पोखरामा भेटिए सिन्धुलीका हायू परिवार,आफन्तको जिम्मा लगाइयो

पोखरामा भेटिए सिन्धुलीका हायू परिवार,आफन्तको जिम्मा लगाइयो

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको आफ्नै घरबाट सम्पर्कविहीन भनिएका हायू परिवारका सदस्य सोमबार(हिजो) पोखराको गगनगौंडामा फेला परेका छन । उनिहरुको परिवारलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ । उनीहरुलाई पोखरामै रहेका आफन्तको जिम्मा लगाइएको कास्की प्रहरीले जनाएको छ ।

बिहीवारदेखि सम्पर्कविहीन भनिएका उनीहरूलाई प्रहरीले गगनगौंडाको एउटा घरमा बसिरहेको अवस्थामा हिजो बेलुकी अबेर फेला पारेको हो । उनीहरुले पोखरामा ज्यामी काम गर्नका लागि आएको बताएका छन् ।

आफूहरु ज्यामी काम गर्ने भएकाले सिन्धुलीमा काम नपाएपछि पोखरा गएको उनीहरुको भनाइ छ । परिवारकै १६ जना बिहीवारदेखि सम्पर्कविहीन भएको खबर हिजो दिनभर नै चर्चामा रहेको थियो । १६ जनामध्ये एक ज्वाइँ र छोरी पोखरामै रहेको तथा अर्को छोरी काठमाण्डौमा बस्ने गरेको प्रहरीले जनाएको छ ।

गाउँको एकान्तमा रहेको घरमा हिजो प्रहरीसहितको टोली पुग्दासमेत कोही नभेटिएपछि सम्पर्कविहीन भएको भन्दै उनीहरुको खोजी गरिएको थियो ।
घरका सबै सदस्य रहस्यमयी तरिकाले सम्पर्कविहीन भएपछि छिमेकीले नै जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।

छोरो विदेशबाट आएको र सामाजिक सुरक्षा भत्ता बुझेको खुशीयालीमा रमाइलो गर्दै कतै घुमघाममा निस्केका वा आफन्तजन भएका ठाउँमा जानसक्ने सम्भावनालाई पनि ख्याल गर्दै प्रहरीले खोजी गरेको थियो ।

प्रहरीका अनुसार उनीहरु बिहीवार राति गाडी रिजर्भ गरेर सिन्धुली, हेटौँडा, मुग्लिन हुँदै पोखरा पुगेका हुन् । घरबाट बाहिरिँदा हायू परिवारले ६ वटा बाख्रा त्यत्तिकै छोडेर गएका थिए । खोरमा बाख्रा बाँधेर तथा कुकुर छाडेर छरछिमेकी कसैलाई पनि जानकारी नदिई सम्पर्कविहीन भएपछि उनीहरुको बारेमा सोधीखोजी व्यापक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार