रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ८३ दशमलव ०७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । शनिबार रामेछाप नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले आ.व.२०८१/८२ को अवधिभर संचालन भएका विकास निर्माण तथा सेवा प्रवाहको बारेमा जानकारी गराउनुभयो ।
चालु आ.व.मा अनुमानित कुल बजेट रू. ७६ करोड ८८ लाख ६९ हजार ५सय ५१ मध्ये रू. ६३ करोड ८७ लाख ६१ हजार ८ सय ४५ खर्च भएको उहाँले बताउनुभयो । यसमा चालु खर्चतर्फ रू. ५० करोड ५० लाख ४३ हजार ६ सय ६ बजेटमध्ये ८७.४८ प्रतिशत अर्थात् रू. ४४ करोड १८ लाख ५ हजार ८७६ खर्च भएको हो । पुँजीगत खर्चतर्फ रू. २६ करोड ३८ लाख २५ हजार ९४५ मध्ये ७४.६५ प्रतिशत अर्थात् रू. १९ करोड ६९ लाख ५५ हजार ९३८ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत चापागाईले बताउनुभयो ।
नगरपालिकाको वार्षिक राजश्व संकलन लक्ष्य रू. १ करोड १२ लाख १४ हजार रहेकोमा लक्ष्यभन्दा बढी राजश्व संकलन भएको छ । एक वर्षको अवधिमा रू. १ करोड २८ लाख ५७ हजार ५०४ रुपैयाँ राजश्व संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत चापागाईले बताउनुभयो । नगरपालिका कार्यालयबाट रू. ६८ लाख ७९ हजार ५४२ रुपैयाँ राजश्व संकलन भएको छ । वडा कार्यालय तर्फ सबै भन्दा बढी राजश्व वडा नम्बर ६ बाट संकलन भएको भने सबैभन्दा कम वडा नं १ बाट संकलन भएको छ । वडा नं ६ ले ९ लाख ९८ हजार ७४७ रुपैयाँ राजश्व संकलन गर्दा वडा नं १ ले ३ लाख ४० हजार ५६८ रुपैयाँ मात्रै संकलन गरेको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरीकहरुले प्रश्न,जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए । नागरीकले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन र विकास निर्माणका कामहरुसँग सम्बन्धित प्रश्न गरेका थिए । नागरीकहरुले सोधेको प्रश्नको जवाफ नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई र सम्बन्धित वडाका वडाअध्यक्षले दिएका थिए ।
उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष दिपक घिमिरे,नेकपा एसका नेता ढाल विक्रम कार्की,रास्वपाका नेता दुर्गा बहादुर बस्नेत,नेकपा एमालेका नगर अध्यक्ष रोशन पाख्रिन र नेपाली कांग्रेसका नेता हरिशचन्द्र घिमिरले नगरपालिकालाई विभिन्न सुझाव सहितको मन्तव्य राख्नुभयो । उहाँहरुले नगरले गर्ने हरेक कामहरु निस्पक्ष र पार्दर्शी हुनुपर्ने बताउनुभयो ।
हजुरको रेडियोले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की,नगर प्रवक्ता समिर कार्की ,विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधी,विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी,वडाअध्यक्षहरु,पत्रकार,नगरपालिकाका कर्मचारी,नागरीक लगायतको उपस्थिती रहेको थियो ।