– कमल एक्चै मगर
म रामेछापको एउटा साधारण गाउँमा जन्मिएको, त्यहिको सरकारी विद्यालयमा पढेको विद्यार्थी हुँ। त्यो समयमा हाम्रो विद्यालयमा पढ्ने वातावरण राम्रो थिएन। शिक्षकहरू कहिलेकाहीँ अनुपस्थित रहन्थे, हामी विद्यार्थीहरू पनि पढाइभन्दा खेल्न तिर बढी आकर्षित हुन्थ्यौं।
परीक्षा पास हुनु नै पढाइको लक्ष्यजस्तो लाग्थ्यो। म पनि सोही धारमा बगेको थिएँ । बुझेर होइन, पास भएर पढ्ने विद्यार्थी।
एस.एल.सी. पास गरेपछि उच्च शिक्षाका लागि काठमाडौं आएँ। यहाँ देशभरका राम्रो विद्यार्थीहरू भेटेँ। शहरको प्रतिस्पर्धी वातावरणमा मात्र थाहा भयो गाउँको पढाइले दिएको आधार त्यति बलियो रहेनछ। अङ्ग्रेजी माध्यमका कक्षामा बोल्न, बुझ्न, लेख्न सबैमा संघर्ष गर्नुपर्थ्यो। साथीहरू आत्मविश्वासका साथ बोल्थे, म भने साधारण कुरा बुझ्न पनि धेरै समय लाग्थ्यो। सुरुमा डर लाग्थ्यो, आत्मविश्वास हराएको थियो। तर मैले हार मानिनँ।
पुस्तकालयमा किताब पढ्न थालेँ, नबुझेका कुरा साथीहरूलाई सोध्थें र हरेक दिन पढ्ने बानी बसालें। बिस्तारै आत्मविश्वास बढ्यो। बुझें, गाउँको विद्यालयले आधार दिन्छ तर शहरमा टिक्न आत्मअध्ययन र निरन्तर प्रयास चाहिन्छ। आज जब गाउँ फर्किन्छु, बालबालिकालाई यही सन्देश दिन्छु । केवल परीक्षा पास गर्नु पर्याप्त छैन, बुझेर पढ्न सिक।
किनभने मैले भोगेको कठिनाइ उनीहरूले नदोहोऱ्याऊन् भन्ने मेरो चाहना हो।
स्थानीय सरकारले शिक्षा सुधारमा जिम्मेवारी लिनुपर्छ :
शिक्षा कुनै पनि समाजको मेरुदण्ड हो तर रामेछापसहित धेरै गाउँहरूमा शिक्षाको स्तर अझै कमजोर छ। सरकारी विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएको छ, पढाइको स्तर राम्रो छैन । अब स्थानीय सरकारले जिम्मेवारीपूर्वक नेतृत्व लिनु जरुरी छ। संविधानले नै शिक्षा क्षेत्रको अधिकार स्थानीय तहलाई दिएको छ। त्यसैले पालिकाले विद्यालयको योजना, शिक्षक व्यवस्थापन, अनुगमन र स्रोत वितरणमा ध्यान दिनुपर्छ।
विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकबीच राम्रो सम्बन्ध बनाउनु पनि आवश्यक छ। यसले विद्यालयमा पारदर्शिता र जिम्मेवारी बढाउँछ।
शिक्षाको जिम्मेवारी केवल शिक्षकको होइन, यो पालिका र समुदाय दुवैको साझा दायित्व हो।
शिक्षण पेशा र विद्यालय सुधारका सम्भावित उपायहरू :
नेपालमा शिक्षण पेशा अझैसम्म सम्मानित र आकर्षक बन्न सकेको छैन। शिक्षकको जीवनस्तर र सुविधा कमजोर हुँदा गुणस्तरीय शिक्षामा असर परेको छ। त्यसैले केही सुधारका कदम आवश्यक छन् :
* शिक्षकलाई सम्मानजनक सुविधा दिनु
शिक्षकलाई पनि निजामती सेवाजस्तै ग्रेड सुविधा दिनुपर्छ। यसले पेशाप्रति गर्व र आकर्षण बढाउँन सक्छ।
* आबधिक बढुवा व्यवस्था लागू गर्नु
पाँच वर्षमा एकपटक बढुवा पाउने व्यवस्था गर्नुपर्छ। यसले शिक्षकको उत्साह र लगनशीलता बढाउँन सक्छ।
* स्वास्थ्य सुविधा उपलब्ध गराउनु
शिक्षक र परिवारका लागि विशेष स्वास्थ्य बीमा वा शिक्षक अस्पताल स्थापना हुनुपर्छ। स्वस्थ शिक्षकले मात्र राम्रो पढाउन सक्छ।
* प्रविधि र तालिममा जोड दिनु
हरेक शिक्षकलाई ल्यापटप, कम्प्युटर तालिम, र नयाँ ज्ञान सिक्ने अवसर दिनुपर्छ। आधुनिक शिक्षकले मात्र आधुनिक विद्यार्थी तयार गर्न सक्छ।
* विद्यालयमा आवश्यक पूर्वाधार बनाउनु
हरेक विद्यालयमा स्वच्छ पानी, शौचालय, पुस्तकालय, प्रयोगशाला र कम्प्युटर कक्षा अनिवार्य हुन आवश्यक छ ।
* विद्यार्थीका लागि समान अवसर सुनिश्चित गर्नु
सबै विद्यार्थीलाई नि:शुल्क किताब, यातायात सुविधा उपलब्ध हुनुपर्छ। कुनै पनि बालबालिकाले आर्थिक अभावका कारण पढाइ छोड्न नपरोस्।
* पाठ्यक्रम व्यवहारिक र स्थानीय बनाउनु
कृषि, व्यवसाय, स्वास्थ्य, र प्रविधिजस्ता व्यवहारिक विषयहरू पढाउनुपर्छ। साथै, स्थानीय जीवनसँग सम्बन्धित विषय पनि समावेश गर्नुपर्छ। पहिलेको पुरानो पाठ्यपुस्तक जस्तै: नैतिक शिक्षा, पुर्व व्यवसायिक शिक्षा, स्वास्थ शिक्षा आदि ।
* शिक्षामा स्पष्ट जिम्मेवारी र समन्वय
स्थानीय सरकारले विद्यालय सञ्चालन र अनुगमन गर्नुपर्छ। संघीय र प्रदेश सरकारले नीतिगत सहयोग गर्नुपर्छ।
* विद्यालयलाई प्रविधिमैत्री बनाउनु
कम्प्युटर, इन्टरनेट, डिजिटल पुस्तकालय र ई-लर्निङ सुविधा हरेक विद्यालयमा हुनुपर्छ।
* शिक्षा र राजनीति अलग राख्नु
शिक्षण पेशा राजनीतिबाट प्रभावित हुनु राम्रो होइन। शिक्षा राजनीतिक खेल होइन, भविष्य निर्माण गर्ने सेवा हो।
अन्त्यमा शिक्षा राष्ट्रको भविष्य हो र शिक्षक त्यो भविष्यका निर्माता हुन्। शिक्षकलाई सम्मानजनक सुविधा, तालिम र प्रविधिको पहुँच बिना शिक्षाको गुणस्तर सुधारिँदैन।
विद्यालयमा राम्रो पूर्वाधार, विद्यार्थीका लागि समान अवसर, व्यवहारिक पाठ्यक्रम र प्रविधिमैत्री वातावरण सुनिश्चित गर्न सके देशको शिक्षा प्रणाली बलियो बन्न सक्छ।