रामेछापको रामेछाप नगरपालिका यहि भदौ २१ गते शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदैछ । शनिबार हुने शनिबार समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । रामेछाप बजारको विभिन्न ठाउँहरुमा स्वागत गेट निर्माण गरिएको छ । बजार नकिकैको टुँडीखेलमा स्टेज तयार पारिएको छ ।
कार्यक्रमस्थललाई आकर्षक तरिकाले सजाइएको छ । कार्यक्रमको सबै तयारी पुरा भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापाले बताउनुभयो । मूल आयोजक समिति सहित १० वटा उपसमिति गठन गरेर घोषणा समारोहका लागी विभिन्न कामहरु गरिएको उहाँले बताउनुभयो ।
बाग्मती प्रदेशका मुख्य मन्त्री इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा घोषणा समारोह हुनेछ । रामेछाप नगरपालिका ८ को टुँडीखेलमा हुने कार्यक्रममा ३ हजार भन्दा बढि नागरीकहरुको उपस्थिती रहने अपेक्षा गरिएको छ ।
रामेछाप नगरपालिकाले २०७८ फागुन २ गतेदेखि बालमैत्री स्थानिय शासन अवलम्बन गरी बाल अधिकारको क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेको छ । नगरपालिकाका ९ वटै वडाहरु एकैसाथ जेठ २७ गते बालमैत्री घोषणा भैसकेका छन । जिल्लाको मन्थली नगरपालिका यसअघि बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भैसकेको छ ।