मन्थली नगरपालिकामा ‘वडास्तरीय प्रारम्भिक बालविकास कमिटी गठन’

मन्थली नगरपालिकामा ‘वडास्तरीय प्रारम्भिक बालविकास कमिटी गठन’

रामेछापको मन्थली नगरपालिकाको दुई वटा वडामा  वडास्तरीय प्रारम्भिक बालविकास गठन तथा अभिमुखीकरण सम्बन्धी एक दिने कार्यशालासम्पन्‍न भएको छ ।

मन्थली नगरपालिकाअन्तर्गतका वडा नं. ३ र वडा नं. ५ मा वडास्तरीय प्रारम्भिक बालविकास गठन तथा अभिमुखीकरण सम्बन्धी एक दिने कार्यशालासम्पन्‍न भएको हो । कार्यशाला वडा नं. ३ मा असोज २ गते बिहिबार र वडा नं. ५ मा असोज ५ गते आइतबार सञ्‍चालन गरिएको थियो । कार्यक्रम सम्बन्धित वडामा नै गरिएको थियो ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको समझदारी अनुसार मन्थली नगरपालिकासँगको सहकार्यमा चाइल्ड एड नेटवर्क फाउण्डेशनको आर्थिक सहयोग तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहयोगमा सञ्‍चालित इसिडी हार्मोनी परियोजनामार्फत नगरको दुई वटा वडामा सम्बन्धित वडाका वडा अध्यक्षको अध्यक्षतामा कार्यशाला सञ्‍चालन गरिएको थियो । गर्दै गरौँ लगानी बाटो, कूलो, पुल, भवन र मन्दिरमा, थप गरौँ लगानी प्रारम्भिक बालविकास भन्‍ने मूल नाराका साथ सम्बन्धित वडा कार्यालयको आयोजनामा सञ्‍चालित कार्यशालामा सहभागीहरुलाई प्रारम्भिक बालविकासको परिचय, अवधारणा, महत्व, प्रारम्भिक बालविकाससँग सम्बन्धित एकीकृत सेवा प्रवाहको बारेमा अभिमुखीकरण गरिएको थियो । त्यसैगरी प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति, २०७७२०८८बारेमा समेत अभिमुखीकरण गराइएको मन्थली नगरपालिकाका बालविकास संयोजक नवराज विश्‍वकर्माले जानकारी दिनुभयो ।

राष्ट्र निर्माण र दिगो विकासको जग मानिका भविष्यका कर्णधार बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि आवश्यक लगानीको प्रवर्द्धन गराउने, प्रारम्भिक बालविकाको परिचय, अवधारणा र महत्वबारे सम्बन्धित सरोकारवाला तथा जिम्मेवार पक्षलाई जानकारी गराउने र वडास्तरमा प्रारम्भिक बालविकास समिति गठन गर्ने हेतुले कार्यशालाको आयोजना गरिएको बालविकास संयोजक विश्‍वकर्माले बताउनुभयो । कार्यशालामा सम्बन्धित वडाका वडा अध्यक्ष तथा वडा सदस्य, आमा समुहका अध्यक्ष तथा प्रतिनिधि, बाल सञ्‍जालका अध्यक्ष वा प्रतिनिधि, वडाका विषयगत शाखा कृषि, स्वास्थ्य शाखा प्रमुख, वडा सचिव, बालमैत्री सहजकर्ता, वडा शिक्षा समितिका प्रतिनिधि, वडा नागरिक समुहका अध्यक्ष तथा प्रतिनिधि, इसिडी मेन्टर लगायतको सहभागिता रहेको थियो । वडा नं. ३ मा भएको कार्यशालामा बालविकास संयोजक नवराज विश्‍वकर्माले प्रारम्भिक बालविकासको परिचय, अवधारणा, महत्व, प्रारम्भिक बालविकाससँग सम्बन्धित एकीकृत सेवा प्रवाह र प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति, २०७७२०८८ बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । त्यसैगरी वडास्तरीय प्रारम्भिक बालविकास कमिटीको गठन प्रक्रिया र समितिको काम, कर्तव्य र अधिकारका बारेमा समेत उहाँले अभिमुखीकरण गराउनु भएको थियो । अभिमुखीकरणको सहजीकरण बालविकास संयोजक र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाका तालिम अधिकृत बुद्धिबल थापा मगरले गर्नु भएको थियो ।

यसैबीच, कार्यशालाले वडा नं. ३ मा वडा अध्यक्ष कृष्ण गोपाल थापाको अध्यक्षतामा १३ सदस्यीय वडास्तरीय प्रारम्भिक बालविकास समिति गठन गरेको छ । समितिको सदस्यमा वडा सदस्य गिता नेपाली, उर्मिला बुढोथोकी, स्वास्थ्य प्रमुख सुरेश शाह, कृषि प्राविधिक लवहरी खत्री, आमा समुहकी अध्यक्ष गिता श्रेष्ठ, स्वास्थ्य स्वयंसेविका मञ्‍जु रोका, वडा शिक्षा समितिका सदस्य ठाँटी आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्र कुमार श्रेष्ठ, पशु प्राविधिक कौशिल्या शाह, बाल सञ्‍जाल अध्यक्ष प्रदिप रोका र सावित्रा घिमिरे काफ्ले हुनुहुन्छ । यसैगरी समितिको प्रारम्भिक बालविकास विज्ञमा अनिता खड्का र समितिको सदस्य सचिवमा नवराज श्रेष्ठ रहनु भएको छ ।

यसैबीच वडा नं. ५ मा वडा अध्यक्ष रविन कार्कीको अध्यक्षतामा १४ सदस्यीय वडास्तरीय प्रारम्भिक बालविकास समिति गठन भएको छ । समितिको सदस्यमा जनप्रतिनिधि राधा कार्की, तारा कुमारी बसेल, वडा शिक्षा समितिका सदस्य भैरवी मा.वि. सुनारपानीका प्र.. दिनेश कुमार कार्की र सदस्य सचिवमा पम्फा भुसाल हुनुहुन्छ । त्यसैगरी सदस्यहरुमा गंगा थापा, समिता पोख्रेल, बविता प्रधान, मान बहादुर भुजेल, कल्पना श्रेष्ठ,  सुभद्रा थापा, विमला मुङ्ग्राती रहेका छन् भने प्रारम्भिक बालविकास विज्ञमा बालमैत्री सहजकर्ता शर्मिला श्रेष्ठ रहनु भएको छ । 

यसैबीच वडा अध्यक्ष रविन कार्की र वडा अध्यक्ष कृष्णगोपाल थापाले यो समितिले बालबालिकाको क्षेत्रमा प्रारम्भिक बालविकासका क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो ।  प्रारम्भिक बालविकासको क्षेत्रमा काम गर्नको लागि यो समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्‍वास व्यक्त गर्दै उहाँले आगामी दिनमा समितिका सदस्यहरुले आफ्नो जिम्मेवारीअनुसार काम इमान्दारपूर्वक काम गर्नुपर्ने बताउनुभयो । यस समितिलाई चलायमान बनाउने कुरामा सेतो गुराँस संस्थाले पनि बेलाबेलामा आफूहरुलाई झक्झक्याउनुपर्ने र कार्यतालिका तथा योजना दिएमा सोही अनुसार अघि बढ्ने प्रतिबद्धता समेत उहाँहरुले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार