रामेछापमा चाडपर्व सुरु भएसँगै गाउँघर,शहर र बजारमा दशैँको माहोल तातिएको छ । यो बेला दशैँ मनाउन गाउँघर आउनेहरु बढेका छन । चाडपर्वको समयमा हुन सक्ने अपराधिक घटनाहरु चोरी,डकैती,लुटपाट जस्ता घटना हुन नदिन नागरीकहरु पनि सचेत र सजग हुनु जरुरी छ । जिल्ला प्रशासन कार्यालयले पनि यस्ता गतिबिधिहरु ह्ुन नदिन चाडपर्व लक्षित सुरक्षा योजना बनाएर काम गरिरहेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापासँग गरिएको कुराकानीको सम्पादित अंश :
चाडपर्व लक्षित सुरक्षा योजना के कस्तो छ ?
चाडपर्व लक्षित सुरक्षा योजना भन्दा पनि यातायात सहजिकरण गर्ने, अनावश्यक भिडभाड हुन नदिने, सडक सञ्जाल खुलाउने, कालोबजारी हुन नदिने र अनुगमन तीव्र बनाउने, चाडरक्सी र जुवातासलाई निरुत्साहि गर्ने, अपराधिक कृयाकलाप हुन सक्ने ठाउँमा सुरक्षाकर्मी परिचालन गर्ने र गुनासोहरू आएमा तत्कालै सम्बोधन गर्ने कुराहरू छन् ।
समग्र जिल्लाको सुरक्षा अवस्था कस्तो छ ?
अहिले सुरक्षा सामान्य छ तै पनि विभिन्न कारागारबाट कैदीहरू भागेकाले अपराधिक घटना सक्छन् कि भन्ने हिसाबले हामीले आफ्नो संयन्त्र परिचालन गरेका छौँ । नागरिकहरूले आनन्दले सोहार्दपूर्ण वातावरणमा रमाइलो गरी चाडपर्व मनाउन सक्ने वातावरण बनाएका छौँ । त्यस्तै केहि अपराधिक घटना भएको जानकारी भएमा तत्कालै सुरक्षाकर्मी पुग्ने वातावरण बनाएका छौँ । १०० नम्बरमा फोन गरेर जानकारी दिन सक्नु हुनेछ । सिडिओको नम्बर वयवसाइड, जिल्ला प्रहरी कार्यालयको वयवसाइड तथा फोन नम्बरमा जानकारी दिन सक्नुहुनेछ ।
सुरक्षा निकायलाई कसरी परिचालन गर्नु भएको छ ?
नियमित गस्ती हुन्छ । नियमित अनुगमनको अतिरिक्त यात्रु सहायता कक्षले सहजीकरण गर्नेछ । कुनै त्यस्ता घटनाको जानकारी आएमा तत्कालै आफूले गर्नु पर्ने क्रियाकलाप गछौँ ।
दशैँको उपलक्ष्यमा नागरिकलाई के भन्न चाहानुहुन्छ ?
यहाँ सबैलाई विजया दशमी, शुभदिपावली तथा छट पर्वको शुभकामना व्यक्त गर्न चाहन्छुु र भयरहित वातावरणमा सुरक्षित तवरले यहाँहरूले चाडपर्वहरू मनाउनुहुनेछ र कुनै क्रियाकलाप तथा गतिविधि भएमा तत्कालै नागरिकले गर्नु पर्ने कर्तव्य अनुसार जानकारी गराउनुहुनेछ र सुरक्षामा सर्वसाधारण नागरिकको पनि सहयोगको अपेक्षा गर्दछौँ ।
खाने, पिउने, लगाउने, किनमेल गर्ने, आफ्नो सम्पतीको सुरक्षा गर्ने कुरामा विशेष ध्यान दिनु होला । आफ्नो बासस्थान छाड्दा नजिकैको छिमेकीलाई जिम्मा लगाएर छाड्नुहोला । जुवातासलाई निषेध तथा बन्देज गर्नुहोला । चाडपर्व सभ्य र भव्य तरिकाले मनाउने गरी प्लान गर्नुहोला भन्न चाहन्छु ।