मेरो बालापनको दशैं

मेरो बालापनको दशैं

कमल एक्चै मगर (चलचित्र निर्देशक) 

दशैं नेपालीहरुको सबैभन्दा ठूलो चाड हो अरुको जस्तै मेरो पनि । अहिले पनि दशैं आउँछ तर पहिले-पहिले गाउँमा दशैं आउँदा जुन रमाइलो, उत्साह र आत्मीयता हुन्थ्यो त्यो आज धेरै हदसम्म हराइसकेको जस्तो लाग्छ। ती दिनहरू सम्झिँदा अझै पनि मन भक्कानिन्छ।

दशैं नजिकिँदै गर्दा गाउँमा वातावरण नै फरक हुन्थ्यो। खेतमा फुलेका धानका सुनौला बाला हावासँगै हल्लिने दृश्य नै रमाइलो लाग्थ्यो। खेतबारीमा पहेलो सेतो रङ्गि बिरङ्गि फुलहरु आहा..! गाउँका आफन्तहरू आ-आफ्नो घर सफा गर्ने, छानो फेर्ने, ढोकाझ्याल रंगाउने गर्थे। अझ रमाइलो कुरा त साथिभाई मिलेर झ्यालढोका रङ्गाउन रङ्ग बनाउने झिझिनोको पात टिप्न जान्थ्यौ । कमेरो माटो, रातोपहेलो माटो बोक्न जाने, सबैलाई लाग्थ्यो “दशैं आउन लाग्यो, घरआँगन चम्काउनै पर्छ।” त्यसैले पनि हामी उस्तै उमेर समुहका साथी-साथी मिलेर बाटो गल्ली सफा गर्थ्यौ ।

हामी बालबालिकाको त झन् बेग्लै उत्साह हुन्थ्यो। दशैंमा नयाँ कपडा पाइन्छ भन्ने सोचेर मनभरिको खुशी हुने। गाउँको खुल्ला चौरमा पिङ तानिन्थ्यो। ठूला बाँस काटेर डोरी बाँधेर बनाइने पिङ सबैलाई आकर्षण हुन्थ्यो। साना-ठूला सबै पालैपालो पिङ खेल्थे। “दशैंमा पिङ खेल्नै पर्छ” भन्ने भनाइ त्यसै जन्मेको होइन।

दशैंको सबभन्दा ठूलो कुरा भनेको घरमा नातागोता जम्मा हुनु हो। जसले जहाँ भए पनि दशैंका लागि गाउँ फर्किन्थे। आमाबुबाको हातबाट टीका र जमरा थाप्ने धोको सबैलाई हुन्थ्यो। दशमीको दिन रातो टिका, पहेलो जमरा र दक्षिणा दिँदा वातावरण निकै आत्मीय हुन्थ्यो। आशिर्वादका शब्दहरूले परिवारलाई अझ नजिक ल्याइदिन्थे।

त्यो बेला दशैं भनेको केवल खानेपिउने पर्व मात्र थिएन। आपसी भेटघाट, मायाप्रेम र सद्भाव बाँड्ने अवसर थियो। सबै एउटै भान्सामा बस्ने, मासुभात र परिकार खान्थे। तल्लोघर, माथिल्लोघर आफुभन्दा ठुलाको हातबाट टीका थाप्ने, मामाघर जाने, नाँचगान गर्ने देखि साथिभाई मिलेर गाउँ घुम्ने रौनक फरक थियो । गीत-संगीत, नाँचगानले गाउँभरि रमाइलो वातावरण सिर्जना हुन्थ्यो।

अहिले ती दिनहरू बदलिएका छन्। धेरै जना रोजगारीका लागि विदेश गएका छन्। गाउँमा बुढाबुढी, महिला र बालबालिका मात्र बाँकी छन्। पहिलेको जस्तो चहलपहल कम देखिन्छ। पिङ खेल्ने जमघट, नाँचगान, आँगनभरि नातागोताको भीड, यी सबै कुरा हराउँदै गएका छन्।

तर पनि, पहिले-पहिलेको दशैं सम्झिँदा मन भित्रैदेखि तातिन्छ। खेतको सुनौलो धान, घरभरि गन्ध आउने मासु पकाउने सुवास, पिपल डाँडाको चौरमा खेलिएको पिङ, बुढो बाजे र बुबाआमाको हातबाट टिका थाप्दा आउने आत्मीयता यी सबै आज पनि सम्झनामा ज्यूँदै छन्।

दशैंको असली मिठास भनेको त्यही आत्मीयता, भेटघाट र सामूहिकता हो। त्यो स्वाद अझै पनि हाम्रो सम्झनामा बाँचिरहेकै छ, जसले हाम्रा गाउँ र संस्कृतिलाई जीवित राखिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार