रामेछाप सुनापतिमा ७७ घरपरिवार पहिरोको जोखिममा

रामेछाप सुनापतिमा ७७ घरपरिवार पहिरोको जोखिममा

रामेछाप जिल्लाको सुनापति गाउँपालिका–३ हिलेदेवीस्थित केउरेनी बस्ती पूर्णरूपमा पहिरोको उच्च जोखिममा परेको छ । साउने, नागा सिवार र च्याम्दुम टोलका ७७ घरपरिवार अहिले प्रत्यक्ष पहिरोको खतरा सामना गरिरहेका छन् । विगत लामो समयदेखि स–साना पहिरो चल्दै आएको सो बस्ती २०८१ असोज ११ र १२ गतेको अविरल वर्षापछि थप क्षतिग्रस्त भएको थियो । त्यसपछि २०८२ असोज १७ देखि १९ गतेसम्मको लगातार वर्षाले बस्तीको तल्लो भाग बगाउँदै लगेको स्थानीयले जनाएका छन् । वर्षा रोकिएको दुई हप्ता बितिसक्दा पनि पहिरो नरोकेपछि बस्ती दिनदिनै तलतल सर्दै गएको छ ।

स्थानीयका अनुसार धेरै घरका भित्तामा ठूला चिरा परेका छन् भने केही घर भत्किसकेका छन् । “पानी प¥यो कि मनै काँप्छ, पहिरोले लान्छ कि भन्ने डरले रातभर सुत्न सक्दैनौं,” पहिरोको सिरैमा घर भएकी नानिमाया तामाङले बताउनुभयो । लगातारको वर्षाले भू–सन्तुलन कमजोर बनाउँदै लगेपछि चार–पाँच घर तत्कालै भासिएका छन् । ती घरका परिवारहरू अस्थायी टहरो बनाएर अन्यत्र बसेका छन् । “घरमै बस्न सकिएन, अहिले अस्थायी टहरोमा छौँ,” पीडित मिनबहादुर खत्री र देवकुमारी खड्काले बताउनुभयो । हालसम्म करिब १ हजारदेखि १५ सय रोपनी जग्गा पहिरोले प्रत्यक्ष प्रभावित बनाइसकेको छ । पहिरोको शिर डम्फु डाँडासम्म पुगेको र झण्डै २ हजारदेखि २५ सय रोपनीसम्म क्षेत्र प्रभावित हुने अनुमान गरिएको सुनापति गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष कुल बहादुर थिङले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठ, वडा अध्यक्ष कुलबहादुर थिङ, जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा स्थानीयको टोलीले सोमबार स्थलगत अनुगमन गरेको थियो । अनुगमनपछि टोलीले सम्पूर्ण बस्ती उच्च जोखिममा रहेको निष्कर्ष निकाल्दै सिङ्गो गाउँ स्थानान्तरण गर्न आवश्यक रहेको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार “वर्षा रोकिए पनि पहिरो चलिरहेकाले बस्ती स्थायी बसोबासका लागि उपयुक्त छैन ।” उहाँले थप्नुभयो, ३६ सालदेखि नै यो क्षेत्र अस्थिर भू–भागको रूपमा चिनिएको हो, विस्तृत भूगर्भीय अध्ययनपछि मात्र स्थायी पुनःस्थापनाको निर्णय हुनेछ ।” गाउँपालिकाले हाल जोखिममा परेका बासिन्दालाई सुरक्षित स्थानमा सार्न पाँच सम्भावित स्थानको सूची जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइसकेको छ ।

श्रेष्ठले जोखिमग्रस्त घरमा नबस्न आग्रह गर्नुभएको छ । “जसको घर पूर्ण रूपमा भत्किसकेको छ, ती परिवारलाई तत्काल राहत स्वरूप १५ हजार रुपैयाँ र आंशिक क्षतिग्रस्त घर वा अन्यत्र बस्न सक्ने परिवारलाई ५ हजार रुपैयाँ दिने निर्णय गरिएको छ ।” राहत प्याकेज वितरणका लागि घर मुलीको नाममा बैङ्क खाता खोल्न आग्रह गरिएको छ । “यो ठाउँ स्थायी बसोबासका लागि उपयुक्त छैन । अस्थायी टहरा यहीँ बनाउने भन्दा पनि गाउँपालिकाले तोकेको सुरक्षित स्थानमा सर्ने तयारी गर्नुपर्नेमा अधिकृत सुरेशकुमार श्रेष्ठको जोड छ ।

उपाध्यक्ष गीता विष्टका अनुसार करिब ४० घरमा ठूलो क्षति पुगेको र बाँकी घरहरू पनि बस्न अयोग्य बन्दै गएको छ । “जोखिममा रहेका घर परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

सुनापति गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङले बस्ती अन्यत्र सार्ने तयारी भइरहेको बताउँदै स्थानान्तरणको प्रक्रिया पूरा गर्न दुई देखि पाँच महिना लाग्न सक्ने जानकारी दिनुभयो । उहाँले पिडित परिवारलाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गर्न पालिकाले आवश्यक तयारी थालेको बताउनुभयो । अध्यक्ष तामाङले पीडित परिवारलाई तत्काल राहत दिने, आवश्यक परे नजिकैको विद्यालय वा स्वास्थ्य चौकीको भवनमा राख्ने, र यदि त्यतिले पनि पर्याप्त नहुने अवस्था आएमा पालिका भवनमा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्थानीय गणेशबहादुर थापाले भन्नुभयो, “वर्षौँअगिदेखि जोखिम थाहा थियो, तर यस्तो ठूलो विपद् आउला भन्ने कल्पना पनि गरेका थिएनौं ।” हाल केउरेनी बस्तीका बासिन्दा त्रासमा रहेका छन् । पहिरो रोकिएको छैन र बस्तीको भू–सन्तुलन दिनदिनै बिग्रँदै गएको छ । स्थानीय सरकारका अनुसार विस्तृत भूगर्भीय अध्ययनपछि मात्र स्थायी पुनःस्थापनाको स्थान टुंगो लगाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार