शृङ्खलाबद्ध त्रासदीहरुमा
समयको प्रत्येक विम्बहरुले
हस्ताक्षर गर्न नसकिने सम्झौताहरुमा
भूतदेखि वर्तमानको प्रत्येक क्षण
निथ्रुक्कै भिजेको छ उहीँ त्रासदी
कतै मृत्युको साँधमा
कतै मृत्युको विचरणमा
आफूलाई उभ्याएको छ ।
सपनाहरूलाई हिरासतमा राखेर
समयको मृत्यु उत्सवमा
एक्लिँदै एक्लिँदै गएको जीवनमा
धूवाँको आकाशझै परिवर्तन गराएको छ
समयलाई
आकस्मिकताको उडानहरुमा
बरु आगतहरुले बाँधेर
राख्न सकेको छ।
भूमध्य रेखामा उभिएर
जीवनको तीव्र आक्रोश र उत्तेजना
बारुदको सिरानीमा हुर्केका
सन्तानहरुको आत्मरतिले
तथाकथित सम्झौताहरु
भ्रमको नाटकमा रंगिएको देख्दा
थाहा थियो
उही बारुदको शिरानीबाट
कैँयौँचोटी शान्तिको निन्द्रा विथोलेर
शृङ्खलाबद्ध त्रासदीहरुमै
घुम्न परेको छ।
युगदेखि हरेक अँध्यारो यात्रालाई
जीवनको पारदर्शी प्रकाशतिर
उज्यालो दिन सकेको छैन?
आफ्नै भाला रोपेको काखमा
उन्मुक्तिका साँधहरु मिचेर
बेवारिसे उभ्याएका
आफ्नै समयमाथि
कहाँ सकेको छ?
क्रुरतालाई जोगाउन?
समयको प्रत्येक त्रासदीहरु
शान्ति सम्झौताका दस्तावेजहरु पनि
भेदन गर्न नसकिने चक्रव्यूहमा
अँध्यारो कवचभित्र छोपिएका छन्
धारिलो हतियार जस्तो बनेको छ
सम्बन्धहरु
विकल्प छैन रोजाइहरुको
सम्झौता पत्रहरु पनि त्रासदीहरुकै लाम छ
बारुदको सिरानीमा घुम्टो ओढेर
प्रत्येक पल प्रत्येक क्षण
मृत्युहरु साँधमा उभिएका छन्,,
मृत्युहरु विचरणमा उभिएका छन्,,
कवि : नवीन गाउँले