे आलोक नेम्बाङ २०१४ मा मृत अवस्थामा फेला परे । प्रारम्भिक अनुसन्धानले आत्महत्या संकेत गरेको देखायो । युवापुस्ताका लोकप्रिय र्‍यापर यम बुद्धले २०१७ मा बेलायतस्थित आफू बस्ने घरको शौचालयमा पासो लगाई आत्महत्या गरे । अभिनेत्री जेनी कुँवर २०२१ मा मृत भेटिइन् । उनका परिवार र स्रोतहरूले डिप्रेसनको इतिहास उल्लेख गरेका थिए ।

अभिनेता सारुक ताम्रकार २०२३ मा मृत भेटिए । उनको कोठामा सुविचारित नोट पनि फेला पर्‍यो । हालै, गायिका नितु पौडेल काठमाडौंको अनामनगरस्थित स्टुडियोमा जलेको अवस्थामा उद्धार गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भयो । परिवारले गायक तथा संगीतकार बाबुल गिरीमाथि मानसिक यातना र झुटो आश्वासन दिने आरोप लगाउँदै आत्महत्या दुरुत्साहनको मुद्दा अघि बढाएका छन् । यी घटनाले देखाउँछन् कि आत्महत्याको कारण प्रायः स्पष्ट हुँदैन । केवल व्यक्तिगत कमजोरी वा असफलतालाई दोष दिन सकिँदैन । मानसिक स्वास्थ्य समस्या, सामाजिक दबाब, आर्थिक चुनौती, सम्बन्ध तनाव र व्यक्तिगत संघर्ष मिलेर यस्तो परिणाम आएको हुन सक्छ ।

कलाकारहरूले भोग्ने दबाब केवल कामसँग सम्बन्धित हुँदैन । उनीहरू सामाजिक मूल्य, सौन्दर्य मापदण्ड र व्यक्तिगत चरित्रका अपेक्षासँग पनि जुध्छन् । समाजमा महिलाहरूमा दोधार दबाब बढी हुन्छ । आकर्षक देखिनु पर्छ तर मर्यादित व्यवहार पनि गर्नु पर्छ । यदि बोले भने ‘चरित्रहीन’ ठानिन्छ, चुप बसे भने ‘कमजोर’ ठानिन्छ ।

मनोरञ्जन उद्योग बाहेकका कारणले पनि मानसिक स्वास्थ्यमा असर गर्छ । धेरै कलाकारहरूले परिवारबाट टाढा काम गर्छन्, लामो समय एक्लोपन भोग्छन् र सल्लाह दिने व्यक्तिको पहुँच सीमित हुन्छ । आर्थिक असुरक्षा, असमान पारिश्रमिक र कामको अस्थिरताले निराशा थप्छ । यसले कलाकारहरूलाई जीवनको अन्तिम निर्णयमा पुर्‍याउँछ ।

मिडियाले यस विषयलाई संवेदनशील र जिम्मेवार तरिकाले उठाउनुपर्छ । केवल सनसनीपूर्ण समाचारले समस्या समाधान हुँदैन, यसले मानसिक स्वास्थ्य संकटलाई अझ गहिरो बनाउँछ । हामीले बुझ्नुपर्छ कि कलाकारहरू मर्न चाहँदैनन् । व्यक्तिगत, सामाजिक र संरचनागत दबाबले उनीहरूलाई मृत्युको बाटो रोज्न बाध्य बनाउँछ ।

समाजमा मानसिक स्वास्थ्यबारे चेतना अभिवृद्धि आवश्यक छ । मानसिक स्वास्थ्यलाई सामान्य मान्ने, सहयोग लिन सहज बनाउने, कलाकारहरूको अधिकार र सुरक्षाको रक्षा गर्ने उपायहरू अपनाउनुपर्छ । मिडियाले जिम्मेवार रिपोर्टिङ गर्न, अफवाह फैलाउनबाट बच्न र व्यक्तिगत जीवनको सम्मान गर्नुपर्छ । कलाकारहरूको जीवन केवल मनोरञ्जनको साधन होइन, उनीहरूको जीवन मूल्यवान छ ।
जब पीडा असह्य हुन्छ र बोल्ने कोही हुँदैन, तब मौनता मृत्युमा परिणत हुन्छ । नेपालका कलाकारहरू प्रायः अस्वस्थ सामाजिक वातावरण, आर्थिक असमानता र मानसिक स्वास्थ्यको कमजोरीसँग जुधिरहेका छन् । यस उद्योगमा देखाउने हाँसो र चमक भित्री पीडालाई ढाक्छ । संघर्षलाई केवल मनोरञ्जनको कथा बनाएर हेर्नु संवेदनशील दृष्टिकोण होइन ।

यो समस्या केवल कलाकारको व्यक्तिगत समस्या होइन । सामाजिक, संरचनागत र सांस्कृतिक ढाँचासँग जोडिएको छ । यदि समाज सहयोग र समझदारी देखाउँछ भने भविष्यमा यस्ता घटना कम गर्न सकिन्छ । कलाकारहरूको जीवनको मूल्य बुझ्नु, मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनु र दबाब कम गर्न उपायहरू निर्माण गर्नु अत्यावश्यक छ ।

अन्ततः नेपालका कलाकारहरूले भोग्ने मानसिक पीडा, सामाजिक दबाब र आर्थिक असुरक्षा एकसाथ मिलेर उनीहरूलाई कठिन परिस्थितिमा पुर्‍याउँछ । केवल व्यक्तिगत दोष देख्नु गलत हुन्छ । मिडिया, समाज र संरचनागत प्रणालीले जिम्मेवार कदम चाल्नुपर्छ । कलाकारहरूले मर्न चाहँदैनन् तर जब पीडा असह्य हुन्छ र सहयोग छैन, तब उनीहरू अन्तिम बाटो रोज्छन् ।

कमल एक्चै मगर (चलचित्र निर्देशक) 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार