मन्थली नगरपालिकाको वित्तीय प्रगति ८५ दशमलव ८८ प्रतिशत

मन्थली नगरपालिकाको वित्तीय प्रगति ८५ दशमलव ८८ प्रतिशत

रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ८५ दशमलव ८८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । शुक्रबार(आज) मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्र्षी सापकोटाले आ.व. २०८१/०८२ को अवद्यिभर संचालन भएका विकास निर्माण तथा सेवा प्रवाहको बारेमा जानकारी गराउनुभयो ।

उहाँका अनुसार कुल १ अर्ब १ करोड ९७ लाख ८१ हजार रुपैयाँ बराबरको बजेट स्वीकृत भएकोमा चालू खर्चतर्फ ८९.४९ प्रतिशत,पूँजीगत खर्चतर्फ ७७.९ प्रतिशत र समग्र खर्चतर्फ ८५.८८ प्रतिशत बजेट खर्च भएको हो ।

नगरपालिकाले निर्धारण गरेको ३ करोड ८५ लाख रुपैयाँ राजस्व संकलन मध्ये लक्ष्यको ९८.०७ प्रतिशत अर्थात ३ करोड ७७ लाख ५७ हजार ४१७ रुपैयाँ संकलन गर्न सफल भएको हो । ६ सय २९ वटा योजनाहरुमध्ये ५ सय ९६ वटा सम्झौता भई ५ सय ९२ वटा योजनाको भुक्तानी समेत भैसकेको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो ।

यस्तै नगरपालिकाले नगर भित्रका दुध उत्पादक किसानलाई साढे २६ लाख बढी अनुदान दिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको एक वर्षमा नगर भित्र रहेर उन्नत गाई(भैंसी पालन गरि उत्पादित दुध विभिन्न डेरी उद्योगहरुमा बिक्री गर्ने ८ सय ३९ जना किसानलाई २६ लाख ६३ लाख ५ सय ३६ रुपैयाँ अनुदान दिएको हो ।

नगरपालिकाले उत्पादनमा आधारित कार्यक्रम अन्तर्गत गएको आर्थिक वर्षको असार १५ गते देखि चालु आर्थिक वर्षको असार १६ गतेसम्म डेरि उद्योगमा बिक्री गरेको १० लाख ८ हजार ८ सय १४ लिटर दुधको प्रति लिटर २ रुपैयाँ ५० पैसाका दरले अनुदान दिएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरीकहरुले प्रश्न,जिज्ञासा सहित नगरलाई सुझाव सल्लाह दिएका थिए । नागरीकले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन र विकास निर्माणका कामहरुसँग सम्बन्धित प्रश्न गरेका थिए । नागरीकहरुले सोधेको प्रश्नको जवाफ नगरपालिकाका प्रमुख लब श्रेष्ठले दिनुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार