रामेछाप नगरपालिका युवाप्रति बेवास्ता :

रामेछाप नगरपालिका युवाप्रति बेवास्ता :

नेपालका अधिकांश स्थानीय सरकारजस्तै रामेछाप नगरपालिकाले पनि पछिल्ला वर्षहरूमा केही भौतिक संरचनाहरू निर्माण गरेको छ। घर-घरसम्म जोड्ने सडक, कार्यालय भवन, नक्सा पास प्रणाली अनलाइन गर्ने जस्ता सतही सुधार देखिए पनि मूल प्रश्न अझै उस्तै छ, युवाको भविष्य कहाँ छ?

समृद्धि युवाशक्ति बिना सम्भव छैन तर रामेछाप नगरपालिकाको योजना निर्माण प्रक्रियामा युवाको सहभागिता शून्य छ। हरेक वर्ष योजना बन्छन् तर ती योजना कसको सल्लाहमा, कसको हितमा? भागबण्डा र पहुँचवालाको प्राथमिकताले आज रामेछाप नगरका युवाको आवाज दबिएका छन् ।

यहाँ युवाका लागि सीप विकास, रोजगारी र उद्यमशीलता प्रवर्द्धनमा ठोस कार्यक्रम छैनन्। हरेक वर्ष सयौँ युवा रोजगारी खोज्दै विदेशिन बाध्य छन्। नगरमै केही गर्न प्रेरित गर्ने नीति वा योजना अभावमा उनीहरूको सीप र ऊर्जा खेर गइरहेको छ। उद्यमशीलता तालिम, सहुलियतपूर्ण ऋण, प्राविधिक सल्लाह र बजार व्यवस्थापनको कमीले गर्दा कृषि स्टार्टअपदेखि सूचना प्रविधिसम्मका सम्भावना पलाउनुअघि नै नष्ट भइरहेका छन्।

रामेछाप विविध संस्कृतिमा धनी नगरपालिका हो। मगर, तामाङ, नेवार, क्षेत्री, ब्राह्मण सबै समुदायका कला, नाच, गीत, भाषा र इतिहास यहाँका सम्पदा हुन् तर यी धरोहर संरक्षण गर्ने स्थानीय तहको पहल कागजमै सीमित छ। गठन भएका मगर, तामाङ, नेवार लगायतका जातीय संस्थाहरू बजेटअभावमा निष्क्रिय छन्।

खेलकुदमा त झनै निराशाजनक अवस्था छ। फुटबल, भलिबल, एथलेटिक्स, ब्याडमिन्टनजस्ता खेलमा युवामा प्रतिभा भए पनि मैदान छैनन् । रामेछाप नगरपालिका ७ नं. वडा कार्यालयको प्राङ्गणमा बनेको कभर्डहल प्रयोगविहीन छ । यहि वडाका जागरुक युवा क्लबले “रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता हरेक वर्ष गर्ने योजना लिएर सुरु गरे पनि बजेटको अभावले २ वर्षदेखि आयोजना गर्न सकिरहेको छैन। नगरले विद्यालय स्तरीय रनिङ शिल्ड गरेको भए पनि खेलाडीलाई प्रोत्साहन, छात्रवृत्ति वा करियर योजनाको अभावमा धेरै सम्भावना खेर गइरहेका छन्।

नगरपालिकाले करोडौँ खर्च गरेर बाटो, भवन र पर्खाल त बनाएको छ। तर युवाशक्ति विदेश पलायन भइरहेकाले ती संरचना बिस्तारै “खाली भवनको जंगल” मात्र बन्दै गएका छन्। २०७४ को स्थानीय निर्वाचनपछि बनेका सडक आज बाँझा खेतबारी जस्तै देखिन्छन्। बस्तीहरू रित्तिँदै छन्। यसैले यो विकास देखावटीभन्दा बढी केही छैन।

यसका समाधान भने कै युवालाई केन्द्रमा राखेर विकास गर्ने हो। उत्पादनमा लगानी, रोजगारी सिर्जना, शिक्षाको गुणस्तरमा सुधार, सांस्कृतिक जीवनको संरक्षण यी सबै युवामै निर्भर छन्। युवालाई नगरमै बस्ने वातावरण सिर्जना नगरी दीर्घकालीन विकास असम्भव हुन्छ।

आज वि.सं. २०१८ मा राजा महेन्द्रले सुरु गरेको “गाउँ फर्क अभियान” फेरि सान्दर्भिक देखिएको छ। गाउँहरू खाली हुँदैछन्, उब्जाउ जमिन बाँझिएको छ, घरहरूमा केवल बुढाबुढी र बालबालिका मात्र बाँकी छन्। यो क्रम जारी रह्यो भने रामेछाप नगरका धेरै गाउँ बस्तीहरु केवल सम्झनामा सीमित हुनेछ।

“गाउँ फर्कौं, विकास गाउँबाट सुरु गरौं” भन्ने नारालाई आज पुनर्जीवित गर्न जरुरी छ। कृषि, पर्यटन, जडीबुटी, हस्तकला यी सबैको जरा गाउँमै छ। गाउँ हरायो भने राष्ट्रको आत्मा हराउँछ। युवाले अब मौन बस्न हुँदैन। नगरसभादेखि सञ्चारमाध्यमसम्म आफ्नो आवाज उठाउनुपर्छ। स्थानीय सरकारले पनि युवालाई आफ्नो नीति-रणनीतिको केन्द्रमा राख्नुपर्छ।

गाउँ हाम्रो जरो हो। त्यो जरो सुक्यो भने भविष्य कहाँ पलाउँछ? “गाउँ फर्क अभियान” अब नारा मात्र होइन, आजको आवश्यकता हो। गाउँलाई गाली होइन, सम्भावनाको नजरले हेरौँ । धन्यवाद !!

कमल एक्चै मगर
चलचित्र निर्देशक

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार