उद्योग तथा वाणिज्य कार्यालय मन्थली रामेछापको नेतृत्वमा विभिन्न सरोकारवाला निकायको संयुक्त टोलीले रामेछाप बजारमा रहेका होटल ,पसलहरु तथा बिस्कुट उद्योग अनुगमन गरेको हो । रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा उद्योग तथा वाणिज्य कार्यालय रामेछाप,जिल्ला प्रशासन कार्यालय,रामेछाप नगरपालिका,पत्रकार महासंघ,रामेछाप नगर उद्योग वाणिज्य संघ र प्रहरी कार्यालयका प्रतिनिधिहरु सहभागी थिए ।
अनुगमनको क्रममा चिरन्जीवि डेरी तथा सप्लायर्सलाई सरसफाईमा ध्यान नदिएको र बिग्रिएर ढुँसी आएको छुर्पी भेटिएपछि ५ हजार जरीवाना गरिएको छ । प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ को दफा ६० को खण्ड (ण) बमोजीम कसुर देखीएको भन्दै सोही ऐनको दफा ६१ को उपदफा १ खण्ड क,ख,ग,घ,ङ बमोजीम ५ हजार जरिवाना गरिएको हो ।
उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख एवं अनुगमन निरीक्षण अधिकृत खेमराज घिमिरेका अनुसार सात दिनभित्र जरीवाना तिर्न र सरसफाईमा सुधार गर्न डेरीलाई आग्रह गरिएको छ । सुधार नगरे उद्योग नै बन्द गरिने चेतावनी दिइएको घिमिरे बताउनुभयो । १९ वटा होटल तथा पसलहरु अनुगमन गर्दा केहि होटल तथा पसलहरुलाई व्यवस्थापन सुधार गर्न र सरफाईमा ध्यान दिन निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ । रामेछापका स्थानिय तहहरुले पनि आफ्नो पालिका भित्रका बजारहरुमा अनुगन गर्ने गरेका छन ।