बालबालिकाको सर्वाङ्गिण विकासका लागी अभिभावक शिक्षा तालिम

बालबालिकाको सर्वाङ्गिण विकासका लागी अभिभावक शिक्षा तालिम

“बालबालिकाको सर्वाङ्गिण विकास, अभिभावक शिक्षाले दिन्छ निकास” भन्ने नारासहित रामेछापको सदरमुकाम मन्थलीस्थित फ्रिडम रिसोर्टमा अभिभावक शिक्षासम्बन्धी ७ दिने आधारभूत तालिम सम्पन्न भएको छ । चाइल्ड एड नेटवर्कको आर्थिक सहयोग तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवा अन्तर्गतको ‘ईसीडी हार्मोनी परियोजना’ मार्फत उक्त तालिम संचालन भएको हो ।

साउन ९ गतेसम्म चलेको तालिमको मुख्य उद्देश्य अभिभावक शिक्षाको महत्व बुझाउने, प्रारम्भिक बालविकास (०–८ वर्ष) को अवधारणामा स्पष्टता ल्याउने तथा समुदाय स्तरमा अभिभावक कक्षा सञ्चालनका लागि सहजकर्ताको क्षमता अभिवृद्धि गर्नु रहेको रामेछाप नगरपालिकाको बाल विकास संयोजक सरोज श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार तालिममा कुल ३३ वटा सेसन समावेश गरिएका थिए,जसमा प्रारम्भिक बालविकासका पाँच मुख्य पक्षहरू शारीरिक, सामाजिक, भावनात्मक, बौद्धिक तथा भाषा विकासलाई आधार बनाइएको थियो ।

तालिममा रामेछाप नगरपालिका अन्तर्गत रहेको १ देखि ९ वडासम्मका १७ जना अभिभावक शिक्षा सहजकर्ता,मन्थली नगरपालिकाका २ जना सहजकर्ता, परियोजनाका ८ जना मेन्टर तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तालिममा सहभागी रामेछाप नगरपालिका ७ की रुपा कार्कीले गर्भावस्था देखिका चरणहरूमा आमा र बच्चाको समुचित हेरचाह, बालबालिकाको प्रारम्भिक वर्षमा गरिनुपर्ने क्रियाकलाप तथा अभिभावकको भूमिकाबारे महत्वपूर्ण ज्ञान प्राप्त भएको बताउनुभयो ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि एवं रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले शिक्षा क्षेत्र सुधारको लागी अभिभावक नै सचेत र शिक्षित हुनुपर्ने बताउनुभयो । अभिभाव शिक्षित भए मात्रै बालबालिकालाई शिक्षाप्रति लगनशिल र मेहनती बनाउन सकिने भन्दै उहाँले अभिभावक शिक्षा कार्यक्रम निकै प्रभावकारी हुने बताउनुभयो ।

सेतो गुराँसले रामेछाप नगरपालिकाको शिक्षा क्षेत्र सुधारको लागी पुर्याएको योगदानको प्रशंसा गर्दै उहाँले आगामी दिनमा आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । जग बलियो भए मात्रै घर बलियो हुने भन्दै नगर प्रमुख न्यौपानेले प्रारम्भिक बालविकासको क्षेत्रमा सेतो गुराँसले काम सुरु गरेदेखी परिवर्तनको संकेतहरु देखिएको बताउनुभयो ।

सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले रामेछापको मन्थली नगरपालिका,रामेछाप नगरपालिका र लिखुतामाकोशी गाउँपालिकामा प्रारम्भिक बालविकासको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार